नेपाल टेलिकमको सेयरमा किन झुम्मिँदै छन् लगानीकर्ता, कति देला लाभांश ?

काठमाडौं । नेपाल दूरसंचार कम्पनी (एनटीसी)को सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । पछिल्लो ३ साता यता टेलिकमको सेयरमा लगानीकर्ता झुम्मिएका हुन् ।

 

माघ तेस्रो सातादेखि टेलिकमको सेयर मूल्य निरन्तर उकालो लागिरहेको छ भने दैनिक औसतमा १ लाख बढी कित्ता सेयर कारोबार हुँदै आएको छ ।

 

माघ १७ गते प्रतिकित्ता १५२० रुपैयाँरहेको टेलिकमको सेयर भाउ आज (१२ बजे)सम्म बढेर १७४५ रुपैयाँ पुगेको छ । ३ साताको अवधिमै टेलिकमको सेयर मूल्य प्रतिकित्ता २२५ रुपैयाँ बढिसकेको छ भने अझै बढ्ने क्रम रोकिएको छैन ।

 

यस्तै, टेलिकमको सेयर खरिद चाप पनि उच्च देखिएको छ । हरेक दिन विक्रीकर्ताभन्दा खरिद कर्ता बढी हुने गरेका छन् अर्थात् आपूर्तिभन्दा माग धेरै छ ।

 

टेलिकमको सेयरमा लगानीकर्ता झुम्मिनुको ठोस कारण नभए पनि कम्पनीले गत वर्षको मुनाफाबाट आकर्षक लाभांश दिने आशमा सेयर किनेका अनुमान गरिएको छ । विगतका वर्षहरुमा पनि बम्पर लाभांश दिँदै आएको टेलिकमले यस वर्ष पनि उस्तै लाभांश दिने आशमा लगानीकर्ता आकर्षित भएका छन् ।

 

यद्यपि, टेलिकमले अहिलेसम्म लाभांश बारे कुनै घोषणा गरेको छैन । पछिल्ला १० वर्षमा टेलिकमले न्यूनतम ४० प्रतिशतदेखि अधिकतम ५५ प्रतिशत सम्म लाभांश दिँदै आएको छ ।

विगतमा नगद लाभांश मात्रै दिँदै आएको टेलिकमले यस वर्ष बोनस सेयर पनि दिने हल्लाका कारण लगानीकर्ता यसको सेयरप्रति आकर्षित भएको देखिन्छ । पूँजी वृद्धिको दबाबमा रहेको टेलिकमले यस वर्ष बोनस सेयर दिने हल्ला चलाइएको छ । सरकारले पनि बजेट मार्फत टेलिकमको २३ प्रतिशत सेयर सर्वसाधरणलाई दिने घोषणा गरेको थियो ।

 

यस्तै, टेलिकमले चालु आवको दोस्रो त्रैमसमा आकर्षक वित्तीय विवरण सार्वजनिक गरेकाले पनि यसको सेयरमा लगानीकर्ता झुम्मिएको देखिन्छ ।

 

यस्तो छ कम्पनीको वित्तीय अवस्था

 

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा टेलिकमले ३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १८.५० प्रतिशत बढी हो। गत वर्षको पुससम्म कम्पनीले ३ अर्ब २८ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

 

व्यवसायिक आम्दानी बढेसँगै टेलिकमको खुद नाफा बढेको हो। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १७ अर्ब ७२ करोड रुपैयाँ व्यवसायिक आम्दानी गरेको टेलिकमले यस वर्ष १ अर्ब ४८ करोड रुपैयाँ बढाएर १९ अर्ब २० करोड रुपैयाँ पुर्याएको छ । यस्तै, समीक्षा अवधिमा टेलिकमको कुल आम्दानी पनि ६.८७ प्रतिशत बढेर २१ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ।

 

हाल १५ अर्ब चुक्ता पूँजी रहेको टेलिकमको जगेडा कोषमा ७८ अर्ब ५४ करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा टेलिकमको प्रतिसेयर आम्दानी ४३.८६ रुपैयाँबाट बढेर ५१.९७ रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ६२३.८९ रुपैयाँ छ ।

दुर्गमका विद्यार्थीलाई इन्डक्शन चुल्हो दिँदै सरकार, कस्ता विद्यार्थीले पाउँछन् ? Read Previous

दुर्गमका विद्यार्थीलाई इन्डक्शन चुल्हो दिँदै सरकार, कस्ता विद्यार्थीले पाउँछन् ?

कच्ची हुँदा नियमित उडान भएको लामीडाँडा विमानस्थल कालोपत्र गरेपछि बन्द Read Next

कच्ची हुँदा नियमित उडान भएको लामीडाँडा विमानस्थल कालोपत्र गरेपछि बन्द