पाथीभरामा केबलकार बन्दै, २२ महिनामा निर्माण सम्पन्न हुने

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर जानका लागि केबलकार निर्माण हुने भएको छ । पर्यटन विकास तथा प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले पाथीभरा देवी दर्शन केबलकार प्रालिले केबलकार निर्माणको प्रक्रिया अगाडि बढाएको हो ।

 

सदरमुकाम फुङ्लिङमा शनिबार प्रवद्र्धक कम्पनी पाथीभरा देवी दर्शन केबलकार प्रालिले स्थानीय सरोकारवालासँग अन्तक्रिया गर्दै केबलकार निर्माणबारे जानकारी गराएको छ । काफ्लेपाटीदेखि पाथीभराधाम जोड्ने गरी केबलकार निर्माण गरिने भएको छ ।

 

आगामी वैशाखदेखि केबलकार निर्माणको काम सुरु गर्ने गरी तयारीलाई अघि बढाइएको प्रालिका कार्यकारी निर्देशक ईश्वरी पौडेलले जानकारी दिए। केबलकार प्रालिको योजनाअनुसार निर्धारित समयभित्रै परियोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उनले प्रचलित व्यवस्था साथै सबै पक्षलाई सम्बोधन र समन्वय गरेरै परियोजनाको काम कार्यान्वयन गरिने बताए ।

 

पाथीभरा क्षेत्रको काफ्लेपाटीदेखि धाम जोड्ने केबलकारको दूरी २.६ किलोमिटर हुने प्रालिले जनाएको छ । ३ अर्ब रुपैयाँ खर्च हुने र २२ महिनाभित्र केबलकार आयोजना सम्पन्न गर्नेगरी विस्तृत अध्ययन प्रतिवेन (डीपीआर) बनेको पनि केबलकार प्रालिका स्थानीय सम्पर्क व्यक्ति मणिशङ्कर पोमूले बताए ।

 

केबलकारको निर्माण संरचना, कार्यान्वयनको प्रकृति, परियोजनाले हुने सामाजिक र आर्थिकसहित समष्टिगत उपलब्धिबारे जानकारी गराउँदै परियोजनाले पर्यटन विकाससँगै ताप्लेजुङवासीलाई धेरै फाइदा पुग्ने प्रालिका परामर्शदाता बच्चुनारायण श्रेष्ठल बताए । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तारानाथ घिमिरेले जिल्लाको पर्यटन विकासँगै आर्थिक समृद्धिमा महत्वपूर्ण टेवा पुग्ने भएकाले चाँडै केबलकारको काम थाल्नुपर्ने बताए ।

 

हाल पाथीभरामा वार्षिक तीनदेखि पाँच लाखसम्म धार्मिक पर्यटक आउने गरेका छन् भने केबलकार निर्माण भएमा दोब्बर/तेब्बरले वृद्धि हुने आकलन गरिएको छ ।

२ वर्षपछि विदेशीका लागि अस्ट्रेलिया खुला, एकैदिन ५० बढी विमान अवतरण हुने Read Previous

२ वर्षपछि विदेशीका लागि अस्ट्रेलिया खुला, एकैदिन ५० बढी विमान अवतरण हुने

मुडे-चरिकोट सडकमा हप्तामा ३ दिन सवारी आवागमन बन्द, कुन-कुन बार खुल्छ ? Read Next

मुडे-चरिकोट सडकमा हप्तामा ३ दिन सवारी आवागमन बन्द, कुन-कुन बार खुल्छ ?