सर्वेक्षण गरेको १ वर्ष बित्दा पनि सुरू भएन दाङमा केबुलकार निर्माण

तुलसीपुर । दाङको पर्यटकीयस्थल तुलसीपुर उपमहानगरपालिका–१९ स्थित छिल्लीकोटमा केबुलकार निर्माणको काम अझै सुरु हुन सकेको छैन । सर्वेक्षण गरिएको एक वर्षभन्दा बढी भयो तर त्यहाँ केबुलकार निर्माणको काम सुरु गर्ने अझै टुङ्गो लाग्न सकेको छैन ।

 

केबुलकार र जिपलाइन निर्माण भएपछि छिल्लीकोटको विकासले धेरै फड्को मार्ने स्थानीयवासीको अपेक्षा छ । छिल्लीकोटमा रहेको बुद्ध ढुङ्गा नजिकबाट १ हजार ४०० मिटरको दूरीमा केबुलकार सञ्चालन गर्ने गरी सर्वेक्षण गरिएको थियो । त्यहाँ दुईपटक सर्वेक्षण भइसकेको छ । केबुलकारसम्म सहजै गाडी आउन सक्ने गरी सडक खनिसकिए पनि निर्माण कार्य अझै सुरु नहुँदा आफूहरुलाई दुःखी बनाएको स्थानीयवासीको गुनासो छ ।

 

त्यहाँ केबुलकारबाट हरियाली वनका साथै गिद्ध रेष्टुरेन्टसमेत अवलोकन गर्न सकिन्छ । केबुलकार निर्माणका लागि प्रारम्भिक प्रतिवेदन तयार भइसकेको छ । करिब १ अर्ब ४० करोडको लागतमा केबुलकार निर्माण गर्ने तयारी भए पनि कोरोनाका कारणले काम अघि बढ्न नसकेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए ।

 

“हामीले लगानी गर्नका लागि निजी क्षेत्रलाई प्रस्ताव गरेका छौँ, कोरोनाले गर्दा कार्यक्रम अघि बढाउन सकिएको छैन, नत्र हामीले लगानी सम्मेलन आयोजना गर्ने र निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहन गर्ने तयारी गरेका थियौँ,” उनले भने, “अहिले पनि हामीले निजी क्षेत्रलाई लगानी गर्न आग्रह गरिरहेका छौँ ।”

 

निजी क्षेत्रले थाले जिपलाइन निर्माण

 

छिल्लीकोटमा साहसिक यात्राका रुपमा रहेको जिपलाइनको निर्माण सुरु भएको छ । एक महिना अघिदेखि निर्माणको काम सुरु भएकामा अहिले पनि जारी छ । छिल्लीकोट रिसोर्ट एन्ड थ्री स्टार कम्पनीले जिपलाइन निर्माण गरिरहेको छ ।

 

१ करोड १० लाखको लागतमा उक्त जिपलाइन निर्माण गर्न लागिएको स्थानीयवासी प्रवीर पुनले बताए। उनका अनुसार वन मन्त्रालयबाट स्वीकृति लिएर त्यहाँ सोही कम्पनीले जिपलाइन निर्माण सुरु गरेको हो । पर्यटकीयस्थल छिल्लीकोटको कालिका मन्दिरबाट उडान सुरु भएर स्थानीय झुल्के सामुदायिक वनको भेरी खोलामा अवतरण हुनेछ ।

 

१ हजार २०० मिटर लामो जिपलाइन निर्माण तीन महिनामा सक्ने गरी काम अघि बढाइएको स्थानीयवासी पुनले जानकारी दिए । जिपलाइन निर्माण सुरु भएपछि यहाँका बासिन्दा खुसी भएका छन् । “ऐतिहासिक, भौगोलिक तथा धार्मिक क्षेत्रका रुपमा छिल्लीकोट चिनिएको छ, तर यहाँ अझै पनि राज्यको नजर नपर्दा उल्लेख्य रुपमा विकास हुन सकेको छैन,” उनले भने, “अब जिपलाइन बनेपछि धेरै सहज हुनेछ ।”रासस

डेढ महिनापछि बैतडीमा हवाई सेवा सञ्चालन Read Previous

डेढ महिनापछि बैतडीमा हवाई सेवा सञ्चालन

सरकारी संस्थानमध्ये 'नम्बर १' बन्दै प्राधिकरण : नाफा दोब्बरले वृद्धि, चुहावट नियन्त्रणमा उल्लेख्य सुधार Read Next

सरकारी संस्थानमध्ये 'नम्बर १' बन्दै प्राधिकरण : नाफा दोब्बरले वृद्धि, चुहावट नियन्त्रणमा उल्लेख्य सुधार