तुलसीपुर । दाङको टरिगाउँ विमानस्थल विस्तारका लागि ‘खुत्रुके’ अभियान सञ्चालन गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घले उक्त अभियान सुरु गरेको हो ।
विमानस्थल विस्तार गर्न राज्यले कुनै चासो नदेखाएको भन्दै आफूहरूले नै विमानस्थल विस्तार गरेर देखाउने भन्दै यो अभियान सञ्चालन गरिएको सङ्घका अध्यक्ष रामप्रसाद चालिसेले बताए ।
‘राज्यले विमानस्थल विस्तारमा कुनै चासो देखाएन,’ उनले भने, ‘त्यसैले हामीले जसरी पनि यहाँको विमानस्थल विस्तार गरेर देखाउँछौँ, त्यसका लागि जति सकिन्छ, एक रुपैयाँ भए पनि हाम्रो खातामा जम्मा गरिदिनुहोला ।’
विमानस्थलको धावनमार्ग विस्तार गर्न सकिने र त्यसमा कुनै समस्या नहुँने भन्दै विमानस्थल विस्तारको सम्भावना रहेको उनले बताए । उनका अनुसार अहिले वन कार्यालय, त्यहाँको समुदायलगायतसँग छलफल गर्नुका साथै प्राविधिकसँग परामर्श गरिरहेको भन्दै केही दिनमा त्यहाँ धावनमार्ग विस्तार गरेर देखाउने तयारी रहेको छ । त्यहाँ १८०० मिटर धावनमार्ग बनाएर देखाउने उनले बताए । त्यसका लागि सङ्घले अहिले विभिन्न सरोकारवालासँग छलफल तथा अन्तक्रिया गरिरहेको छ ।
आर्थिक सङ्कलनका लागि तुलसीपुर उद्योग वाणिज्य सङ्घ विमानस्थल नाममा राष्ट्रिय वाणिज्य बैंकमा ४१६०१०००००००७००६ नम्बर खता सञ्चालनमा ल्याएको छ । खातामा स्वेच्छिकरूपमा रकम जम्मा गर्न समेत अध्यक्ष चालिसेले सबैलाई अनुरोध गरेका छ ।
‘देश– विदेशमा बस्ने सबैले विमानस्थल विस्तारका लागि सहयोग गर्नुहोला,’ उनले भने, ‘हामी तपाईँको सहयोगले नै विमानस्थल विस्तार गर्नेछौँ ।’ सोही खातामा सङ्घका अध्यक्षले रु ५१ हजारको चेक हस्तान्तरण गरेर खुत्रुके अभियान सुरु गरेका हुन् ।