संकटमा धकेलिँदै अर्थतन्त्र, अधिकांश सूचक नकारात्मक

काठमाडौँ । चालु आर्थिक वर्षको सुरुदेखि नै अर्थतन्त्रको ओरोलो यात्रा हालसम्म लयमा आउन सकेको छैन् । बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले देशको समग्र अर्थतन्त्र अर्धवार्षिक अवधिसम्म नकारात्मक रहेको देखाएको हो ।

 

कोरोना महामारीपछि अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिए पनि अर्थतन्त्रका अधिकांश सूचक संकटउन्मुख नै रहेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आव ६ (साउन–पुस) महिनाको तथ्यांक अनुसार समग्र अर्थतन्त्रका सूचक नकारात्मक रहेका हुन् ।

 

प्रतिवेदनका अनुसार व्यापार घाटा बढेको छ भने रेमिट्यान्स आप्रवाहमा गिरावट आएको छ । शोधान्तर बचत घाटामा छ । विदेशी विनिमय संञ्चिति पनि अत्यन्तै न्यून रहेको छ भने महंगी बढ्दै गएको छ ।

 

व्यापार घाटा ४६.६ प्रतिशतले वृद्धि

 

आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा कुल वस्तु व्यापार घाटा ४६.६ प्रतिशतले वृद्धि भई रु.८८० अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५.८ प्रतिशतले घटेको थियो ।

 

समीक्षा अवधिमा निर्यात– आयात अनुपात ११.९ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.२ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु. ११० अर्ब ९१ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु. ८३ अर्ब १ करोड बराबरको भएको थियो ।

 

६ महिनामा कुल वस्तु आयात ५१.१ प्रतिशतले वृद्धि भई रु.९९९ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४.८ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३७.५ प्रतिशत, ५१.५ प्रतिशत र ९८.२ प्रतिशतले वृद्धि भएको छ ।

 

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, यातायातका साधन तथा पार्टपुजा, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, सिमेन्ट, दाल, मोलासिस सुगर, कीटनाशक लगायतका वस्तुको आयात घटेको छ ।

 

निर्यात ९५.५ प्रतिशतले वृद्धि

 

आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा कुल वस्तु निर्यात ९५.५ प्रतिशतले वृद्धि भई ११८ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६.१ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १२१.८ प्रतिशत र ३०.२ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात १०.२ प्रतिशतले घटेको छ ।

 

वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, जुस, ऊनी गलैँचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, जडीबुटी, जस्तापाता, तार लगायतका वस्तुको निर्यात घटेको छ ।

 

रेमिट्यान्स ५.५ प्रतिशतले घट्यो

 

चालु वर्षको अर्धवार्षिक अवधिमा विप्रेषण आप्रवाह ५.५ प्रतिशतले कमी आई रु.४६८ अर्ब ४५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले बढेको थियो ।

 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.२ प्रतिशतले कमी आई ३ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.७ प्रतिशतले बढेको थियो ।

 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १,६७,५१३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८९.० प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पुससम्म २९८.१ प्रतिशतले वृद्धि भई १,३०,२१२ पुगेको छ ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.५ प्रतिशतले घटेको थियो ।

 

चालु खाता र शोधान्तर दुवै घाटामा

 

अर्धवार्षिक अवधिमा चालु खाता र शोधान्तर स्थिति दुवै घाटामा रहेका छन् । समीक्षा अवधिमा चालु खाता ३५४ अर्ब ७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५१ अर्ब ६८ करोडले घाटामा रहेको थियो ।

 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ९७ करोडले घाटामा रहेको छ । यस अवधिमा शोधनान्तर स्थिति रु.२४१ अर्ब २३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१२४ अर्ब ९२ करोडले बचतमा रहेको थियो ।

 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २ करोडले घाटामा रहेको छ ।

 

विदेशी विनिमय सञ्चिति १६.७ प्रतिशतले घट्यो

 

२०७८ असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.७ प्रतिशतले कमी आई २०७८ पुस मसान्तमा रु.११६५ अर्ब ८० करोड कायम भएको छ ।

 

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ पुस मसान्तमा १५.९ प्रतिशतले कमी आई ९ अर्ब ८९ करोड कायम भएको छ । छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु.१२४४ अर्ब ६३ करोड रहेकोमा २०७८ पुस मसान्तमा १८.४ प्रतिशतले कमी आई रु.१०१५ अर्ब ५९ करोड कायम भएको छ ।

 

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु.१५४ अर्ब ३९ करोड रहेकोमा २०७८ पुस मसान्तमा २.७ प्रतिशतले कमी आई रु.१५० अर्ब २१ करोडकायम भएको छ । २०७८ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.५ प्रतिशत रहेको छ ।

 

महँगी बढ्यो

 

चालु आवको ६ महिनामा उपभोक्ता मुद्रास्फीति झनै बढेको छ । महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.५६ प्रतिशत रहेको थियो ।

 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.२३ प्रतिशत रहेको छ ।२०७७ पुसको तुलनामा २०७८ पुसमा घ्यू तथा तेल, यातायात, मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य वस्तु र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २१.२२ प्रतिशत, १४.०७ प्रतिशत, ११.३७ प्रतिशत, १०.४८ प्रतिशत र ९.२२ प्रतिशत रहेको छ ।

 

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ५.२८ प्रतिशत, तराईमा ६.१५ प्रतिशत, पहाडमा ५.३४ प्रतिशत र हिमालमा ५.२२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ पुसमा यी क्षेत्रहरुमा क्रमशः ३.५५ प्रतिशत, २.८७ प्रतिशत, ४.७२ प्रतिशत र ३.३८ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

 

इलामको सुकिलुम्बा विमास्थलमा परीक्षण उडान सफल, नियमित उडान कहिलेदेखि ? Read Previous

इलामको सुकिलुम्बा विमास्थलमा परीक्षण उडान सफल, नियमित उडान कहिलेदेखि ?

पहिलो दिनमा कति जनाले भरे इमर्जिङ नेपालको आइपीओ ? Read Next

पहिलो दिनमा कति जनाले भरे इमर्जिङ नेपालको आइपीओ ?