काठमाडौँ । कालीमाटीदेखि बालाजुसम्म विष्णुमती नदी किनारामा पार्क बनाइने भएको छ । काठमाडौँ महानगरपालिकाले इन्द्रायणी गुरुयोजना अन्तर्गत पार्क निर्माण गर्न लागेको हो ।
विष्णुमती नदी किनाराको जग्गा संरक्षण गर्ने तथा हरियाली विकास गर्ने योजनासहित पार्क बनाउन लागिएको हो । २ रोपनी ८ आना ३ पैसा जमिनमा निर्माण हुने पार्क बनाउन १ करोड २२ लाख रुपैयाँमा सम्झौता भएको छ । यसको लागत १ करोड ८० लाख रुपैयाँ अनुमान गरिएको थियो ।
उक्त पार्क निर्माण गर्न काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शिलान्यास गरेका छन् । वडा नं. १७ अध्यक्ष नवीन मानन्धरले असला माछा हुने गरी पानी शुद्ध बनाउने बताए । ‘हामी समुदाय र सरोकारवालासँग मिलेर विष्णुमती नदीलाई असला माछा हुने नदी र नदी तथा जल सम्पदाको समृद्धिलाई वडाको विम्बका रुपमा विकास गर्न चाहन्छौँ,’ उनले भने ।
महानगरको पूर्वाधार निर्माण विभागका प्रमुख रामबहादुर थापाका अनुसार पहुँचयुक्त सार्वजनिक शौचायल, चोतारो, ढुङ्गेधारो, खुल्ला व्यायामशाला पार्कका विशेषता हुन् ।