काठमाडौं । हरेक बाली लगाउने समयमा किसानले मलको अभाव झेल्नुपर्छ । तर, अब किसानले मलको अभाव झेल्नु नपर्ने र दिर्घकालीन रुपमा मलको समस्या समाधान हुने कृषि सामग्री कम्पनी लिमिटडले बताएको छ ।
चाणक्य पोष्टसँगको कुराकानीमा कृषि सामग्री कम्पनी लिमिटेडका नव नियुक्त कार्यबाहक प्रबन्धक संचालक राजेन्द्र बहादुर कार्कीले मलको समस्या दिर्घकालीन रुपमा समाधान हुने बताए ।

‘मेरो पहिलो लक्ष्य भनेकै दिर्घकालीन रुपमा मलको समस्या समाधान गर्ने हो । विगतमा जस्तो अब किसानले बाली लगाउने समय मल नपाएर भौतारिनु पर्दैन,’ कार्कीले भने ।
हाल कार्कीलाई बिगत एक महिनादेखि रोकिएका, अड्किएका फाइल तथा अन्य महत्वपूर्ण निर्णय गराउन भ्याइ नभ्याइ छ । करिब एक महिना लामो समय पश्चात् कृषि सामग्री कम्पनीले नेतृत्व पाएसँगै कामले तिब्रता पाएको हो ।
कम्पनीको सञ्चालक समिति बैठकले गत आइतबार कामू प्रवन्ध सञ्चालकको जिम्मेवारी दिने निर्णय गरेसँगै कम्पनीले नेतृत्व पाएको थियो ।
२७ हजार टन मलको सुनिश्चितता
कार्कीले नेतृत्व सम्हालेपछि उनकै पहलमा इजिप्टबाट २७ हजार ५ सय टन मल आउने भएको छ । ‘म आएको दुई दिन भित्रमा २७ हजार ५ सय मेट्रिक टन मलको सुनिश्चितता भयो (२० हजार टन डिएपी, ७ हजार ५ सय टन पोटास) अबको २० दिन भित्रमा मल आईपुग्छ,’ उनले भने ।

पाइप लाइनमा मल नभएको र लाइनमा मल हुनुपर्छ भनेर आगामी वर्षको विनियोजीत बजेटबाट खर्च समर्थन हुनेगरी कृषि मन्त्रालयको लक्ष्य प्रगतिको ३५ देखि ४० प्रतिशतसम्म समेट्नेगरी बोलपत्र आह्वान गर्ने सुचना निकाल्न दिनुपर्यो भनेर मन्त्रालयलाई पत्र लेखिसकेको कार्कीले जानकारी दिए ।
आगामी चैते धानलाई नभ्याउने भएपनि वर्षे धान र गहुँसम्मलाई मलको कुनै अभाव नहुने उनको भनाई छ । साथै, उत्तरी नाकामा रोकिएर बसेको १ लाख १३ हजार ५३५ मेट्रिक टन मल चाँडो भन्दा चाँडो कुटनितिक पहल गरेर ल्याउन आफु लागिपरेको उनले बताए । हाल कम्पनीको गोदाममा १३ सय टन युरिया र १५० टन डिएपी २८६ टन पोटास मल रहेको कार्कीले जानकारी दिए ।
साथै उनले नार्कको ब्यालेन्स सिटबाट बिउँ मागेर उन्नत बिउँ उत्पादन गर्ने र कृषकलाई विक्री वितरण गर्ने लक्ष्य रहेको बताए ।