काठमाडौं । अन्तरदेशीय रेलमार्गको रूपमा प्रस्ताव गरिएको केरुङ–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेद (डीपीआर) तयार हुन अझै केही वर्ष लाग्ने भएको छ ।
विस्तृत परियोजना प्रतिवेदनका लागि अध्यय सुरू भए लगत्तै कोरोनाका कारण काम रोकिएकाले समय लाग्ने देखिएको हो । २ वर्ष अघि नै डीपीआरका लागि अध्ययन सुरू भए पनि कोरोनाका कारण काम अघि बढ्न सकेको छैन ।
रेल विभागका महानिर्देशक दीपककुमार भट्टराईका अनुसार चीनको नेशनल रेल्वे एडमिनिष्ट्रेशन (एनआरए)सँग भर्चुअल मिटिङ मार्फत कुरा भए पनि हालसम्म अध्ययन पुनः सुरू हुन सकेको छैन । चीनले अध्ययन पूरा हुन अझै थप ४२ महिना लाग्ने जनाएको उनले बताए । चीनले समय तालिकासहित अबको ४२ महिनामा अध्ययन पूरा गर्ने गरी प्रस्ताव गरेको भट्टराईले बताए ।
‘उनीहरूले यस अघि चाँडै अध्ययन पूरा गर्ने भनेर काम थालेका थिए, कोरोनाका कारण अध्ययन रोकिएको थियो, फेरि सुरू हुन सकेको छैन,’ महानिर्देशक भट्टराईले चाणक्य पोष्टसँग भने ‘उनीहरूले फेरि टाइमटेबल बनाएर अब ४२ महिनामा अध्ययन सक्ने भनेका छन् ।’

एनआरएले रेलमार्गको अध्ययन पूरा गर्न थप साढे ३ वर्षको समय लाग्ने भन्दै समझदारी गर्न आग्रह गरेको हो । उक्त रेलमार्गको डीपीआर बनाउन दुई वर्षअघि चीन एनआरएले जिम्मा लिएको थियो ।
उनले अब चीनले जानकारी संकलन, फिल्ड सर्भे, जियोलोजिकल सर्भे लगायतका विभिन्न बुँदा बनाइ काम थप गरिएको समयमा सक्ने बताए ।
अझै नेपाल आएनन् चिनियाँ प्राविधिक
केरुङ–काठमाडौं, काठमाडौं–पोखरा र पोखरा–लुम्बिनी रेलमार्गको डीपीआर बनाउने समझदारीपत्रमा २०७६ मै चिनियाँ राष्ट्रपति सी चीनफिङले हस्ताक्षर गरेका थिए ।
सोही सम्झौता अनुसार चीनले आफ्नै खर्चमा अध्ययन गर्नुपर्ने हो । तर, सम्झौता भएको २ वर्ष बित्न लागे पनि हालसम्म चीनको तर्फबाट नेपालमा हुने अध्ययनका लागि कुनै टोली आएका छैनन् । कोभिडका कारण समेत नेपालमा चिनियाँ प्राविधिकहरू अध्ययनका लागि आउन नसकेको महानिर्देश्क भट्टराईले बताए ।
११ मंसिर २०७७ मा बसेको नेपाल–चीन सचिवस्तरीय ‘ज्वाइन्ट स्टेयरिङ कमिटी’ बैठकमा नेपालले छिटो काम अघि बढाउन आग्रह गरेको थियो । तर, चीनले कोरोनाको महामारी साम्य नभएसम्म चिनियाँ प्राविधिक टोली नेपाल नआउने जानकारी दिएको थियो ।
नेपालको भूगोल अफ्ठेरो किसिमको भएकाले रेलमार्ग निर्माण गर्दा पुल र सुरुङको भाग धेरै हुने भट्टराईले बताए । झन्डै २ खर्ब ७५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको उक्त रेलमार्गमा ८० देखि ९० वटा पुल र सुरुङ बनाइने गरी अध्ययन अघि बढाउनुपर्ने भएकाले समेत अध्ययन गर्न ढिलाइ भएको उनले बताए ।
केरुङबाट काठमाडौंसम्म प्रिफिजिबिलिटी अध्ययन सम्पन्न भइसकेको छ । चिनियाँ प्राविधिकले नै सो अध्ययन गरेका थिए ।२०७४ कात्तिकमा चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा २३ सदस्यीय टोली स्थलगत अध्ययनमा आएको थियो । टोलीले केरुङ–काठमाडौं रेलमार्गबाहेक काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्मको रेलमार्गको पनि स्थलगत अध्ययन गरेको थियो ।