प्राधिकरणले वैशाख भित्रै ५० चार्जिङ स्टेसन सञ्चालनमा ल्याउने, देशका यी ठाउँमा बन्दैछन्

सांकेतिक तस्वीर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले  यही बैशाख  भित्र ५० वटा चार्जिङ स्टेसन निर्माण भइसक्ने जनाएको छ । प्राधिकरण सो अवधिमा काठमाडौं उपत्यकामा १५ र उपत्यकाबाहिर ३५ गरी ५० चार्जिङ स्टेसन निर्माण सम्पन्न गरी ससंचालनमा ल्याउने भएको हो ।

 

प्राधिकरणका महानिर्देशक कुलमान घिसिङले आउँदो वैशाख भित्र सबै चार्जिङ स्टेसन बनिसक्ने बताएका हुन् । उनले चार्जिङ स्टेसन निर्माण गर्न आवश्यक पर्ने सबै सामग्री आयात हुने क्रममा रहेकाले आयात हुन साथ जडान गर्ने मात्र काम बाँकी हुँदा एकै पटक बनिसक्ने बताए ।

 

‘सामान आएपछि जडान गर्ने काम मात्र हो, सबै सामान आइसक्ना साथ एकै पटक निर्माण पूरा हुनेछ,’ घिसिङले चाणक्य पोष्टसँग भने ।

 

प्राधिकरणले चार्जिङ स्टेसन बनाउनका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ । जस अन्तर्गत यही बैशाख महिनाभित्र ५० वटै चार्जिङ स्टेसन निर्माण सम्पन्न हुने प्राधिकरणले जनाएको हो ।

 

२०७७ चैत्र २२ गते प्राधिकरणले पूर्व–पश्चिम राजमार्गमा चार्जिङ स्टेसन बनाउने गरी चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो । सम्झौता अनुसार सो चार्जिङ स्टेसनहरु डिसी र एसी दुवै सुविधासहितका हुनेछन् ।

 

एउटा चार्जिङ स्टेसन १४२ किलोवाट विद्युत् क्षमताको हुने छ । ५० वटा मध्ये १५ वटाका हाराहारीमा चार्जिङ स्टेसन काठमाडौं उपत्यका भित्र राखिने छ भने अन्य ३५ वटा हाराहारीमा चार्जिङ स्टेसन उपत्यका बाहिर राखिने छ । चार्जिङ स्टेसन निर्माणका लागि ४० करोड रुपैयाँ हाराहारी लागत लाग्ने अनुमान गरिएको छ ।

 

यी स्थानमा बन्दैछन् चार्जिङ स्टेसन

 

प्राधिकरणले काठमाडौं उपत्यकामा १५ र उपत्यका बाहिर ३५ गरी कुल ५० वटा चार्जिङ स्टेसन बनाइ राखेको छ । उपत्यकामा नयाँ बसपार्क, एअरपोर्ट, प्राधिकरण केन्द्रीय कार्यालय, बल्खु, साझा सेवा, बनेपा लगायतका स्थानमा चार्जिङ स्टेसन राखिने भएको हो ।

 

त्यसैगरी, उपत्यका बाहिर कन्चनपुरको महेन्द्रनगर बसपार्क, कैलालीको प्राधिकरण कार्यालय, कैलालीको लम्की बसपार्क, बाकेको कोहलपुर स्मार्ट रिफ्रेस सेन्टर र बस पार्क, सुर्खेतको सुर्खेत बसपार्क, दाङको लमही रिफ्रेस सेन्टर, दाङको दमही बसपार्क, कपिलवस्तुको चन्द्रौटा रिफ्रेस सेन्टर, रुपन्देहीको सैनामैना रिफ्रेस सेन्टर, रुपनदेहीको भैरहवा बसपार्कमा चार्जिङ स्टेसन राख्ने तयारी भइरहेको छ ।

 

नवलपारीको बर्दीघाट रिफ्रेस सेन्टर, कास्की लेकसाइड, कास्कीको टुरिस्ट बसपार्क, चितवनको पारस बसपार्क, भरतपुर, सिन्धुलीको सिन्धुली बसपार्क, सिन्धुलीको खुर्कोट रिफ्रेस सेन्टर, पर्शाको वीरगंज बसपार्क, सर्लाहीको हरिऔँन रिफ्रेस सेन्टर, बाराको निजगढ, लाहानको लाहान बसपार्क, उदयपुरको बेलका रिफ्रेस सेन्टर, सुनसरीको इटहरी, मोरंगको विराटनगर ईभी चार्ज केन्द्र, झापाको दमक बसपार्क र झापाको विर्तामोड बसपार्क गरी ३५ स्थानमा चार्जिङ स्टेसन राख्ने  भएको छ ।

 

शुल्क निर्धारण हुन बाँकी

 

चार्जिङ स्टेसनमा चार्ज गरेबापत कति शुल्क राख्ने भन्ने विषयमा प्राधिकरणले विद्युत् नियमन आयोगलाई प्रस्ताव पठाएको छ  । राति, दिउँसो र पिक आवरमा चार्ज गर्दा फरकफरक शुल्क तय गर्ने प्राधिकरणको तयारी छ ।

 

राति चार्ज गर्नेलाई प्रतियुनिट ४ रुपैयाँ, दिउँसो चार्ज गर्नेलाई प्रतियुनिट ७–८ रुपैयाँ र बिहानबेलुका पिक आवरमा चार्ज गर्नेलाई केही बढी शुल्क लिने गरी प्राधिकरणले शुल्क निर्धारण गर्दै छ ।

 

चार्जिङ स्टेसनसम्बन्धी कार्यविधिको मस्यौदा पनि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारिसकेको छ । ऊर्जा मन्त्रालयले तयार पारेको कार्यविधिमा चार्जिङ स्टेसनलाई पेट्रोलपम्प जस्तै गरी व्यस्थित गर्ने प्रावधान छ । कार्यविधिअनुसार प्राधिकरणसहित अन्य निकायले पनि चार्जिङ स्टेसन निर्माण गर्न सक्छन् । तर सञ्चालकले आफूले खरिद गरेको विद्युत् महसुलमा २० प्रतिशतभन्दा बढी शुल्क लिन नपाउने प्रावधान कार्यविधिमा छ ।

 

देशभर ५०० चार्जिङ स्टेसन बनाउने

 

विद्युत् प्राधिकरणले देशभर ५०० चार्जिङ स्टेसन खोल्नका लागि निजी क्षेत्रमा आह्वान गरेका छ । छुट्टै सेवासुविधा सहित प्राधिकरणले चार्जिङ स्टेसन राख्न इच्छुकहरुका लागि आवेदन खुला गरेको हो ।

 

नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गतको चार्जिङ स्टेसन पूर्वाधार विकास आयोजनाले देशभर ५ सय चार्जिङ स्टेसन राख्न आवेदन खुला गरेको छ । हालसम्म आयोजनामा १०५ आवेदन आएको आयोजनाका इन्जिनीयर आशिसमणि ज्ञवालीले बताए । उनका अनुसार केही स्थानमा व्यवसायीहरुले चार्जिङ स्टेसन निर्माणको काम समेत सुरु गरेका छन् ।

 

हाल प्राधिकरण तथा स्थानीय निकायमा व्यवसायी आफै गएर चार्जिङ स्टेसन निर्माणका लागि आवेदन गर्न पाउने व्यवस्था भएकाले केन्द्रीय कार्यालयमा धेरै आवेदन आउन नसकेको उनले बताए ।

 

‘अहिले इच्छुकले स्थानीय तहमा रहेका प्राधिकरणसँग समन्वयन गरी पनि चार्जिङ स्टेसन राख्न पाउने छन्, आयोजनामा १०५ आवेदन आएका छन्, केही बन्न थाली सके,’ ज्ञवालीले चाणक्य पोष्टसँग भने ।

 

जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आइपीओ विक्री गर्ने Read Previous

जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आइपीओ विक्री गर्ने

चार्टर उडानमा बढी भाडा तिर्ने यात्रुले कागजातसहित निवेदन दिन अनुरोध Read Next

चार्टर उडानमा बढी भाडा तिर्ने यात्रुले कागजातसहित निवेदन दिन अनुरोध