काठमडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफनो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको ६० दिनभित्र विवरण सार्वजनिक गर्नुपर्ने भए पनि शाहीले ८३ दिनपछि सोमबार सम्पत्ति सार्वजनिक गरेका हुन् ।
गत कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ्नो सम्पत्ति विवरण बुझाएका हुन् ।
सार्वजनिक सम्पत्ति विवरण अनुसार शाहीसँग घरजग्गा, सुन, चाँदी, कार र विभिन्न कम्पनीमा सेयर लगानी रहेको छ । शाही र उनकी श्रीमतीको नाममा हुम्ला दुई र काठमाडौंमा एक गरी ३ वटा घर रहेका छन् ।
त्यस्तै, हुम्ला, काठमाडौं र बाँकेमा गरी ५ ठाउँमा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । उनको नाममा हुम्लाको खार्पुनाथमा २०० रोपनी, खार्पुनाथमै १५ रोपनी, बाँकेको खजुरामा २ रोपनी, नेपालगञ्जमा र श्रीमतीको नाममा काठमाडौंको चन्द्रागिरिमा झन्डै ६ आना जग्गा रहेको छ उनले यो सम्पत्ति सबै पुख्र्यौली तथा जागिर र व्यापार, व्यवसायबाट खरिद गरेको उल्लेख गरेका छन् ।
त्यस्तै, शाहीसँग ५६ तोला सुन, २ किलो चाँदी र तीन लाख बराबरको रप, आंैठी र नवरत्न सम्पत्ति छ । साथै, उनीसँग ९५ लाखको कार पनि रहेको उल्लेख गरेका छन् ।
शाहीसँग विभिन्न ७ वटा बैंक तथा वित्तीय संस्थाहरुमा आफनो र श्रीमतीको नाममा १ करोड २० लाख रुपैयाँ बचत छ । त्यस्तै, शाहीसँग विभिन्न ३ कम्पनीको १३ हजार कित्ता सेयर पनि रहेको छ । उनले हालसम्म १ करोड ७२ लाख ऋण लिएको र किस्तामा तिरी रहेको समेत उल्लेख गरेका छन् ।
हुम्लामा चौरी, जुमा, गाई, गोरु गरेर १२ वटा, घोडा दुई वटा र भेडाबाख्रा ५० वटा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
यस्तो छ शाहीको सम्पत्ति विवरण