३ हाइड्रोपावरको विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोडियो, कुनको कति मेगावाट ?

खोटाङ । खोटाङका तीनवटा जलविद्युत् आयोजनाबाट १०.६ मेगावाट विद्युत् केन्द्रीय प्रशारणलाइनमा जोडिएका छन् । साप्सुखोला जलविद्युत् आयोजना, माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना र मेवाखोला हाइड्रोपावरगरी १०.६ मेगावाट जलविद्युत् ३३ केभी केन्द्रीय प्रशारणलाइनमा जोडिएको हो ।

 

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सु खोलाबाट उत्पादन गरिएको साप्सुखोला जलविद्युत् आयोजना ६.६ मेगावाट, केपिलासगढी गाउँपालिका–६ दिप्सुङ र वडा–७ सुङ्देलको सीमानामा पर्ने रावा खोलाबाट ३ मेगावाट र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित मेवाखालाबाट १ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको छ ।

 

जिल्लाका फरक–फरक तीनवटा खोलाबाट उत्पादन गरिएका जलविद्युत् नेपाल विद्युत् प्राधिकरणको जलजले–बुइपा ३३ केभी प्रशारणलाइनमार्फत केन्द्रीय प्रशारणलाइनमा जोडिएको हो ।

 

साप्सुखोला जलविद्युत् आयोजनाको काम सम्पन्न भएसँगै गत मङ्सिर–१४ गतेदेखि परीक्षण उत्पादन सुरु गरिएको थ्रीस्टार हाइड्रो पावर कम्पनी लिमिटेडका सञ्चालक ध्रुवबहादुर श्रेष्ठले बताए । साप्सुखोला जलविद्युत् आयोजना हिमालयन बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्कले ६५ प्रतिशत ऋण तथा सञ्चालकको ३५ प्रतिशत स्वपूजी लगानीगरी करीब १ अर्ब ५० करोड खर्चमा सञ्चालनमा ल्याइएको हो ।

 

राजापानीको बेलडाँडास्थित पावरहाउसबाट उत्पादित विद्युत् २.५ किलोमिटरमाथि पुरानो गाउँमा निर्माण गरिएको सब–स्टेशनमार्फत केन्द्रीय प्रशारणलाइनमा जोडिएको छ । प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले विद्युत् तथा बाटो मर्मतको माग गरेका दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका मनोज राईले बताए ।

 

उता, रावाखोलाको पानीलाई सुङ्देलको बिहीबारेमा निर्माण गरिएको हेडड्रेसबाट दुई हजार १०० मिटर लामो पाइपलाइनमार्फत सुङ्देलकै दाम्कुबेँसीमा पानी खसाएर विद्युत् उत्पादन गरिएको छ । जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोडिएसँगै नेपाल विद्युत् प्राधिकरण खोटाङले जिम्मा लिएको आयोजनाका प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिका सञ्चालक मुक्ति तिम्सिनाले बताए ।

 

राष्ट्रिय वाणिज्य बैङ्कको ७० प्रतिशत र प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिको ३० प्रतिशतगरी करीब रु ६० करोडको लागतमा माथिल्लो रावाखोला जलविद्युत्को काम सम्पन्न भएको जनाइएको छ । विसं २०६८ सालदेखि उत्पादनको पहल थालिए पनि विसं २०७३ सालदेखि मात्र माथिल्लो रावाखोला साना जलविद्युत् आयोजनाको लागि कन्ट्रक्सन निर्माणको काम सुरु गरिएको थियो ।

 

यता, समुदायको ३० प्रतिशत तथा सानिमा बैङ्कको ६० र बैङ्क अफ काठमाडौँको ४० प्रतिशतगरी करीब रु २२ करोडको लागतमा उत्पादित मेवाखोला हाइड्रोपावर विसं २०७२ मङ्सिरदेखि सञ्चालनमा ल्याएको साप्सु–कालिका हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक अर्जुन राईले बताए । मेवाखोलाबाट उत्पादित विद्युत् जिल्लाका अन्य जलविद्युत् आयोजनाभन्दा पहिले केन्द्रीय प्रशारणलाइनमा जोडिएको हो ।

घरजग्गाको 'हटस्पट' बन्दै तराईका जिल्ला, यी हुन् धेरै किनबेच हुने १० ठाउँ Read Previous

घरजग्गाको 'हटस्पट' बन्दै तराईका जिल्ला, यी हुन् धेरै किनबेच हुने १० ठाउँ

साहसिक पर्यटनको 'हब' पोखरामा थपियो ‘जायन्ट स्विङ’, खेल्न कति लाग्छ शुल्क ? Read Next

साहसिक पर्यटनको 'हब' पोखरामा थपियो ‘जायन्ट स्विङ’, खेल्न कति लाग्छ शुल्क ?