काठमाडौैं । एकैपटक ५ कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) जारी गर्न अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले अध्यक्ष पद रिक्त भएको ५ महिनापछि बुधबार एकैपटक ५ कम्पनीलाई आइपीओ निष्काशन गर्न अनुमति दिएको हो ।
आइपीओ जारी गर्न अनुमति पाउनेमा दुई हाइड्रोपावर कम्पनी र तीन लघुवित्त कम्पनी रहेका छन् । जसमा बलेफी हाइड्रोपावर कम्पनी, ग्रिन भेन्चर लिमिटेड, जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था रहेका छन् ।
कुन कम्पनीको कति कित्ता आइपीओ आउँदै ?
बलेफी हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ दरले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९४० कित्ता सेयर जारी गर्न अनुमति पाएको हो ।
त्यसैगरी, ग्रिन भेञ्चरले ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता सेयर निष्कासन अनुमति पाएको हो । यी जलविद्युत् कम्पनीहरूले स्थानीय र सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेका हुन् ।
त्यस्तै, राष्ट्र उत्थानले प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता, जल्पा लघुवित्तले ५ करोड २२ लाख रुपैयाँको ५ लाख २२ हजार कित्ता र नेस्डो लघुवित्तले ८ करोड २८ लाख रुपैयाँ बराबरको ८ लाख २८ हजार सेयर निष्कासन गर्ने भएक हुन् ।
अनुमति पाएका कम्पनीहरुले अब २ महिनाभित्र आइपीओ जारी गरी सक्नुपर्नेछ व्यवस्था छ ।