काठमाडौं । ललितपुरको ग्वार्कोमा ४ लेनको फ्लाइओभर निर्माणका लागि ठेक्का लगाइएको छ । २ वर्षभित्र निर्माण सम्पन्न हुने गरी एम/एस आशिष–समानान्तर जेभीले ठेक्का पाएको हो ।
सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले आज (माघ ५ गते) सूचना निकाल्दै उक्त जेभी कम्पनीले ठेक्का पाएको जनाएको हो । विभागका सिनियर इन्जिनीयर सौरभ बज्रचार्यका अनुसार समानान्तर जेभीले १७ करोड ६८ लाख ८८ हजार ८०८ रुपैयाँमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का पाएको छ ।
सरकारले उक्त फ्लाइओभर निर्माणका लागि २४ करोड रुपैयाँ स्रोत सुनिश्चित समेत गरिसकेको छ । समानान्तरले सरकारले अनुमान गरेभन्दा करिब साढे ६ अर्ब कम कबोल गर्दै ठेक्का पाएको हो ।
केन्द्रले बोलपत्र आह्वान गरेको ७ महिनापछि ठेक्का प्रक्रिया टुंग्याएको हो । केन्द्रले गत असार २८ गते बोलपत्र आह्वान गरेको थियो । जसमा ९ कम्पनीले आवेदन दिएका थिए । सोमध्ये लामारगोल्डेन गुड जेभी बाहेकका ८ कम्पनीको प्राविधिक प्रस्ताव स्वीकृत भएको थियो ।
प्राविधिक मूल्यांकनबाट एमआर भीम–सगरमाथा जेभी, शर्मा एण्ड कम्पनी, लामा–गोल्डेन गुड जेभी, सूर्य–भ्याली/विकास–ब्रदर्स जेभी, एलिट कन्स्ट्रक्सन, अनक–श्रेष्ठ जेभी, तुन्दी–रसुवा–रोशन जेभी, कालिका कन्स्ट्रक्सन, आशिष–समानान्तर जेभी र एलिट कन्स्ट्रक्सन गरी ८ वटा कम्पनी छनोट भएका थिए ।
तीमध्ये समानन्तर जेभीले सबैभन्दा कम बजेटको प्रस्ताव राख्दै फ्लाइओभर निर्माणको ठेक्का पाएको हो ।फ्लाइओभर इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण हुनेछ । ठेक्का अनुसार काम सुरू गरेको २ वर्षमा फ्लाइओभर निर्माण सम्पन्न गर्नुपर्नेछ । जसमा ४ महिनामा डिजाइन र २० महिना निर्माण सक्नुपर्ने केन्द्रले जनाएको छ ।
फागुनदेखि निर्माण सुरू गर्नुपर्ने
केन्द्रका सिनियर इन्जिनीयर बज्रचार्यले अनुसार ठेक्का पाएको कम्पनीले फागुनदेखि फ्लाइओभरको काम सुरू गर्नुपर्ने बताए । उनका अनुसार अब ७ दिनपछि केन्द्रले सम्झौताका लागि कम्पनीलाई चिठ्ठी पठाउने छ । चिठ्ठी पठाएको १५ दिनभित्र कम्पनीले केन्द्रसँग सम्झौता गरिसक्नुपर्नेछ । सम्झौताको १५ दिनपछि कम्पनीले निर्माण सुरू गर्न मोबिलाइज भइसक्नुपर्ने बज्रचार्यले बताए ।
‘फागुनसम्ममा कम्पनीले कामका लागि मोबिलाइज भइसक्नुपर्नेछ, अब ७ दिनपछि हामी सम्झौताका लागि आउन चिठ्ठी निकाल्छौँ, त्यसपछि १५ लिनभित्र ऊ आएर सम्झौता गनुपर्नेछ र सम्झौताका १५ दिनभित्र उसले काम सुरू गर्नुपर्छ नत्र अर्को ठेक्का खुलाउनुपर्छ, तर त्यस्तो हुँदैन होला,’ बज्रचार्यले चाणक्य पोष्टसँग भने ।
कस्तो बन्छ फ्लाइओभर ?
८ लेन रहेको चक्रपथको बीचको चार लेनमा फ्लाइओभर निर्माण हुनेछ । उक्त फ्लाइओभरको लम्बाइ ४५५ मिटर हुनेछ ।चक्रपथबाट आएका सवारीसाधन ४ लेनको फ्लाइओभर मार्फत आवतजावत गर्नेछन् भने अन्य ठाउँमा जाने सवारी दायाँबायाँको ४ लेन बाट गुड्ने छन् ।
माथि चढ्न र झर्नका लागि र्याम हुनेछ भने माथिल्लो भागमा सुपर स्ट्रक्चर हुनेछ । ‘फ्लाइओभर’ बीएण्डबी अस्पताल नजिकै ग्वार्कोबाट बालकुमारीतर्फ केही अघिसम्म निर्माण हुनेछ ।