काठमाडौं । सेयर बजारमा उछाल आएको छ । गतसाता १६५ अंकले बढेको नेप्सेमा आज पनि उच्च अंकको बढोत्तरी आएको हो । सूचकसँगै आज कारोबार रकममा पनि उछाल आएको छ । गतसाता दैनिक औसतमा ७ अर्बको कारोबार भएकोमा साढे ९ अर्ब नाघेको छ ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से ६९ अंकले बढेर २९२६.७४ विन्दुमा पुगेको छ । आज २२९ कम्पनीको ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ रुपैयाँ बराबरको १ करोड ८२ लाख ५४ हजार ४२५ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । उत्पादनमूलक समूह सबैभन्दा धेरै ५.६२ प्रतिशतले बढेको छ ।
आज अरुण भ्यालीको सर्वाधिक कारोबार भएको छ । यसको ३६ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, अपी पावरको ३० करोड र माथिल्लो तामाकोशी २९ करोड बढीको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।
उच्च अंकले बढेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । स्ट्याण्डर्ड चार्टर्डको मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने मध्यभोटेकोशी जलविद्युत् र किसान लघुवित्तको करिब १० प्रतिशतले बढेको छ ।
त्यसैगरी, हिमालयन डिस्टीलरी ८.९६, सिन्धु विकास बैंक ८.७९, सिभिल बैंक, अरुण भ्याली, मञ्जुश्री फाइनानस, हिमालयन ऊर्जा कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले बढेको छ । त्यस्तै, ग्रामीण विकास लघुवित्त, शिवम् सिमेन्ट, खानीखोला र महुली सामुदायिक लघुवित्तको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।
बढ्दो बजारमा आज ग्लोबल आइएमई बैंकका डिबेञ्चरधनीले सबैभन्दा धेरै ३.५९ प्रतिशत गुमाएका छन् ।