काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १५ जनाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन बिहीबारसम्म १५ जनाले अध्यक्षमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् ।
नेपाल सरकार अर्थ मन्त्रालय नेपाल धितोपत्र बोर्ड अध्यक्ष बोर्ड अध्यक्ष छनोट समितिले सूचना जारी गरेर बोर्डको अध्यक्ष छनोट गर्न पुनः आवेदन खुला गरेको थियो । गत कात्तिक ११ गते अध्यक्षका लागि पहिलोपटक दरखास्त माग गरेको मन्त्रालयले दुई महिनापछि फेरि नयाँ विज्ञापन खुलाएको थियो । पहिलोपटक १२ जनाले आवेदन दिएका थिए ।
दोस्रो पटक खुलाएको विज्ञापनमा डा. गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल ,रमेश अधिकारी, चिरन्जिवी चापागाई, डा. नवराज अधिकारीले आवेदन दिएका छन् । त्यस्तै अम्बिका शर्मा लामिछाने, कृष्णराज पोखरेल, डा. जीवन अंगाई, रमेश कुमार हमाल, सिताराम थपलिया, डा. केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल ,निरज गिरी र हेमन्त बस्यालको आवेदन परेको छ ।
बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर परिवारको नाममा खरिद गरेको पाइएपछि सरकारले असोजमा तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको थियो ।
आवेदन दिएका मध्येबाट अध्यक्षका लागि सिफारिस समितिले तीनजनाको नाम मन्त्रिपरिषद्समक्ष सिफारिस गर्नेछ । त्यसमध्येबाट मन्त्रिपरिषद्ले एकजनालाई अध्यक्षमा नियुक्त गर्नेछ ।
बोर्डको अध्यक्ष राजनीतिक नियुक्तिमार्फत हुने भएकाले शक्ति र पैसाको समेत चलखेल हुने बताइन्छ । साथै, आवेदकहरुले कुनै न कुनै पार्टीको आर्शिवाद पाउने आशामा आवेदन दिएको बताइन्छ ।