विश्वकै दोस्रो लामो स्काइ साइक्लिङ सञ्चालनमा, प्रतिव्यक्ति कति लाग्छ शुल्क ?

काठमाडौं । कालीगण्डकीको अग्लो खोँच । कतै डोरीमा झुन्डिएर कालीगण्डकीको बहाव नजिकै पुग्ने गरी झोलुङ्गे पुलबाट खसिरहेका देखिन्छन् त कतै एउटै डोरीमा झुन्डिएको एउटा टापुबाट अर्को टापुको गन्तव्य भेट्न एकल डोरीमा कुदिरहेका देखिन्छन् ।

 

पारिवारिक पिङ, एकल पिङ र अरू प्राकृतिक आकृतिमाथि बनेका कृत्रिम संरचनामा रम्नेहरुको कमी छैन । यस्तै, विभिन्न एड्भेन्चरलगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा विश्वकै अग्लो र लामो व्यावसायिक स्काई साइक्लिङको अर्कै मज्जा छ । चार वर्षपहिले देखि नै सञ्चालनमा रहेको साइक्लिङ कोरोनाका कारण रोकियो । महामारीको मार खेपेका व्यवसायीले केही दिन पहिलादेखि साइक्लिङ सुरु गरेका छन् ।

 

कालीगण्डकी माथिको रिसोर्ट परिसरमा स्काई साइक्लिङ निर्माण गरिएको कम्पनीका अध्यक्ष राजु कार्कीले जानकारी दिए। उनका अनुसार साइक्लिङ दुईतर्फी गरेर ६०० मिटरको रहेको छ । कोरोना महामारी पछिको समयमा आन्तरिक पर्यटकको चहलपहल बढिरहेको र अङ्ग्रेजी नयाँ वर्षलाई समेत लक्षित गरेर स्काई साइक्लिङ सुरु गरिएको उनको भनाइ छ ।

 

साइक्लिङका लागि प्रतिव्यक्ति ३ हजार ५०० रहेको सुरुआती अवसरमा २ हजार ५०० तोकिएको छ । उक्त स्थानमा पर्यटकले अत्यन्त रुचाएको बञ्जी वा स्विङ गर्नेलाई अतिरिक्त २० प्रतिशत पनि छुट दिइएको उनले जानकारी गराए। साहसिक खेलप्रति पछिल्लो समय युवाहरुको आकर्षण बढेको जनाउँदै यसैलाई दृष्टिगत गर्दै साहसिक खेलका गतिविधि थपिएको अर्का निर्देशक नेत्र पराजुलीले बताए ।

 

बागलुङको बलेवा नेपानेका काँस फुल्ने जग्गा लिएर व्यवसायीले सहासिक खेलको हब बनाएका हुन् । बलेवातर्फ २६ रोपनी जग्गामा रिसोर्टसहितका संरचना निर्माण भएका छन् । युरोपियन सुविधा रहेको रिसोर्टमा हरेक दिन पर्यटकको घुइँचो हुन्छ । कालीगण्डकीमाथि पर्वतको कुश्मा जोड्ने गरी अलग प्रकृतिको झोलुङ्गे पुल निर्माण भएको छ । पर्वततर्फ रहेको तीन आना जग्गामा जोडिएको झोलुङ्गे पुलको बलेवा र कुश्माको पर्यटन व्यवसायमा टेवा पुर्याएको छ ।

 

क्लिफका संरचना नजिकै कुश्मा व्यवसायीहरुको सक्रियतामा जिपलाइनसमेत सञ्चालनमा छ । एक वर्षअघि निर्माणको काम सुरु भएको जिपलाइनको काम सकिएर सञ्चालनमा आएको छ । कालीगण्डकी नदी साहसिक पर्यटनको हब भएको बलेवाका स्थानीयवासी भरत पौडेल बताउँछन् । आन्तरिक जस्तै विदेशी पर्यटकलाई समेत आकर्षण गर्न सके बलेवा र कुश्माका लागि यहाँको पर्यटन आर्थिक उन्नयनको स्रोत बन्ने उनको बुझाइ छ ।

१५ महिनापछि कुर्था-जयनगर रेलको सफल परीक्षण Read Previous

१५ महिनापछि कुर्था-जयनगर रेलको सफल परीक्षण

गरिब देश विदेशी ऋणको पासोमा कसिँदै, के चीनले तिर्नै नसक्ने गरी ऋणको भारी बोकाएको हो ? Read Next

गरिब देश विदेशी ऋणको पासोमा कसिँदै, के चीनले तिर्नै नसक्ने गरी ऋणको भारी बोकाएको हो ?