साहस ऊर्जाको सोलुखोला दूधकोशी हाइड्रोपावरको दुर्घटना छानबिन गर्न समिति गठन

काठमाडौं । सरकारले सोलुखोला दूधकोशी जलविद्युत् आयोजनामा सोमबार भएको दुर्घटनाको छानबिनका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति आज गठन गरेको हो । समितिका अन्य सदस्य भने तोक्न बाँकी रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । ऊर्जामन्त्री पम्फा भुसालले दुर्घटनाप्रति चासो व्यक्त गर्दै तत्काल छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएकी थिइन् ।

 

सरकारले निधन भएका प्राविधिक कर्मचारीप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ । दुर्घटनामा थप एक कर्मचारी घाइते भएका थिए । साहस ऊर्जाले प्रवद्र्धन गरिरहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाको परीक्षणका क्रममा पाइप विष्फोट भई इञ्जिनीयर सुवासराज रेग्मी र कर्मचारी अर्जुन थापाको निधन भएको हो ।

 

पेनस्टक पाइपको हाइड्रोलिक परीक्षणका क्रममा पाइप फुट्दा उक्त दुर्घटना हुन पुगेको हो । प्रवद्र्धक कम्पनीका अनुसार पाइपको ज्वाइनमा परीक्षण गर्दा दुर्घटना भएको हो । आयोजनामा प्रयोग गरिएका हाइड्रो–मेकानिकलतर्फको काममा दुर्घटनाले प्रश्न खडा गरेको छ ।

बैतडीमा फलाम खानीको सम्भाव्यता अध्ययन गरिँदै, काठमाडौंबाट पुग्यो टोली Read Previous

बैतडीमा फलाम खानीको सम्भाव्यता अध्ययन गरिँदै, काठमाडौंबाट पुग्यो टोली

प्रतिकूल मौसमले हावाई उडान डिले Read Next

प्रतिकूल मौसमले हावाई उडान डिले