बेनी-जोमसोम-कोरला सडकमा ८ पुल निर्माण, यी ठाउँमा बने

म्याग्दी । कालीगण्डकी कोरिडोरअन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा ८ वटा मोटर चल्ने पुल निर्माण भएको छ । १८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत उक्त सडकमा एउटा पुल निर्माणको अन्तिम चरणमा पुगेको छ भने अन्य पुल निर्माणाधीन अवस्थामा छन् ।

 

आयोजना प्रमुख जगत प्रजापतिले थप पाँच ठाउँमा पुल निर्माणका लागि प्रस्ताव गरिएको बताए। “नियमित र सहजरुपमा यातायात सञ्चालनका लागि सडकको स्तरोन्नतिसँगै बेलिब्रिज विस्थापित गरी पुल निर्माणको काम भइरहेको छ,” उनले भने, “एउटा पुल निर्माणको ठेक्का प्रक्रियामा छ । थप पाँच वटा पुल बनाउन बनाउन आवश्यक छ ।”

 

म्याग्दीको राहुघाटमा ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको स्याङ खोलामा ११५ मिटर, पाण्डाखोलामा ५० मिटर लामो पुल निर्माण भएको हो । पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले म्याग्दीको महभिर र पोखरबगरस्थित कालीगण्डकीमा ८० र ७० मिटर लामो पुल निर्माण गरेको छ ।

 

छुसाङको मुस्ताङ गेटस्थित कालीगण्डकी नदीमा डोलिडारले ७७ दशमलव दुई मिटर लामो र जोमसोमस्थित कालीगण्डकी नदीमा तत्कालीन मुस्ताङ जिविसले ४६ मिटर लामो पुल बनाएको थियो । ४० मिटर लामो लेते खोलाको मोटरेबल पुल निर्माणको अन्तिम चरणमा छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से र मुस्ताङको खहरेखोलाको मोटरेबल पुल अलपत्र भएको छ ।

आयोजनाका इञ्जिनीयर आश्विनीकुमार यादवले निर्माणका क्रममा रहेका पुलका संरचनामा बाढीले तहसनहस बनाएकाले नमूना परिवर्तनसहित दूरी बढाएर नयाँ प्रक्रियाबाट पुल बनाउन पुरानो ठेक्का तोड्ने प्रक्रियामा रहेको बताए। “४० मिटर लम्बाइको रुप्से खोलाको पुलको दुबैतर्फ पिल्लर उठाएर ६६ प्रतिशत र ढलान ८५ प्रतिशत काम भएकामा बाढीले पुलको जग नै खलबलाउने गरी बगाएपछि स्पाम (लम्बाइ) बढाउन लागिएको छ,” उनले भने, “भूगोल र प्राकृतिक विपद्का कारण नमूना संशोधन, पुरानो ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रिया सुरु गर्नुपर्ने भएको हो ।”

 

बोक्सीखोला, सुनखोला र थापाखोलामा मोटरेबल पुल बनाउन प्रस्ताव गरिएको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो । पाण्डाखोलामा पुल बनाएकोभन्दा फरक ठाउँबाट खोला बग्न थालेपछि ५० मिटर लामो अर्को पुल बनाउन प्रस्ताव गरिएको छ ।

 

“छुसाङको मुस्ताङ गेटमा डोलिडारले बनाएको पुलसँगै अर्को ५० मिटर लामो पुल बनाउन प्रस्ताव गरिएको छ,” उनले भने, “पुलले खोलाको सबै भाग समेट्न नसकेपछि नयाँ पुल बनाउन आवश्यक देखिएको हो ।”

 

निर्माणाधीन १२ वटा मोटरेबल पुलको ठेक्का सम्झौतामा खरिद ऐनअनुसार थपिएको समयसीमा आगामी चैत महिनामा सकिँदैछ । निर्माण कम्पनी गजुरमुखीका व्यवस्थापक राजन न्यौपाने (नरेन्द्र)ले अत्यधिक चिसो, बेमौसमी वर्षा र हिमपातका साथै दुई पटकसम्मको कोरोना महामारीले सडक तथा पुल निर्माणमा समस्या भए पनि थपिएको समयभित्र पुल तथा सडक निर्माण गराउन आफूहरू जुटेको बताए।

 

७ अर्ब २७ करोडमा ठेक्का सम्झौता भएका बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत सडक तथा पुल निर्माणमा हालसम्म ४ अर्ब ७३ करोड खर्च भइसकेको लेखा अधिकृत शेखरचन्द्र सापकोटाले जानकारी दिए। पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी, मुस्ताङको जोमसोम हुँदै कोरला नाकासम्म १३ वटा खण्डमा सडक सस्तरोन्निति भइरहेको छ । पच्चिस किलोमिटर दूरीको चराङ–छोसेरबाहेक जोमसोम–कोरला खण्डको छ वटा प्याकेजमा ११ मिटर फराकिलो सडक ग्राभेल भइसकेको छ ।

 

बेनी–जोमसोम खण्डको ६५ र जोमसोम–कोरला खण्डको ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ । बेनी जोमसोम सडकको बेनीदेखि घाँसा खण्डमा डिबिएसडी र घाँसा जोमसोम खण्डमा आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न लागिएको छ । रासस

एनएमबी बैंकसहितको लगानी रहेको नेपाल वेयर हाउसले आइपीओ ल्याउने Read Previous

एनएमबी बैंकसहितको लगानी रहेको नेपाल वेयर हाउसले आइपीओ ल्याउने

बिजुली खपत बढ्दै, उद्योगले पाउन थालेपछि माग ३०० मेगावाट बढ्यो Read Next

बिजुली खपत बढ्दै, उद्योगले पाउन थालेपछि माग ३०० मेगावाट बढ्यो