काठमाडौं । सिभिल बैंकले आज (मंसिर २४ गते) देखि १०.२५ प्रतिशत ब्याजदरको ‘सिभिल बैंक डिबेञ्चर २०८८’ विक्रीमा ल्याएकोे छ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँदरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र विक्रीमा ल्याएको हो । सोमध्ये १८ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट विभिन्न संस्थाहरुलाई विक्री गर्नेछ भने बाँकी १२ लाख सर्वसाधरणलाई छुट्याइएको छ । सर्वसाधारणका लागि विक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
यो ऋणपत्रमा छिटोमा मंसिर २८ गतेसम्म आवेदन दिन पाइनेछ । सो अवधिमा सबै ऋणपत्र विक्री नभएमा ढिलोमा चैत ४ गतेसम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
बैंकको यो ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ। यसले बैंकको समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छ।