काठमाडौं । २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । पुनर्निर्माण सुरू गरिएको ३ वर्षमा काष्ठमण्डप निर्माणको अन्तिम चरणमा पुगेको हो ।
काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले निर्माण अन्तिम चरणमा पुगेको बताए । ‘काष्ठमण्डप पुनर्निर्माणको काम लगभग सकियो, अब बार फिट (काठको कम्पाउन्ड) गर्ने लगायत केही सानातिना काम मात्र बाँकी छ, यही महिनाको अन्तिमसम्ममा उद्घाटन गर्छौं,’ शाक्यले चाणक्य पोष्टसँग भने ।
काठमाडौं महानगरपालिकाको ११ करोड ५० लाख आर्थिक सहयोगमा स्थानीय उपभोक्ता समितिबाट निर्माण भएको हो । काष्ठमाण्डप पुनर्निर्माण २०७५ कात्तिकदेखि सुरु गरिएको थियो ।
६ जिल्लाबाट ल्याइको काठ
काष्ठमण्डप पुनर्निर्माणमा तराईका विभिन्न ६ जिल्लाबाट ल्याइएका सालको काठ प्रयोग गरिएको छ । शाक्यका अनुसार काष्ठमण्डप पुनर्निर्माणमा बारा, पर्सा, महोत्तरी, रौतहट, कञ्चनपुर र चितवनबाट ल्याइएको सालको काठ प्रयोग भएको छ ।

काष्ठमण्डप पुनर्निर्माणका लागि हालसम्म ९ हजार क्युबफिट बढी काठ खरिद गरिएको शाक्यले जानकारी दिए । ‘पुरातत्व विभागले करिब १७ हजार क्युबफिट काठ लाग्ने अनुमान गरेको थियो,’ उनले भने, ‘तर हामीले सोभन्दा झन्डै आधा काठमै निर्माण सम्पन्न गर्यौं । हालसम्म ९ हजार २४७ क्युबफिट काठ खरिद गरेका छौं । यसले लगभग सबै काम गर्न पुग्छ ।’
अन्य काठको तुलनामा सालको काठको आयु धेरै (टिकाउ) हुने भएकाले काष्ठमण्डप पुनर्निर्माणमा सालको काठ नै प्रयोग गरिएको शाक्यको भनाइ छ ।
काष्ठमण्डपको मूल थाममा प्रयोग भएको काठ महोत्तरीबाट ल्याइएको उनले बताए । ‘काष्ठमण्डपका मूल ४ वटा थाम मध्ये एउटा थाम पुरानै र ३ वटा नयाँ थाम प्रयोग गरिएको छ । पुरानो थाम हजार वर्ष पुरानो हो भने नयाँ थाम महोत्तरीबाट ल्याइएको अग्राख हो,’ उनले भने ।

एउटै रुखको काठबाट काष्ठमण्डप बनेको किंवदन्ती परिवर्तन गर्दै (धेरै रुखको काठ प्रयोग) काष्ठमण्डप फेरि तयार भएको छ । काष्ठमण्डपमा पुराना काठ ५ प्रतिशत मात्र प्रयोग गरिएको र बाँकी पुरातत्व विभागलाई हस्तान्तरण गर्ने जानकारी दिए ।
धरहराको माटो र भक्तपुरको इँटा प्रयोग
पुनर्निर्माणका क्रममा काष्ठमण्डपमा काठबाहेक ढुङ्गा, माटो, इँटा, तामालगायत सामग्री नयाँ प्रयोग गरिएको छ । काष्ठमण्डप पुनर्निर्माणको लागि धरहरा र ताहचलको माटो प्रयोग गरिएको छ । विगतमा काष्ठमण्डपमा प्रयोग गरिएको माटो परीक्षण गर्दा त्यस्तै, मिल्ने खालको माटो ताहाचल र केही धरहरासँग मिलेको हुनाले यी दुवै ठाउँको माटो काष्ठमण्डपमा प्रयोग गरिएको हो ।

त्यसैगरी ढुङ्गा, तेलिया इँटा र झिँगटी इँटा भक्तपुरबाट ल्याइएको थियो । तेलिया इँटा भुइँमा र झिँगटी इँटा छानामा प्रयोग गरिएको छ ।काष्ठमण्डपको बीचमा रहेको गोरखनाथको मूर्ति नयाँ निर्माण गरिएको छ । चर्किएको मूर्ति प्रयोग गर्न नहुने मान्यताका कारण नयाँ मूर्ति निर्माण गरिएको हो । नयाँ मूर्ति पाटनका कलाकार नरेश महर्जनले निर्माण गरेका हुन् । पुरानो मूर्ति हनुमानढोका दरबार हेरचाह अड्डामा सुरक्षित राखिएको छ ।
काष्ठमण्डपभित्र रहेका दुईवटा काठका भर्याङमध्ये एउटा नयाँ निर्माण गरिएको छ भने अर्काे पुरानै प्रयोगमा ल्याइएको छ । अहिले बनेको काष्ठमण्डप विगतको तुलनामा धेरै गुणा बलियो भएको अध्यक्ष शाक्य बताउँछन् ।

