नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने ७ कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको । बिहीबार ३२ अंकले घटेको नेप्से आज पनि दोहोरो अंकले घटेको हो । नेप्सेमा दोहोरो अंकको गिरावट लगातार दोस्रो दिन हो ।

 

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । गत हप्ता दैनिकमा औसतमा ६ अर्ब बढीको कारोबार भएकोमा आज घटेर सवा ४ अर्बमा सीमित भएको छ ।

 

लगानीकर्ता मौद्रिक नीतिको समीक्षाको पर्खाइमा रहेकाले पर्ख र हेरको अवस्थामा रहँदा कारोबारले गति लिन नसकेको आकलन गरिएको छ । नेपाल राष्ट्र बैंकले यसैसाता मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्ने बताएको छ । सोमार्फत सेयर बजारमा प्रभाव पार्ने कस्तो नीति आउने हो भनेर लगानीकर्ता पर्खेर बसेका हुन् ।

 

सेयर बजार मापक सूचक नेप्से ११.६० अंकले घटेर २७५७.५३ विन्दुमा आइपुगेको छ । आइतबार २२५ कम्पनीको ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३१९ रुपैयाँ बराबरको ७८ लाख ९४ हजार ४६४ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये उत्पादनमूलक र हाइड्रोपावर बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । उत्पादनमूलक सबैभन्दा धेरै १.४९ प्रतिशतले बढेको छ भने व्यापार समूह सबैभन्दा धेरै १.८७ प्रतिशतले घटेको छ ।

 

कारोबारमा आएका २२५ कम्पनीमध्ये ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको मूल्य घटेको छ । १५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ५१ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, नेशनल हाइड्रोपावर साढे २३ करोड र नेपाल टेलिकम २२ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

 

दोहोरो अंकले घटेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नारायणी विकास बैंक र मानुषी लघुवित्तको सेयर मूलय ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

 

घट्दो बजारमा आज तेह्रथुम पावर कम्पनीका सेयरधनीले सबैभन्दा धेरै ४.२१ प्रतिशत गुमाएका छन् । यसैगरी, आइसीएफसी फाइनान्स, नेशनल माइक्रोफाइनान्स, प्रिमियर इन्स्योरेन्स, मैलुङ खोला जलविद्युत्, एनआरएन इन्फ्रस्ट्रक्चर र साधना लघुवित्तको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

सञ्चय कोषद्वारा जग्गा किन्न ५० लाख दिन सुरू, क-कसले पाउँछन् यस्तो सुविधा ? Read Previous

सञ्चय कोषद्वारा जग्गा किन्न ५० लाख दिन सुरू, क-कसले पाउँछन् यस्तो सुविधा ?

टेस्लाको एपले काम नगर्दा सवारीधनीले पाएनन् कार चलाउन Read Next

टेस्लाको एपले काम नगर्दा सवारीधनीले पाएनन् कार चलाउन