फास्ट ट्रयाकको सुरुङको ‘डिजाइन’ मंसिर भित्रै बन्ने, यसै वर्षदेखि निर्माण सुरू

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाक (द्रुत मार्ग)मा बन्ने सुरुङको डिजाइन मंसिरभित्र सम्पन्न हुने भएको छ । ५ महिना अघि नेपाल आएको चिनियाँ प्रविधिक जनशक्तिले बनाइरहेको सुरुङमार्गको डिजाइन अन्तिम चरणमा पुगेको नेपाल सेनाले जनाएको छ ।

 

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले मंसिर मसान्त भित्र डिजाइन सकिने गरी काम भइरहेको बताए । उनले हाल साइड क्याम्प, फिल्ड सर्भे, जियो टेक्नोलोजी डिजाइन, प्रिलीमिनेरी डिजाइन लगायतका कामहरू समेत भइरहेको बताए ।

 

‘यही मंसिर मसान्तभित्र सुरुङको डिजाइन सकिने गरी चिनियाँ टोलीले काम गरिरहेको छ, यही आर्थिक वर्षभित्र निर्माण सुरु गर्ने छौँ,’ पौडेलले चाणक्य पोष्टसँग भने ।

 

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं–तराई–मधेश द्रुतमार्गमा ३ वटा सुरुङमार्गको डिजाइन निर्माणका दुई चिनियाँ कम्पनीले ठेक्का पाएका थिए । ठेक्का पाएका कम्पनीका प्रावधिक जनशक्ति सुरुङ मार्गको स्थलगत अध्ययन र डिजाइनका लागि गत असारमा नेपाल आएको थिए । सो टोलीले हाल सुरुङमार्गको डिजाइनको  काम गरिरहेको छ ।

 

पहिलो प्याकेजअन्तर्गतको सुरुङ तथा पुल निर्माणका लागि चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले ठेक्का पाएको छ । दोस्रो प्याकेज अन्तर्गतको सुरुङ तथा पुल निर्माण गर्न पोली चङ्दा ग्रुपको पोली चङ्डा इन्जिनीयरिङसँग गत वैशाखमा सम्झौता भएको थियो ।

 

सेनाका अनुसार पहिलो प्याकेजको ठेक्का सम्झौता रकम २१ अर्ब ६१ करोड रुपैयाँ छ । दोस्रो प्याकेजको सम्झौता रकम २८ अर्ब ५३ करोड रुपैयाँ छ ।

 

टोलीले कार्यालय स्थापना गरी डिजाइनको कामलाई तीव्रता दिएको छ । चिनियाँ कम्पनीसँग टनेलको डिजाइ निर्माणका लागि ६ महिना समय पाएका थिए । टनेल निर्माणमा ढिलाइ नहोस भनेर चिनियाँ कम्पनीले मोबीलाइजेसन अघिनै काम सुरु गरेका थिए ।

 

चिनियाँ कम्पनीले फाइल इन्जिनीयरिङ प्रोक्यूमेन्ट कन्ट्रयाक्ट (ईपीसी) मोडलमा टनेल बनाउन लागेको हो । यस अन्तर्गत प्लानिङ, डिजाइन, इन्जिनेरिङ, प्रोक्यूमेन्ट, कन्स्ट्रक्सन तथा कम्माइनिङ सबै काम गर्नु पर्ने छ ।

 

फास्ट ट्रयाक अन्तर्गत ३ वटा टनेल बन्ने छ । चिनियाँ कम्पनीले कुल ७२.५ किलोमिटर लम्बाइ सडकखण्ड मध्ये (३ वटा सुरुङमार्ग ६.४१ किमी र पुलहरूको लम्बाई १०.५९ किमी) बाहेका ५५.५ किलोमिटर सडक खण्ड निर्माण गर्नुपर्ने हुन्छ ।

 

धेद्रे महादेवटार तर्फ एउटा लामो टनेल बन्ने छ । लेनडाँडा तर्फ २ वटा टनेल बन्ने छन् । टनेलका साथै ब्रीज र सडक समेत निर्माण गर्नु पर्ने छ । धेद्रे महादेवटार तर्फ टनेल लगतै लामो ब्रिज निर्माण गर्नु पर्ने छ भने त्यस लगतै केही मिटर सडक पछि फेरि अर्को ब्रिज रहेकाले यी सबै निर्माण चिनियाँ कम्पनी आफैले गर्नुपर्ने प्रवक्ता पौडेलले बताए ।

 

२० महिनापछि विदेशी यात्रुलाई अमेरिकी सीमा खुला Read Previous

२० महिनापछि विदेशी यात्रुलाई अमेरिकी सीमा खुला

भरतपुर सबस्टेशनको मर्मत सकियो, दुईवटै ट्रान्सफर्मर सञ्चालनमा Read Next

भरतपुर सबस्टेशनको मर्मत सकियो, दुईवटै ट्रान्सफर्मर सञ्चालनमा