काठमाडौं । बेमौसमी वर्षाका कारण किसानले भित्र्याउन लागेको धान बालीमा ठूलो क्षति पुगेको छ । तीन दिन परेको झरीले देशका विभन्नि भूभागमा भित्र्याउन लागेको धान खेतमै डुबाउँदा करोडौंको क्षति पुगेको हो ।
झरीले बोटमै रहेको धानमा ठूलो क्षति नपुर्याए पनि काटेर खेतमा सुकाएको धानमा पूरै क्षति पुर्याएको हो । झरीले कति टन धान क्षति पुर्याए भन्ने एकीन तथ्यांक आइनपुगेको कृषि तथा पशुपछी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेल देशभर कहाँ कति धान बाली क्षति भयो भन्ने विषयमा प्रदेशहरुलाई पत्राचार गरेर तथ्यांक संकलनको काम भइरहेकोे बताए । ‘देशैभर वर्षाको कारण धान बालीमा ठूलो क्षति पुगेको छ,’ उनले भने, ‘क्षतिको तथ्यांक संकलनका लागि सबै प्रदेशहरुलाई पत्राचार गरिसकेका छौँ, तथ्यांक आइसकेपछि मात्र कहाँ कति क्षति भयो भन्ने जानकारी हुन्छ ।’
प्रारम्भिक तथ्यांक अनुसार देशभर करिब २ लाख हेक्टर क्षेत्रफल जमिनमा लगाइएको धान बालीमा क्षति पुगेको बताइएको छ । यसवर्ष देशभर करिब कूल १३.५० लाख हेक्टर क्षेत्रफल जमिनमा रोेपाइँ गरिएको थियो । त्यसमध्ये करिब २ लाख हेक्टर क्षेत्रफल जमिनमा लगाइएको धान डुबानमा परेको हो ।

प्रदेशका निकायहरुमार्फत एक दुई दिन भित्र क्षतिको तथ्यांक संकलन गरेर कृषकहरुलाई क्षतिपूर्ति दिन विस्तृत कार्ययोजना बारे छलफल भइरहेको उनले बताए । खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी सरकारले क्षतिको तथ्यांक संकलन गरेर बचेका अन्नबालीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिनुपर्ने बताउँछन् ।
‘देशभर धान काटेर घर भित्राउने क्रममा वा ढल्ने बेलमा कल्पना गरेभन्दा ठूलो ‘पोष्ट मन्सुन’ले क्षति पुयाएको छ,’ उनले भने, ‘क्षतिको विवरण संकलन गरेर बचेका अन्नबालीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्छ ।’
अहिलेसम्म देशभर कहाँ कति अन्न बालिमा नोक्सान पुग्योे भन्ने समेत कृषि मन्त्रालयलाई जानकारी नभएको उनले बताए । मन्त्रालयले अहिले कृषि ज्ञान केन्द्र्रमार्फत सूचना संकलनको काम भर्खर थालेको उनको भनाइ छ ।
कृषि अभियानले सरकारसँग क्षतिको आकलन गरी कृषकहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन समेत कृषि अभियानले माग गरेको छ । सरकारले क्षति भएका किसानको लागि राहत उपलब्ध गराउनु पर्छ,’ संयोजक अधिकारीले भने, सरकारले ‘सरकार तथ्यांक लिने गरे पनि केही समय पछि कानमा तेल हालेर बस्छ । किसानलाई राहत उपलब्ध गराउन हामीले माग गरिरहेका छौँ ।’

विगतका वर्षहरुमा कृषकले यस्तै समस्या भोगे पनि राहात र क्षतिपूर्ति नपाएको उनको भनाइ छ । सरकारले पीडित किसानलाई धान बाली स्याहार गर्न तत्काल सहायता र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।
कृषि सूचना प्रणाली व्यवस्थित नहुँदा ठूलो क्षति
कृषि सूचना प्रणाली व्यवस्थित बनाउँन नसक्दा धान बालीमा बढी असर पुगेको किसानहरु बताउँछन् । मौसम पूर्वानुमानका तथ्यांक कृषकले बुझ्ने भाषा र समयमै पुयाउने व्यवस्था प्रभावकारी नहुँदा क्षति बढी भएको हो ।
सरकारले कृषि मन्त्रालयमा कृषि सूचना प्रणलीको प्र्रोजेक्ट नै खडा गरेर जागिर खाने काम मात्रै भएको सरकारी अधिकारीहरु नै बताउँछन् । ‘मन्त्रालयमा मौसम पूर्वानुमानको प्रोजेक्ट नै खडा गरेर जागिर खाने काम मात्र भयो,’ एक अधिकारीले भने,‘त्यसलाई कम्तीमा चार दिनको पूर्व सूचना दिनेगरी प्रभावकारी रुपमा परिचालन गरिएन ।’
हचुवाको भरमा मन्त्रालयमा यस्तो कार्यक्रम चलाएको उनले बताए । कृषकले मनसुन सुरुहुनु अघि जानकारी पाएको भए क्षति कम हुने उनको भनाइ छ । ‘सूचना प्रविधिको समयमा सबैले एकै पटक जानकारी पााउछन्, केही दिनअघि मात्रै कृषकलाइ जानकारी गराएको भए क्षति कम हुने अवस्था आउँथ्यो,’ उनले भने ।
खाद्यसंकट बढ्ने खतरा

भित्र्याउनै लागेको ठूलो धान माटोमा परिणत भएपछि खाद्य संकट बढ्ने सम्भावना रहेको विज्ञहरुले बताएका छन् । ठूलो परिमाणमा धान नष्ट भएपछि समग्र अर्थतन्त्रमा असर पर्नुका साथै व्यापार घाटा पनि बढ्ने उनीहरुको भनाइ छ ।
कृषिविद् कृष्ण पौडेल वर्षाका कारण धान बालीमा पुगेको क्षतिले समग्र अर्थतन्त्र र खाद्य संकटमा असर पर्ने बताउँछन् । ‘धान खानमात्र नभएर नेपालका अर्थतन्त्रको हिसाबले पनि मुख्य बाली भएकाले यसको प्रभाव स्वभाविक देखिन्छ,’ उनले भने, ‘यसले कुल उत्पादनको १५ देखि २५ प्रतिशत नोक्सान हुने देखिन्छ ।’
धानखेती नेपालको प्रमुख अन्न बाली भएका कारण कृषि क्षेत्रको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा धेरै योगदान रहेको छ । कूल कृषि क्षेत्रको जीडीपीको योगदानमा धान बालीको मात्रै ७/८ प्रतिशत योगदान रहेको छ । प्र्रकृति अनुकूलको खेती प्रणली गरेर यस्तो प्राकृतिक विपत्तिबाट जोगिन सकिने उनले बताए ।