निर्दाेष सौन्दर्यता भित्रको सकसपूर्ण सुदुर पहाडको यात्रा

काठमाडौं। एसएलसी सकेर सपनाको सहरमा धमिलो मन बनाएर प्रवेश गरेको पनि दुई वर्ष बितिसकेछ । आमा–बुवाको काखबाट एक पल पनि नटाढिएको मान्छे । यति लामो क्षण एक्लै बिताउँदा मन सँधै भारी नै रह्यो ।

 

सुदुर पहाड बझाङबाट काठमाडौं आएको २ वर्ष पछि पहिलोपटक दशैंको छेको पारेर बझाङ उक्लदैं थिएँ । मानिसहरू तछाडमछाड गरेर आफ्नो गन्तव्यको यात्राका लागि कुरिरहेका थिए । यहि भिडमा म र मेरो एक साथी पनि लुसुक्क पस्यौं ।

 

सामान्य नेपालीहरुको नियती नै यस्तो छ की दुर–दराजबाट सपना पछ्याउन काठमाडौं खाल्डोका नआइ सुखै छैन । मुलुकले संघियतासम्मको यात्रा तय गरिसके पश्चात पनि यसमा खासै परिर्वतन आएको छैन । चाहे रोजगारीको खोजीमा होस वा शिक्षा आर्जनका लागि, सबैको नियती यस्तै छ ।

 

अरुका झैं टाढिएको खुसी भेट्टाउने मेलो बनेर दशैं आइपुगेको छ । दशैं त बहाना न हो, न्यानो त आफन्तको साथ र बाबुआमाको काख थियो हाम्रो लागि ।

 

प्रत्येक वर्ष दशैंमा काठमाडौं उपत्यकाबाट लाखौं संख्यामा मानिसहरू बाहिरिने गर्छन् । असोज महिनाको २० गते साथी र म काठमाडौंबाट साँझको गाडी चढेर बझाङको बुङ्गल नगरपालीका तर्फ लाग्दै थियौं ।

 

 

काठमाडौं उपत्यकाबाट धनगढी सम्म दिउँसो ३ बजेको टिकट थियो । दुवै जना गाडीमा बस्यौं । यात्रुहरूको बाक्लो भिडभाड थियो । २० दिन अघि अग्रिम टिकट बुकिङ खुले पनि उपत्यकाका साना बसहरू समेत यात्रु बोकेर बाहिर गइरहेका थिए । ती बसहरूमा समेत मानिस ठेलमठेल गरेर यति टाढाको यात्रा गरिरहेका थिए ।

 

नेपालमा सार्वजनिक यातायातको अवस्थाका बारेमा चर्चा गररै साध्य छैन । देश चलाउनेहरुले सार्वजनिक यातायात जनताको आधारभुत आवश्यकता हो भनेर अझै बुझ्न सकेका छैनन् ।

 

विकासका नाममा जताततै स्काइभेटर चलाएर पहाड नै भत्काइएको छ । जसले गर्दा वर्षातको समयमा भीरबाट पहिरो र बाढी आएर खेतियोग्य जमिन नदिले कटान गरिरहेको छ भने कैयौं बस्तीहरु जोखिममा छन्

 

गाडीमा काठमाडौंबाट धनगढी पुग्न करिब १८/२० घण्टा लाग्छ । त्यहाँ बाट पहाडका साँघुरा सडक र घुम्तीहरू पार गरेर बझाङ पुग्न करिब ७/८ घण्टा लाग्छ । उपत्यकाबाट धनगढी सम्म दैनिक हवाई जहाजहरु उड्ने गरेका छन् । तर, चाडवाडको बेलाको महंगो भाडाका कारण त्यो सबैको पहुँचमा हुँदैन । सामान्य अवस्थामा पनि नेपालको आन्तरिक हवाई शुल्क कुन्नी किन हो अन्य देशको भन्दा निकै उच्च छ ।

 

जोखिमपूर्ण सडक, अनी जाम उस्तै

 

मुलुकको राजधानी आवागमनको प्रमुख सडक मार्ग मध्ये नागढुङ्गा नाका एक हो । दैनिक हजारौं संख्यामा गाडी र मानिसहरू यो नाका हुँदै बाहिरीने र भित्रिने गरेका छन् । काठमाडौं जिल्लाको नागढुङ्गा कटिसकेपछि धादिङ शुरू हुन्छ । त्यहि छोटो ओरालो बाटोमा हामी करिब ३ घण्टा जाममा फस्यौं । नयाँ बसपार्कबाट दिउँसो ३ बजे हिँडेका हामीले बेलुकी ६ बजेसम्म पनि त्यो घुम्ती काट्न सकेनौं ।

 

साँघुरो सडक छ । सडकले धान्नै नसक्ने गरि मालवाहक साधन र बसहरू गुडेका छन् । बस भित्रको बसाइ दिक्क लाग्दो छ । बिस्तारै जाम खुल्दै जान थाल्यो ।

 

उता नारायणगढ– मुग्लिनगढ सडक निकै जोखिमपूर्ण छ । मुन्तिर त्रिशूली नदी बग्छ, माथि अनकन्टार पहाडका चुच्चाहरू देखिन्छन् ।माथिबाट ढुङ्गा र पहिरो खस्ने जोखिम उत्तिकै छ भने बसको झ्यालबाट तल हेर्दा सुसाउँदै बगेको त्रिशुली देखिन्छ । सडक एकनाशको छैन । कतै पिच छ भने, कतै खाल्डै खाल्डा । कुनै घुम्तीमा फलाम र ढुङ्गाको अस्थायी बार लगाएको देखिन्थ्यो ।

 

भात बिहानै पकाएको बासी रहेछ । चिसो भात माथी खोले जस्तै दाल हालेर खाने प्रयास गरे पनि खाइ सिध्याउन निकै सकस पर्यो । एक अर्का ग्राहक भने ‘यस्तो खानाको पनि ३०० !’ भन्दै थिए

 

मुग्लिन कट्ने बेला रातीको ९ बजिसकेको थियो । २ वर्ष पछिको घरतर्फको यात्रा, त्यसमाथि ज्यान जोखिमम राखेर हिँड्नु पर्ने ! उपत्यका प्रवेश गर्ने मुख्य मार्ग भएपनि भिरको बाटो भएकाले यो निकै जोखिमपूर्ण रहेको छ । वर्षेनि यो क्षेत्रमा कुनै न कुनै दुर्घटना भएकै हुन्छ । सरकारले बर्सेनी अर्बौं रूपैयाँ सडक मर्मतका लागि खर्चे पनि त्यसको प्रभावकारीता भने देख्न पाइएको छैन ।

 

भोको र थाकेको शरीर

 

एउटै सिटमा बसेका हामी दुवै जना चितवन पुगिसकेका थियौं । ‘अब तराई लागिसक्यो, सजिलो हुन्छ’ साथी भन्दै थियो । रातीको करिब १२ बजिसकेको थियो, हामी चितवनको गैंडाकोट पुग्यौं । बसका सह–चालकले सबैलाई खाना खान भने । भात खाने ठाउँ एउटा मात्र रहेछ । बसका चालकले होटेलका साहुसँग सेटिङ मिलाएका हुनन् ।

 

भात बिहानै पकाएको बासी रहेछ । चिसो भात माथी खोले जस्तै दाल हालेर खाने प्रयास गरे पनि खाइ सिध्याउन निकै सकस पर्यो । एक अर्का ग्राहक भने ‘यस्तो खानाको पनि ३०० !’ भन्दै थिए ।

 

चिसो भात र खोले जस्तो दालको भरमा हामी रूपन्देही, कपिलवस्तु, अर्घाखाँची, दाङ हुँदै बाँके पुग्दा बिहानको ५ बजिसकेको थियो ।

 

प्राकृतिक सैन्दर्यताको मन्द मुस्कान

 

बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा हरेक बसको चेक जाँच हुने गरेको छ । निकुञ्ज भित्र विभिन्न ठाउँमा नेपाली सेनाका क्याम्प र चेकिङ पोष्टहरू छन् ।

 

यी निकुञ्ज भित्र पस्ने बित्तिकै घनघोर जंगलको सैन्दर्यताले मनलाई सितल बनाइरहन्छ । मृगहरू उफ्रि–उफ्रि खेलिरहेका देखिन्छन् बसबाटै । आफ्नै सुरमा आनन्द विभोर भएर खेलिरहेका देखिन्छन् चराचुरुङ्गीहरू ।

 

वास्तवमा नेपाल प्राकृतिक हिसाबले निकै सुन्दर देखिन्छ । तर मान्छेले बनाएका भने सबै कुरुप ! किन यस्तो भएको होला ?
कर्णाली पुल तरेपछि चिसापानीमा बिहान करिब ८ बजे चिया खायौं । केही समय त्यहाँको सैन्दर्यता नियाल्यौं । स्वादिलो माछाका लागि यो ठाउँ निकै प्रशिद्ध छ ।

 

 

काठमाडौंसँग सुदुरपश्चिम जोड्ने भनेकै कर्णाली पुल हो । ५ सय मिटर लामो यो पुल बन्नु अघि आफ्नै देशको राजधानी आउजाउ गर्न पनि भारत हुँदै गर्नुपथ्र्यो । काठमाडौंले निकै उपेक्षा जो गरेको थियो सुदुरपश्चिमलाई ।

 

अहिले पनि सुदुरपश्चिमका मानिसहरुलाई रोजगारीको खोजीमा राजधानी आउन भन्दा भारत जानै सजिलो हुन्छ । हरेक परिवारबाट कोहि न कोहि रोजगारीका लागि भारतका दिल्ली, कर्नाटक, तामिलनाडु, आन्द्रा, बैंगलोर, मद्रास र उत्तराखण्डका गल्लीहरू चहार्न विवश छन् ।

 

चिसापानीबाट ठिक ९ बजे हिँडेपछि टिकापुर, घोडाघोडि, अत्तरिया हुँदै हामी साँढे ११ बजे धनगढी पुग्यौं ।

 

सुदुर पहाडका डरलाग्दा भीर र साँघुरा सडक

 

करिब २०/२२ घण्टा निरन्तर यात्रामा बिताएर त्यो दिनको बास धनगढी स्थित एक होटेलमा बस्यौं । दोस्रो दिन बिहान ८ बजेको टिकट थियो बझाङ जाने । दुवै जना तयार भएर बिहानै धनगढी बसपार्क आइपुग्यौं ।

 

सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीबाट प्रशिद्ध ठाउँ गोदावरी हुँदै पहाडका घुम्ती सडकहरू उक्लियौं । अत्तरिया पहाडका सातवटै जिल्ला जोड्ने मुख्य मार्ग हो । पूर्वपश्चिम राजमार्गको उक्त चौराहबाट सिधा पश्चिमतिर गए कन्चनपुरको दोधारा चाँदनी र महेन्द्रनगर पुगिन्छ । पुर्वतिर काठमाडौं आउने सडक छ भने उत्तरतिर पहाडका जिल्ला जोड्ने सडक छुट्टिएका छन् ।

 

चुरेहरूका भञ्ज्याङ छिचोल्दै सुन्दर बनेको छ गोदावरी धाम । हरियाली वनजंगलको सुन्दरता पनि यहिँ देखिन्छ । पहाडका घुमाउरा सडक लागेको संकेत पनि हो यो । त्यहाँबाट बिराट तराइको फाँट र सफा मौसममा धनगढी बजारसम्म चकमन्न देखिन्छ । गाडी गुड्दै जान्छ आफ्नै सुरमा अनी हामी दुवैजना गफमा भुलिदैं गयौं ।

 

दुरदराजमा छरिएका यस्ता अन्तरकुन्तरका कथाबारे राज्य अनभिज्ञ छ । बढ्दोे बनजंगल फडानीले सुन्दर डाँडाहरु कुरुप बनेका छन् । स्थानीय ठेकेदार र पहुँचवालाहरुको मन लाग्दी ‘विकास’ले प्राकृतिक भौतिक संरचना खलबलिएको छ

 

पहाडको उकालो चढ्ने ती घुम्तीहरू पार गरिसकेपछि भासुको भिर आउँछ । यो भीर अनकन्टार छ । हेर्दै डर लाग्ने । भीरको बिचमा साँघुरो सडक छ । निकै जोखिमपूर्ण यो ठाउँमा गाडी दुर्घटना हुनपुगे मान्छे त के बसको समेत टुक्रा नपाइने स्थिति आउँछ ।

 

त्यहाँबाट बिस्तारै हामी डोटीको बुडर, खानीडाँडा हुँदै डँडेल्धुराको सुन्दर नगरीमा पुग्यौं । पहाडका अर्गानिक फलफूल र जडिबुटीले बनेका विभिन्न खानेकुराहरू पाइन्छन् बुडरमा । केही बेरमा हामी बागबजार, तुफान डाँडा,पोखरा हुँदै खोड्पे पुग्यौं । नयाँ सहरको रूपमा विस्तारित हुँदै गरेको डडेल्धुराको विकास र सैन्दर्यताले मन्त्रमुग्ध बनाउँछ ।

 

डडेलधुराको अमरगढी बजारबाट केही समयमा खोड्पे पुगियो । त्यहाँ भिमद्त्त पन्त राजमार्ग टुङ्गिन्छ । अब बझाङ जान दायाँ तर्फको बाटो सुरू हुन्छ । जुन जयपृथ्वी राजमार्ग हो । हामीले दिउँसो १ बजेको खाना सोही ठाउँमा खायौं ।

 

खोड्पे दार्चुला, बैतडीका अन्य स्थान र बझाङ जोड्ने संगम स्थल हो । बायाँ तिर लागे दार्चुला र बैतडीको सदरमुकाम पाटन लगायतका स्थानमा पुगिन्छ । यो राजमार्गको लम्बाइ सदरमुकाम चैनपुर सम्म १०८ किमी रहेको छ । बुङ्गल नगरपालिका पुग्न भने सदरमुकाम पुग्नु पर्दैन । केही समयपछि फेरि हाम्रो यात्रा निरन्तर चलि रह्यो । घुमारो र एकदमै साँघुरो बाटो छ बझाङ पुग्ने ।

 

जोखिमपूर्ण ठाउँमा मुस्किलले गाडीहरू वारपार गरिरहेका छन् । खाल्डा खुल्डी उस्तै । त्यसमाथि सडकका घुम्ती भन्दा ठूला एसी र डिलक्स बसहरू !

 

करिब २ घण्टा पछि हामी सबैभन्दा उच्च ठाउँ खोड्पेबाट सिधा र बिस्तारै ओरालो झर्दै बझाङ जिल्लाको सीमाना बित्थडसम्म आइपुग्यौं ।

 

राजनीतिले बिगारेको जिविका र कुरुपता झल्काउने ‘विकास’

 

विकासका नाममा भिराला पहाडका डाँडाहरुमा जताततै सडकका रेखाहरु कोरिएका छन् । यीनले वास्तविक प्रकृतिको बनावटलाई समेत कुरुप बनाएका छन् । सदरमुकाम जोड्ने मुख्य सडक न फराकिलो छ, न खाल्डाखुल्डी नै पुरिएका छन् ।

 

बित्थडबाट हामी दुवै जना देउलेक, सुनकुडा बाग्थल हुँदै गन्तव्य स्थान विजगडा तिर लाग्यौें । २०७० साततिर विदेशी दातृ निकाय जिटीजेडले निर्माण गरिदिएको १६ किलोमिटरको उक्त सडक हालसम्म पक्की बन्न सकेको छैेन ।

 

बाग्थला सदरमुकाम चैनपुर र बुङगल नगरपालिका जाने केदास्युँ गाउँपालिकाको संगम स्थल हो । काठमाडौंबाट हिँडेको करिब तिन दिनपछि हामी आफ्नो गन्तव्यमा पुग्यौं ।

 

विकासका नाममा जताततै स्काइभेटर चलाएर पहाड नै भत्काइएको छ । जसले गर्दा वर्षातको समयमा भीरबाट पहिरो र बाढी आएर खेतियोग्य जमिन नदिले कटान गरिरहेको छ भने कैयौं बस्तीहरु जोखिममा छन् ।

 

दुरदराजमा छरिएका यस्ता अन्तरकुन्तरका कथाबारे राज्य अनभिज्ञ छ । बढ्दोे बनजंगल फडानीले सुन्दर डाँडाहरु कुरुप बनेका छन् ।

 

स्थानीय ठेकेदार र पहुँचवालाहरुको मन लाग्दी ‘विकास’ले प्राकृतिक भौतिक संरचना खलबलिएको छ । राजनीतिक बिभाजनका रेखाहरु पनि कोरिएका छन् ।

कोभिड नेपालः बिमा दाबीको भुक्तानीबारे किन आलटाल Read Previous

कोभिड नेपालः बिमा दाबीको भुक्तानीबारे किन आलटाल

अविरल वर्षाले धानबालीमा व्यापक क्षति Read Next

अविरल वर्षाले धानबालीमा व्यापक क्षति