अब दशैं ‘दशैं’ जस्तो कहाँ रह्यो र ?

काठमाडौं । दशैं राम्रैसँग लागिरहेको छ । तिहारको प्रतिक्षा भइरहेको छ । तर मनमा चाडपर्वको कुनै हर्ष, उमंग छैन । सायद परिपक्व बन्दै गएर हो कि । एक पटक मेरो बाल्यकालकोे दशैंमा फर्किन चाहें ।

 

मैले सम्झिन सकेसम्म मेरो बाल्यकालका सबै दशैं, तिहार अबिष्मरणीय नै छन् । अहिले पनि बेलाबेला त्यो सानो बेलाको दशैंले मलाई साँच्चै रोमाञ्चित बनाई दिन्छ । दशैं आउँदै गर्दा आँगनमा उम्रेका सबै झार उखल्ने काम मेरै भागमा पथ्र्यो । दशैंको लागि काठमाडौंबाट अंकलहरु घर नआउन्जे सम्म म हरेक दिन आँगन सफा गर्थें । त्यसैगरी घर लिप्न, लुगा धुन सकेसम्म आमालाई सहयोग गर्थें , ता कि घरमा आएका कोहि पाहुनाले हाम्रो घरको संस्कारलाई नराम्रो नभनुन् ।

 

अंकलले ल्याउनु भएको धेरै खाने कुरा मध्ये मलाई सबैभन्दा धेरै ल्याक्टो चकलेट नै मन पथ्र्यो । ल्याक्टो खाएपछि भने मलाई बल्ल दशैं आएजस्तै लाग्थ्यो । त्यति बेलाको ल्याक्टो चकलेट साँच्चै मिठो हुन्थ्यो । तर अहिले बजारमा पाईने कुनै पनि चकलेटले मलाई त्यो बेलाको ल्याक्टो चकलेटको प्यास मेट्न सकेको छैन

 

माटोको हाम्रो घरमा हरेक दशैंमा कमेरो र रातो माटो लगाएर चिटिक्क पारिन्थ्यो । कमेरो लिन छिमेकका अरु दाई दिदि जाँदा म पनि संगै जान्थे । तर कमेरो लिन २/३ घण्टाको समय हिँडेरजानु पर्ने भएकाले जाँदा रमाउँदै गएकी म फर्किदा हिँड्न नसकेर रुन्थे, अनि उल्टै अरु दाइ दिदिले नै बोकेर ल्याईदिनुहुन्थ्यो । अनि सोच्थें अर्को दशैंमा चै म कमेरो लिन जान्न, मेरो कारणले अरुलाई दुःख भयो । तर अर्को वर्ष आएपछि त्यो सब बिर्सेर पुनः कमेरो लिन जान्थे । खास कमेरो लिन जाँदा गाउँका सबै जना एकै साथ जाने भएकाले छुट्टै रमाईलो हुन्थ्यो । जानीनजानी घरका ठूला मान्छेसँग कमेरो लगाउन अग्रसर हुने त्यो समय साँच्चै कति रमाईलो थियो । कमेरो छ्याप्दा शरिरभरी छिटा लाग्थ्यो त्यो झन मलाई असाध्यै मन पथ्र्यो । अहिले पनि कमेरो लगाएका घर साह्रै मन पर्छ ।

 

ल्याक्टो चकलेट

 

काठमाडौंबाट अंकलहरु प्राय फुलपातिको दिन घर आउनु हुन्थ्यो, फुलपाति आउँनु २/४ दिन अघिबाटै मनमा उत्सुकता यति हुन्थ्यो कि खुसीले खाना खान र निद्रा समेत लाग्दैन थियो । अंकल घर आउँदा सधैं नयाँ लुगा , फलफुल सहित प्याकेटको प्याकेट ल्याक्टो चकलेट लग्नुहुन्थ्यो र गाउँभरीका सबैलाई बाँढ्न लगाउनु हुन्थ्यो । अंकलले अरुलाई बाँढ्न दिनुभएको चकलेट अलिअलि लुकाउँथे र पछि सम्म खान्थें म । अंकलले ल्याउनु भएको धेरै खाने कुरा मध्ये मलाई सबैभन्दा धेरै ल्याक्टो चकलेट नै मन पथ्र्यो । ल्याक्टो खाएपछि भने मलाई बल्ल दशैं आएजस्तै लाग्थ्यो । त्यति बेलाको ल्याक्टो चकलेट साँच्चै मिठो हुन्थ्यो । तर अहिले बजारमा पाईने कुनै पनि चकलेटले मलाई त्यो बेलाको ल्याक्टो चकलेटको प्यास मेट्न सकेको छैन । अहिले पनि चकलेट भन्ना साथ मलाई त्यो समयको ल्याक्टो चकलेटको याद आउँछ । त्यो ल्याक्टो खान पाए पो चकलेट अरु चकलेट त नाम मात्रका हुन्, यस्तै लाग्छ मलाई ।

 

घरमा सहरबाट आउने आफन्तहरु फुलपातिमा नै आउने र पिङको लठारो पनि सोहि राती बाटिने भएकाले फुलपातिको दिन गाउँमा मेला लागे जस्तै रमाईलो हुन्थ्यो । राती १२/१ बजे सम्म बसेर लठारो बाटिन्थ्यो र बिहान सबै जना जम्मा भएर पिङ हालिन्थ्यो । दशैंमा अर्को मन पर्ने चिज पिङ पनि हो । बाटोमा हिँड्दै गर्दा पिङ देखे अहिले पनि नखेली हिँड्न मन मान्दैन । त्यसैले भ्याए सम्म र सके सम्म दशैंमा पिंग खेल्ने मेरो बानी छ ।

 

तर …….

 

उति बेलाको सिन्धुली जिल्ला हत्पते गा.वि.स वडा नम्बर ८ डाँडाँटोल (अहिले दुधौली नगरपालिका १) हाम्रो गाउँ साँच्चै रमाईलो थियो । गाउँभरी उस्तै उमेरका १२÷१५ जना साथीहरु, हरेक काममा एकजुट हुन्थ्यौं । कति रमाईलो थियो त्यो समय । दशैंमा पिङ हाल्न खर नहुँदा राती राती अरुको बारीमा गएर पनि खर काटिन्थ्यो । साँच्चै भन्नुपर्दा हामी पिङ बाट्न अरुको बारीको खर चोर्ने गर्दथ्यौं । त्यो चोरीमा पनि साँच्चै रमाईलो हुन्थ्यो । खास चाडपर्व मनाउनको लागि चोरेको खरले केहि हुँदैन भनेर हामी अरुको काल्लामा गएर खर काट्ने गथ्र्यौं । प्राय साझा रुपमा पिङ हालिने भएकाले सबैले खेल्न पाउँछन् भनेर पनि हामी पिङ हाल्न मरिहत्ते गथ्र्यौं ।

 

हुन त जिम्मेवारी बढेर पनि हो कि अहिले चाडपर्वमा खासै रमाईलो लाग्दैन । साँच्चै भन्नुपर्दा कुनै चाडपर्व नआएनि हुन्थ्यो झैं लाग्छ । चाडवर्पमा उत्साह र उमंग कुनै छैन । शुन्य लाग्छ सबै , रमाईलो दशैं त बाल्यकालमै थियो

 

हाम्रो परिवार ठूलो थियो । बुबाहरु ५ जना अनि हामी छोराछोरी गरेर १५ जना लगभग दशैंमा एकै ठाउँमा भान्सा गर्दा पिकनिक खाए जस्तै रमाईलो हुन्थ्यो । टिकाको दिन कति बेला टिका लाउँ र पिङ खेल्न जाउँ जस्तो हुन्थ्यो ,तर घरको सानो मान्छेको पालो अन्तिममा आउने भएकाले सरै सकस हुन्थ्यो । हत्तपत्त टिका लाएर कसले धेरै पिङ मच्चाउने भन्ने प्रतिस्पर्धा नै पथ्र्यो । बिस्तारै आफन्तहरु आ–आफ्नै कर्ममा फर्किनु हुन्थ्यो र फेरी अर्को दशैंको आशामा बस्थें म ।

 

तर अहिले……

 

पहिला पहिला दशैंमा कोहि आउनु हुन्छ भनेर आश गर्ने म आज आफै अरुको प्रतिक्षाको बाटो भएकी छु । आफ्ना तमाम सपना पुरा गर्ने अभिलाषाले राजधानीको खाल्टोमा डेरा जमाएको धेरै भयो । थाहा छैन सोचे अनुरुप हुन्छ ÷हुँदैन तर केहि आशा त पक्कै छ । थाहा छैन म सानो हुँदा अंकलहरुले मेरो प्रतिक्षा पुर्ण गर्दिनु भएजस्तै, मैले गर्न सक्छु कि सक्दिन । तर मेरो ठूल्दादाको छोरो (मेरो भदा भाइ) को मुख्य दशैं म मात्र हुँ । अरुको घरतिरै छ, मेरो घर बाहिर ।

 

हरेक पल्टको कुराकानीमा उसले एउटै प्रश्न गर्छ, कदिज्यु हजुर घर कहिले आईसिन्छ ? अनि मेरो सदावहार उत्तर, दशैंमा । तर अंकलहरुले मेरो इच्छा पुरा गर्नु जस्तो मैले मेरो भाइको ईच्छा पुरा गर्न सक्छु कि सक्दिन थाहा छैन । तर अरुले आफ्नो प्रतिक्षा गर्नुभन्दा आफैले त्यो बेला गरेको प्रतिक्षा मिठो लाग्दोरहेछ अहिले ।

 

चाडपर्वले कोरोना संक्रमण वृद्धि होला भन्ने अर्को त्रास पैदा भएको छ । कोरोनाकै कारण हजुरबुवा बित्नु भएको ३ महिना भयो

 

हुन त जिम्मेवारी बढेर पनि हो कि अहिले चाडपर्वमा खासै रमाईलो लाग्दैन । साँच्चै भन्नुपर्दा कुनै चाडपर्व नआएनि हुन्थ्यो झैं लाग्छ । चाडवर्पमा उत्साह र उमंग कुनै छैन । शुन्य लाग्छ सबै , रमाईलो दशैं त बाल्यकालमै थियो ।

 

शून्य छ चौतारी 

 

दशैं तिहारमा गाउँभरीका सबै जम्मा भएर रमाईलो गर्ने चौतारी शुन्य छ अहिले । चौतारी र पाटीहरु शुन्य छन् । कारण दिदिबहिनी सबै बिहे गरेर आ—आफ्नो घरव्यवहार सम्हाल्दै छन् भने दाजुभाईहरु बैदेशिक रोजगारीको लागि विभिन्न देश पुगेका छन् । गाउँघर पुरै शून्य छ । यस्ते रहे मलामी जाने मान्छे नहुने भयो भनेर गाउँमा गुनासो गर्छन् ।

 

त्यससँगै गाउँमा सहरीकरण बढेकाले डाँडाँपाखाका घरहरु सडकको छेउछाउमा सारिए । ५ मिनेट माथिको गाउँ पुरै सुनसान छ, लाग्छ त्यो कुनै विकट जिल्ला हो, तर ५ मिनेट तलको गाउँ पुरै सहर हो । लामो बाटो रमाईलो गर्दै हिँड्ने हामी अहिले ५ मिनेको बाटो पनि बस चढ्छांै । लाग्छ सहरीकरणले पनि गाउँमा शून्यता छाएको छ । भेटहुँदा गफगाफ भन्दा पनि फोन चलाउने प्रचलन बढेको छ । सबै जम्मा भएर खेल्ने लिंगे पिङ हाल्ने मान्छेको अभाव छ ।

 

कोरोना

 

लामो समयदेखीको कोरोना भाइरस संक्रमणको कारण पनि भेटघाट पातलिदैं गएको छ । त्यसकारण चाडपर्व साँच्चै रमाईला छैनन् । कोरोनाले भेटघाट र रमाईलोको दुरी बढाएको छ । आफन्तकोमा जान एकपटक सोच्नै पर्ने अवस्था छ । चाडपर्वले कोरोना संक्रमण वृद्धि होला भन्ने अर्को त्रास पैदा भएको छ । कोरोनाकै कारण हजुरबुवा बित्नु भएको ३ महिना भयो । हजुर बुवाको मृत्युसँगै अब दशैंको बेला अझ भनौं घटस्थापनाको बेला घरमा मालश्री भजनको मिठो स्वर सधैंको लागि हराएको छ ।

 

घुम्ने जाने योजनामा हुनुहुन्छ ? यस्ता छन् ट्राभल एजेन्सीका टूर प्याकेज Read Previous

घुम्ने जाने योजनामा हुनुहुन्छ ? यस्ता छन् ट्राभल एजेन्सीका टूर प्याकेज

दुईजना कर्मचारीले ५ जिल्लाको खाद्य गुणस्तर अनुगमन गर्दै, जनस्वास्थ्य प्रति सरकार उदासिन Read Next

दुईजना कर्मचारीले ५ जिल्लाको खाद्य गुणस्तर अनुगमन गर्दै, जनस्वास्थ्य प्रति सरकार उदासिन