काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडले असोज ११ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो ।
निष्काशन हुने कुल ८ लाख कित्ता सेयरमध्ये १६ हजार कित्ता (२ प्रतिशत) कम्पनीका कर्मचारी र ४० हजार कित्ता कित्ता (५ प्रतिशत) सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीले धितोपत्र बोर्डबाट १२ लाख कित्ता आइपीओ जारी गर्न अनुमति पाएको छ । पहिलो चरणमा यसअघि नै आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थानीयलाई ४ लाख कित्ता आइपीओ जारी गरेको कम्पनीले दोस्रो चरणमा सर्वसाधरणमा ८ लाख कित्ता सेयर जारी गर्न लागेको हो ।
कम्पनीको आइपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा असोज २५ गतेसम्म आवेदन दिने सकिनेछ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, तिनका शाखा कार्यालयका साथै मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ। कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले हाल नुवाकोटमा ४.९९ मेगावाटको तल्लो ताँदी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।