दिगो सीप परियोजनाका लागि स्वीटजरल्याण्डले १ अर्ब ८८ करोड अनुदान दिने

काठमाडौं । स्वीटजरल्याण्ड सरकारले दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (दोस्रो चरण) सञ्चालनका लागि नेपाल सरकारलाई १ अर्ब ८८ करोड अनुदान उपलब्ध गराउने भएको छ ।

 

दोस्रो चरणको परियोजना कार्यान्वयन गर्न आगामी चार वर्षका लागि प्राप्त हुने उक्त रकम प्रदेश नं.१, वाग्मती र लुम्बिनी प्रदेश सरकार तथा ३३ स्थानीय सरकारमार्फत ७० हजार युवायुवतीको पेशागत तालिममा खर्च हुनेछ ।

 

मुलुकका बेरोजगार युवावर्गलाई प्राविधिक तथा व्यावसायिक तालिम प्रदान गर्न स्वीस सरकारबाट अनुदान प्राप्त हुनलागेको अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनिराम शर्माले बताए ।

 

सामाजिक–आर्थिक रुपान्तरणका लागि दक्ष जनशक्तिको विकास अपरिहार्य भएको यथार्थ औँल्याउँदै परियोजनाबाट युवावर्गलाई लाभदायी रोजगारीका अवसर प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गरे ।

 

औद्योगिक प्रशिक्षार्थी तालिम, अल्पकालीन पेशागत तालिम, कामदारको सीप अभिवृद्धि, पेशागत तालिमका निम्ति आवश्यक परामर्श, शैक्षिक क्षेत्र र रोजगारदाताबीच सहकार्य, उद्योग–व्यवसायमा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा प्रणालीसमेत परिसयोजनामार्फत कार्यान्वयन हुने उनले बताए।

 

अनुदान सहयोगसम्बन्धी सम्झौतामा महाशाखा प्रमुख शर्मा र यहाँस्थित स्वीटजरल्याण्डका कार्यबाहक राजदूत सिल्भाना हगले हालै हस्ताक्षर गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

नेपाललाई विश्व बैंकले ५ अर्ब ८७ करोड सहयोग दिने Read Previous

नेपाललाई विश्व बैंकले ५ अर्ब ८७ करोड सहयोग दिने

हिमालयका जहाजमा राखियो 'हार्ट अट्याक' भएमा रोक्ने मेसिन Read Next

हिमालयका जहाजमा राखियो 'हार्ट अट्याक' भएमा रोक्ने मेसिन