सेयर कारोबारमा किन आयो ह्वात्तै गिरावट ?
चाणक्य पोष्ट
प्रकाशित : 3:13 pm, मंगलबार, भदौ २९, २०७८

Advertisement Section

काठमाडौं । सेयर कारोबारमा भारी गिरावट आएको छ । यससाता अघिल्ला दुई दिन ९ अर्ब बढीको कारोबार हुँदै आएकोमा आज घटेर ५ अर्बमा सीमित भएको छ ।दुई महिनापछि कारोबार रकम ५ अर्बमा सीमित भएको हो ।

 

पछिल्ला दिनहरुमा कारोबार रकममा दैनिक गिरावट आइरहेको छ । गतहप्ता औसतमा दैनिक १० अर्ब बढीको कारोबार हुँदै आएकोमा यससाता औसतमा साढे ७ अर्बमा सीमित भएको हो ।

 

पछिल्लो एक महिना यता बजारमा तीव्र उतरचडाव आइरहेकाले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहँदा कारोबार रकममा पनि दैनिक गिरावट आएको आकलन गरिएको छ । बढ्दा ह्वात्तै बढ्ने र घट्दा पनि त्यसैगरी घट्ने गरेकाले लगानीकर्ता थप लगानी गर्न कुरेर बसेको देखिन्छ ।

 

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जामा कडाइ गरेपछि भदौ यता बजारमा गिरावट आइरहेको छ । राष्ट्र बैंकको कदमले साना लगानीकताई प्रभाव नपारे पनि ठूला लगानीकर्ता प्रभावित हुँदा त्यसको असर कारोबारमा देखिएको छ ।

 

यस्तै, पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अभाव चुलिएको छ । बैंकहरुले कर्जा विस्तारमा कडाइ गर्न थालेका छन् । जसले सहजै ऋण पाउन सक्ने अवस्था छैन । बैंकबाट सहजै ऋण पाउन छाडेपछि त्यसको प्रभाव सेयर बजारमा पनि देखिएको लगानीकर्ता बताउँछन् ।साथै, बैंकको ब्याजर समेते बढ्न थालेकाले लगानीकर्ता ऋण लिएर सेयरमा लगानी क्रम घट्न थालेको छ ।

 

एकातिर राष्ट्र बैंकले नै ठूलो रकम सेयर कर्जा लगानी गर्न कडाइ गरेको र अर्कोतर्फ सहजै ऋण समेत पाउन छाडेपछि ठूला र संस्थागत लगानीकर्ताले कारोबार गर्न छाडेका बताइन्छ । ठूला लगानीकर्ता पर्ख र हेरको अवस्था रहँदा कारोबार बढ्न नसकेको जानकारहरु बताउँछन् ।

 

यस्तै, लाभांश घोषणा गर्ने सिजन भए पनि सूचीकृत अधिकांश कम्पनीहरुले गत वर्षको मुनाफाबाट लाभांश घोषणा गर्न ढिलाइ गर्दा बजारमा लगानीकर्ता आकर्षित हुन नसकेको देखिन्छ । यद्यपि, केही कम्पनीले भने लाभांश घोषणा गरिसकेका छन् । सूचीकृत २३० बढी कम्पनीमध्ये हालसम्म करिब डेढ दर्जनले मात्र लाभांश घोषणा गरेका छन् ।

 

सेयर बजार मापक सूचक नेप्से आज १८.५४ अंकले घटेर २९२९.२९ विन्दुमा आइपुगेको छ । आज २२२ कम्पनीको ५ अर्ब १९ करोड ५२ लाख रुपैयाँ बढीको १ करोड ६ लाख ३९ हजार कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । निर्जीवन बीमा समूह सबैभन्दा धेरै २.०४ प्रतिशतले घटेको । यस्तै, विकास बैंक समूह पनि १.१९ प्रतिशतले घटेको छ ।

 

आज कारोबारमा आएका २२२ कम्पनीमध्ये ५९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५२ कम्पनीको मूल्यमा गिरावट आएको छ । ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको २७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, रैराङ हाइड्रोपावर साढे २२ करोड र युनाइटेड मोदी हाइड्रोपावर २२ करोड सहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

 

दोहोरो अंकले घटेको बजारमा आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने सानिमा लाइफ इन्स्योरेन्सका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

 

घट्दो बजारमा आज राष्ट्रिय बीमा कम्पनीका सेयरधनीले भने सबैभन्दा धेरै ५.५६ प्रतिशत गुमाएका छन् ।

Advertisement Section