पछि धकेलिँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, चैत्रसम्म सक्ने लक्ष्य
गीता भुजेल
प्रकाशित : 2:33 pm, आइतबार, भदौ २७, २०७८

Advertisement Section

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माणधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ढिलाइ हुने भएको छ । घर गएका र उपकरण जडान गर्ने  विदेशी दक्ष प्राविधिक कामदार नआउँदा विमानस्थलको काम पर धकेलिने भएको हो ।

 

विगतमा ४०० बढी जनशक्तिले काम गर्ने गरेकोमा हाल १८० चिनियाँसहित करिब ३०० जनशक्तिले मात्र काम गरिरहेका छन् । थप विदेशी जनशक्ति आउन बाँकी नै रहेका छन् ।

 

आयोजना प्रमुख विनेश मुनाकर्मीले नर्वे, अष्ट्रेलिया, थाइल्याण्ड र चीनबाट पा्विधिक जनशक्ति आउन बाँकी रहेको बताए । उनले ती देशहरूमा कोरोनाका कारण हवाई उडान बन्द रहेकाले जनशक्ति ल्याउन नसकिएको बताए ।

 

यस्तै, उनले केही निर्माण सामाग्री समेत आयात हुन बाँकी रहेको जानकारी दिए । उनले पुष महिना भित्र निर्माण सामग्रीहरू सबै आयात भइसक्ने बताए । ‘केही जनशक्ति अझै आउनै बाँकी छन्, तर काम कतै रोकिएको छैन, भएका जनशक्तिबाट हुने काम गरिरहेका छौँ,’ मुनाकर्मीले चाणक्य पोष्टसँग भने ‘केही निर्माण सामग्री आउन बाँकी छ, आउँदो डिसेम्बरसम्ममा सबै निर्माण सामग्री आइसक्ने छ ।’

 

उनले हाल अदक्ष जनशक्तिहरूबाट दैनिक १२ घण्टा काम भइरहेको बताए । दक्ष जनशक्तिहरू आउन बाँकी रहेकाले निर्माण समग्रि आए लगतै दक्ष जनशक्ति समेत ल्याइने उनको भनाइ छ ।

 

अहिले डेकोरेशन, इस्पर्यड, एसी, टर्मिनल, बोर्ड बेड, लगायतका धेरै कामहरू निरन्तर भइरहेको उनले बताए । उनले यही चैत्र मसान्तसम्ममा काम सक्ने गरी काम भइरहेको बताए । उनले ८ जनाका हाराहारीमा मात्र विदेशी दक्ष जनशक्ति ल्याउनु पर्ने भएकाले ढिला भए पनि ल्याएर काम गरिने बताए ।

 

‘८/९ जना दक्ष जनशक्ति आउनु पर्ने हो, निर्माण सामग्री आइपुग्दासम्म उनीहरू आइपुगे भने चैत मसान्तसम्म निर्माण सकिन्छ,’ मुनाकर्मीले भने । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७७ चैत महिनाभित्र सक्ने लक्ष्य रहेको थियो । निर्माण अवधिको ६ महिना अघि सम्पन्न गर्ने भनिएको पोखरा अन्तर्राष्टिय विमानस्थल तोकिएको अवधिमा समेत पूरा हुन नसकेको हो ।

 

अझै १७ प्रतिशत काम बाँकी

 

विमानस्थलको अझै १७ प्रतिशत निर्माण बाँकी रहेको छ । हालसम्म पोखरा अन्तर्राष्ट्रि विमानस्थल अन्तर्गत ८३ प्रतिशत भौतिक निर्माण भइसकेको छ । चालू आर्थिक वर्ष २०७८/७९ को दुई महिना (साउन र भदौ)सम्म लक्ष्यको ४ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।

 

वित्तीयतर्फ ६८.७० प्रतिशत खर्च भइसकेको आयोजना प्रमुख मुनाकर्मीले बताए । उनले हालसम्म निर्माणका क्रममा कुल १६ अर्ब रुपैयाँ खर्च भइसकेको बताएका हुन् ।

 

आर्थिक वर्ष २०७६/७७ मा ६१ प्रतिशत भौतिक प्रगति भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा कोरोनाको दोस्रो लहरका कारण भएको निषेधाज्ञाका कारण ठूलो असर परेको छ । उ्क्त आवसम्ममा कुल ७९ प्रतिशत भौतिक प्रगति भएको थियो । यस अनुसार २०७७/७८ मा कुल १८ प्रतिशत मात्र भौतिक प्रगति भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकले देखाएको छ ।

 

२०७८/७९ असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी म्याद थप भएको छ । तर, आयोजनाले भने आउँदो चैत महिना भित्र निर्माण सक्ने दावी गरेको छ । म्याद थप भए अनुसार हाल निर्माण सम्पन्न गर्न ९ महिना बाँकी रहेको छ ।

 

उड्डयन प्राधिकरणले कोरोनाका कारण निर्माणले गति लिन नसकेको बताउँदै आएको छ । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले कोभिडको दोस्रो लहरका कारण गत आवमा निर्माण कामले गति लिन नसकेको बताए । चालु आवमा दक्ष जनशक्ति अभावका कारण निर्माणले सोचे जस्तो गति नलिएको बताए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चालु आव भित्र सम्पन्न गर्नेगरी काम भइरहेको बताए ।

 

‘निर्माण यही आवभित्र सक्ने गरी काम गरिरहेका छौँ, केही जनशक्ति आउन बाँकी छ, उहाँहरूलाई ल्याउने प्रयास जारी छ, उतैबाट पठाउन नमानेकाले रोकिएको हो,’ क्षेत्रीले चाणक्य पोष्टसँग भने ।

 

आयोजना कुल २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा निर्माण भइरहेको छ । विमानस्थल निर्माण सन् २०२१ जुलाई १० सम्म सक्ने गरी सम्झौता भएको थियो । यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ६ महिना अघि नै सम्पन्न गर्ने लक्ष्य रहेको थियो । हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले भने जति गति लिन सकेको छैन । विमानस्थल निर्माण सन् २०१७ को नोभेम्वर महिनादेखि शुरू भएको हो ।

 

हालसम्म रन वे, ट्याक्सी पार्किङ, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चढ्ने र ओर्लने स्थान), नाला निर्माण, ह्याङगर निर्माण लगायतका काम भइसकेका छन् ।

 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्वायर मिटरमा बन्ने छ । ८ हजार स्क्वायर मिटर अन्तर्राष्ट्रिय उडानका लागि र ६ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि गरी १४ हजार स्क्वायर मिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो । वार्षिक ५ लाख क्षमता भएको टर्मिनल भवन निर्माण गरिँदै छ ।

 

पोखरा विमानस्थलको निर्माण पूरा भएपछि बोइङ ७७५ र एयरबस ३२० वा सो सरहका जहाज आवतजावत गर्न सक्नेछन् । २ हजार ५०० मिटर लामो धावनमार्ग हुने विमानस्थलमा आउनेजाने ती विमानको यात्रु क्षमता १९२ हाराहारीमा रहने छ ।

Advertisement Section