काठमाडौं । सरकारले बिहीबारदेखि लागू हुने गरी तलब भत्ता र पेन्सन बाहेक कुनै पनि शीर्षकमा बजेट निकासामा रोक लगाएको छ ।
महालेखा नियन्त्रक कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश इकाइ कार्यालयहरुलाई पत्र लेख्दै शनिबारसम्म तलब भत्ता र पेन्सन बाहेक बजेट निकासा रोक्न पत्रचार गरेको हो ।
अर्थ मन्त्रालयको निर्देशनमा महालेखाले सूचना जारी गर्दै मातहतका निकायलाई तलब, भत्ता र पेन्सन बाहेक बजेट निकासा नगर्न भनेको हो ।
सरकारले अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट संशोधन गर्न सदनमा प्रतिस्थापन विधेयक दर्ता नगरुञ्जेलसम्मका लागि बजेट निकासामा रोक लगाएको हो ।
शुक्रबार संसदमा प्रतिस्थापन विधेयक दर्ता भएपछि आइतबारबाट भुक्तानी शुरु हुने महालेखाले जनाएको छ । सरकारले भदौ २५ गते संघीय संसद्मा प्रतिस्थापन विधेयक दर्ता गराउने तयारी गरेको छ । सो विधेयक संसद्मा दर्ता भएपछि बजेट कार्यान्वयनमा जाने कार्यालयको भनाइ छ ।
अघिल्लो सरकारले स्रोत सुनिश्चितता बिनै जथाभावी कार्यक्रम राखेको भन्दै वर्तमान सरकारले बजेट संशोधन गर्ने तयारी गरेको हो ।
तत्कालीन खड्गप्रसाद ओली सरकारले गत जेठ १५ गते अध्यादेशबाट चालू आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बजेट ल्याएको थियो । सोमध्ये बुधबारसम्म चालुतर्फ ४० अर्ब ८४ करोड र पूँजीगततर्फ २ अर्ब २७ करोड गरी कुल ४३ अर्ब ११ करोड बजेट खर्च भइसकेको छ ।
