काठमाडौं । सेयर बजारमा सबैभन्दा महँगो सेयर मूल्य भएको कम्पनी युनिलिभर नेपालले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ६५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
सोमबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई प्रतिसेयर ६५० रुपैयाँको दरले नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
यो अघिल्लो आव २०७६/७७ को भन्दा ५५० प्रतिशत धेरै हो । सो आवमा कम्पनीले पछिल्लो १ दशक यताकै कम १०० प्रतिशत नगद लाभांश दिएको थियो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । युनिलिभरले साधारणसभा प्रयोजनका लागि आगामी असोज २५ गते बुकक्लोज मिति तोकेको छ । तसर्थ, असोज २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहने सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।
युनिलिभर नेप्सेमा सूचीकृत कम्पनीमध्ये सबैभन्दा महँगो सेयर मूल्य भएको कम्पनी हो । आज यसको सेयर प्रतिकित्ता १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।