काठमाडौं । बाहिरी चक्रपथ निर्माणको पहिलो चरणको काम चोभार-सतुङ्गल सडक खण्ड खोल्ने काम अझै ढिलाइ हुने भएको छ । डीपीआर बनेर तयारी अवस्थामा रहे पनि फाइल मन्त्रिपरिषदमा रोकिँदा चोभार-सतुङ्गल निर्माणको तयारीले गति लिन नसकेको हो ।
काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रशासकीय अधिकृत सुभाषचन्द्र अर्यालले मन्त्रिपरिषद्(क्याबिनेट)मा फाइल रोकिएका कारण स्वीकृत नभई अघि बढाउन नसकिने बताए । उनले क्याबिनेटको निर्णय पछि थप प्रक्रिया अघि बढाइने बताए ।
बाहिरी चक्रपथको डीपीआर २०६४ सालमा निर्माण भएको थियो । डीपीआर बनेको १४ वर्ष भइसकेको छ । यती लामो समयसम्म कुनै प्रकृया अघि नबढ्दा डीपीआर डिजाइन भएका स्थानहरु घरले ढाकिएका छन् ।
‘पहिलो चरणमा नमूनाका रुपमा चोभार–सतुङ्गल खण्ड खोल्न, हामीले क्याबिनेटमा फाइल पठाएका छौँ, त्यहाँबाट निर्णय भएर, आयोजना स्वीकृत भएपछि अन्य कामका प्रकृया अघि बढाउने छौँ,’ अर्यालले चाणक्य पोष्टसँग भने ।
क्याबिनेटबाट आयोजना स्वीकृतपछि जग्गा प्राप्तिका लागि ल्याण्ड पुलिङ, घर भत्काउने र डोजर चलाएर ट्रायक खोल्न काम अघि बढाइने उनको भनाइ छ । डीपीआर अनुसार उक्त खण्डमा १२६ घरहरु सडकखण्डमा परेका छन् । सो घरहरु भत्काउने अथवा अलायनमेन्ट (घर भएका बाटोलाई मोडेर खाली जमिनबाट लाने प्रकृया) गरेर जाने अझै छलफल हुन बाँकी रहेको उनले बताए ।
चोभार–सतुङ्गलमा सडक विस्तारका क्रममा जग्गाधनीको ७ देखि ९ प्रतिशत जमिन सडकमा पर्ने देखिएको छ । उनले जस्तो अवस्था आए पनि चोभार–सतुङ्गल खण्ड निर्माण गरेरै छाड्ने दाबी गरे । ‘अहिलेसम्म डीपीआर मात्र भएको छ, त्यहाँ पर्ने घरहरु भत्काएर जाने कि अलायन्मेन्ट गर्ने अझै निर्णय भएको छैन, काम शुरु हुन अझै एक/डेढ वर्ष समय लाग्ला तर, हामी चोभार–सतुङ्गल खण्ड खोलेरै छाड्छौं,’ अर्यालले भने ।
उनले मुख्य संरचनालाई कुनै फरक नपर्ने गरी अलायनमेन्ट परिवर्तन गरेर भए पनि बाहिरी चक्रपथको पहिलो खण्ड चोभार–सतुङ्गल खुलाएरै छाड्ने बताए । हाल बाहिरी चक्रपथका सबै खण्ड बन्ने नबन्ने तिर भन्दा चोभार–सतुङ्गलतर्फ मात्र प्राधिकरणको ध्यान केन्द्रित रहेको उनले बताए ।
‘हामीले यो चोभार–सतुङ्गल खण्ड निर्माण गरेउँ भने, अन्य खण्डका जनता आफैं हाम्रोमा पनि यस्तै गरी सडक निर्माण गर्नु पर्यो भन्दै आउनु हुनेछ,’ प्रशासकीय अधिकृत अर्यालले भने ‘हामीले अहिले जुन मोडालिटिमा यो सडक बनाउन खोज्दै छौँ, त्यो मोडालिटीमा जनता आफैं सडक बनाउन आउनु भन्ने अवस्थामा आउने छ ।’
डीपीआर बनेको १४ वर्षमा पनि बनेन
बाहिरी चक्रपथको डीपीआर २०६४ सालमा निर्माण भएको थियो । डीपीआर बनेको १४ वर्ष भइसकेको छ । यती लामो समयसम्म कुनै प्रकृया अघि नबढ्दा डीपीआर डिजाइन भएका स्थानहरु घरले ढाकिएका छन् । उपत्यका विकास प्राधिकरणले बाहिरी चक्रपथ निर्माणका लागि डीपीआर ‘ अलायन्मेन्ट रिभाइज’ गर्नु पर्ने जनाएको छ । हालसम्म यसका लागि कुनै प्रकृया भने शुरु गरिएको छैन ।
यस्तै अघि सरकारले सतुङ्गलदेखि चोभारसम्म धेरै वस्ती नभएकाले बाहिरी चक्रपथ निर्माणको पहिलो चरणमा सोही सडक निर्माण गर्ने योजना बनाएको थियो । सो प्रस्ताव मन्त्रिपरिषदमा रोकिएको छ । मन्त्रिपरिषदले स्वीकृत नभएसम्म कुनै प्रकृया शुरु गर्न नमिल्ने अवस्था सृजना भएको हो ।
३ वर्ष अघि चिनियाँ राष्ट्रपति सि चिन फिन नेपाल भ्रमणमा आएका बेला बाहिरी चक्रपथको विषयले केही गति लिएको थियो । सो समय बाहिरी चक्रपथको डीपीआर क्याबिनेटमा पठाइएको थियो ।

बाहिरी चक्रपथ निर्माणको शुरुआत गर्ने भनेर प्राधिकरणले ७ किलोमिटर चोभार–सतुङ्गल खण्डमा सडक निर्माणका लागि क्याबीनेटमा प्रकृया अघि बढाएको छ । दशक अघिदेखि निर्माण गरिने भनिएको बाहिरी चक्रपथ निर्माणमा हालसम्म कुनै आधिकारीक निर्णय नआएको अन्योलमा परेको हो ।
प्राधिकरणले डीपीआर निकै पहिले बनेको हुँदा घना वस्ती भएका ठाउँलाई छोडेर सम्भव भएको स्थानबाट निर्माण शुरु गर्ने जनाएको छ । विगतमा बनेको डीपीआरलाई परिवर्तन गर्न छुट्टै मास्टर प्लानको तयारी गर्नु पर्ने भनिए पनि केही काम हुन सकेको थिएन ।विगतमा संसद विघटन, चुनाव, निषेधाज्ञ लगायतका विभिन्न अवरोधका कारणसतुङ्गल–चोभार खण्ड निर्माणले समेत गति लिन सकेको छैन ।
पछि हट्दै चिनियाँ कम्पनी
यस अघि चिनियाँ कम्पनीले ईएफसी मोडलमा बाहिरी चक्रपथ निर्माण गर्ने योजना बनाएको थियो । नेपालमा ईएफसी मोडलमा कुनै पूर्वाधार निर्माण नभएकाले यसमा नेपाल सरकारले असमर्थन जनाएको हो । ईएफसी मोडलमा बनाउन नेपाल सरकारले असमर्थन जनाएपछि चिनियाँ कम्पनीले यसमा रुची नदेखाएको जनाइएको छ ।
यस्तै चिनियाँ कम्पनीले समेत मोडालिटीमा परिवर्तन माग गरेका थिए । केही ठाउँमा घरभएका ठाउँलाई छाडेर माथिबाट लानेगरी बनाउनु पर्ने देखिन्छ ।
२०७५ चैत्र १५ र १६ गते भएको लगानी सम्मेलन भएको थियो । सो सम्मेलनमा चिनियाँ कम्पनी ‘चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनी’ ले निर्माण गर्छु भन्दै प्रस्ताव हालेको थियो । बाहिरी चक्रपथ निर्माण गर्न चीनका चार वटा कम्पनीले आशयपत्र दिएका थिए । लगानी बोर्डले तीमध्ये तोकेको मापदण्ड पूरा गरेको चाइना कम्युनिकेसन कन्स्ट्रक्सन सर्ट लिस्टमा सूचीकृत गरेको थियो ।
बाहिरी चक्रपथलाई ९ वटा सेक्टरमा छुट्याइएको छ । चिनियाँ कम्पनीले ६९ किलोमिटरमा बन्ने गरी डीपीआर तयार पारेको थियो । जसमा केही टनेलहरु बनाउन समेत माग गरिएको थियो । चिनियाँ डिजाइनमा बाहिरी चक्रपथ बनाउन निकै महंगो पर्ने नेपाल सरकारको बुझाइ रहेको छ ।
२०७६ देखि नै लगानी बोर्डले उक्त कम्पनीलाई प्रस्ताव पेशका लागि आरएफपी माग गर्ने तयारी गरिरहेको थियो । २०७६/७७ मा चिनियाँ कम्पनी ‘चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनी’ लाई ‘रिपोर्ट फर प्रोजेक्ट’ (आरएफपी) दिने तयारी भइरहेको थियो । तर, आफ्नो डिजाइन अनुसार बनाउन नेपाल सरकारले नमानेपछि चिनियाँ कम्पनी पछि सरेको हो ।
घना बस्ती बाधक बन्दै
भक्तपुर र ललितपुरमा खुल्ला जमिन भए पनि काठमाडौं भित्र सहरी विकास उच्च हुँदा बाहिरी चक्रपथले गति नपाएको हो । केही ठाउँमा घना बस्ती बनेका छन् त्यसलाई केही मिटर पछाडिबाट रियलाइमेन्ट गरेर गर्न सकिने इन्जिनीयरहरु बताउँछन् ।
नागर्जुन, रानीबनमा धेरै बाक्लो वस्ती छ । बाहिरी चक्रपथको मोडालीटी अनुसार ५० मिटर बाटो हुनुपर्छ । दायाँबाँया २५०/२५० मिटर ल्याण्ड पुलिङ गर्ने योजना रहेको थियो । बाक्लो वस्तीमा ५०० मिटर जमिन लिन गाह्रो छ । यो मोडालीटी परिवर्तन बाहिरी चक्रपथको आवश्यक्ता बनेको छ ।
सहरी विकास बढेकाले मुआब्जा दिन सक्ने अवस्था छैन । एउटा जमिनको मूल्य ३०/४० लाख रुपैयाँ प्रतिआना रहेको छ । यस अनुसार मुआब्जा बाडेर बाहिरी चक्रपथ निर्माण असंभव बनेको हो ।
बाहिरी चक्रपथ अन्तर्गत १०/१२ किलोमिटर क्षेत्रमा बस्ती बढेको प्राधिकरणले जनाएको छ । भूकम्प पछि बाहिरी चक्रपथ बन्ने क्षेत्रमा बस्ती बढ्दै गएका हुन् । ‘काठमाडौंमा धेरै वस्ती भएकाले समस्या भएको हो । केही स्थानमा नेशनल पार्क आएको छ, त्यसमा टनेल बनायो भने धेरै सजिलै निर्माण गर्न सकिन्छ,’ एक इन्जिनीयरले भने ।
डीपीआर रिभाइज गर्न १ वर्ष लाग्ने छ । डीपीआर कसरी रिभिजन गर्न सकिन्छ र कुन ठाउँमा परिवर्तन गर्न सकिन्छ भनेर अध्ययन गरिरहेको प्राधिकरणका एक अधिकारीले बताए । बाहिरी चक्रपथ अन्तर्गत चोभार–सतुङ्गलको बाटो खुल्ला गरे केही समस्या समाधान हुने अनुमान गरिएको छ ।
६.६ किलोमिटर लम्बाई रहेको चोभार–सतुङ्गलतर्फ बाटो खुल्ला गर्न सके अन्य क्षेत्रमा पनि विस्तारै बाटो विस्तार गर्दै खुलाउन सक्ने उपत्यका विकास प्राधिकरणले जनाएको छ ।
बाहिरी चक्रपथका लागि आर्थिक वर्ष २०७६/७७ मा सरकारले २ करोड बजेट छुट्याएको थियो । उक्त बजेट देखाउनका लागि मात्र राखिएको जस्तो भएको छ ।बाहिरी चक्रपथलाई ९ वटा सेक्टरमा छुट्याइएको छ । चिनियाँ कम्पनीले ६९ किलोमिटरमा बन्ने गरी डीपीआर तयार पारेको थियो । जसमा केही टनेलहरु बनाउन समेत माग गरिएको थियो । चिनियाँ डिजाइनमा बाहिरी चक्रपथ बनाउन निकै महंगो पर्ने नेपाल सरकारको बुझाइ रहेको छ ।
नेपाल सरकारले बाहिरी चक्रपथ ७२ किलोमिटरको चौडाइमा बनाउने भनेको थियो । बाहिरी चक्रपथको निमार्ण लागत १ खर्ब ८३ अर्ब १ करोड रुपैयाँ अनुमान गरिएको छ ।
बाहिरी चक्रपथ निर्माणका लागि आर्थिक वर्ष २०५६/५७ मा नै नेपिकोन भन्ने संस्थाले पूर्व सम्भाव्यता अध्ययन गरेको थियो । आर्थिक वर्ष २०६१/६२ को बजेट वक्तव्यमा ‘व्यवस्थित जग्गा एकीकरणका आधारमा काठमाडौँ उपत्यकामा बाहिरी चक्रपथको निर्माण कार्य आर्थिक वर्ष २०६१/६२ देखि नै प्रारम्भ गरिने छ’ भनी बजेट भाषणमार्फत घोषणा भएको थियो । त्यसपछि यससम्बन्धी कार्य प्रारम्भ भएको हो । यसअघि उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न २०५० सालमा सरकारद्वारा गरिएको अध्ययनले बाहिरी चक्रपथको आवश्यकता औँल्याइएको थियो ।