विद्यार्थी विद्यालय नै नगई शुल्क तिर्न बाध्य, अनलाइन कक्षा भएन प्रभावकारी

काठमाडौं । काठमाडौंको  सरस्वतीनगरस्थित  एपेक्स लाइफ स्कुलमा कक्षा ४ मा अध्ययनरत उत्कृष्ट घिमिरेले विद्यालयको मुख नदेखेको १ वर्ष बढी भयो । उनले गत वर्षको साउन यता घरबाटै अनलाइन क्लास लिँदै आएका छन् । विद्यालय नगए पनि आफूले अनलाइन कक्षाको लागि मासिक शुल्कको आधा बढी फी तिर्दै आएको उनकी आमा भगवती घिमिरेले बताइन् ।

 

यस्तै, कपनको रिलायन्स इन्टरनेशनल स्कुलमा कक्षा ६मा पढ्ने आफ्नो छोराको अनलाइन कक्षाको फी पूरै तिर्दै आएको अभिभावक लक्ष्मी लुइँटेलले बताउँछिन् । ‘ सरकारले अनलाइन कक्षाको फी आधा मात्र लिनु भनेको छ । तर, मैले सधैं झै पूरै फी तिर्दै आएको छु,स्कुलले पूरै फि लिने गरेको छ, ‘ उनले भनिन् ।

 

यी त केही प्रतिनिधि पात्र मात्र हुन् । विग डेढ वर्षदेखि कोरोनाका कारण विद्यालय तथा कलेजहरू बन्द छन् । विद्यार्थीहरू विद्यालय नगई अनलाइनबाटै कक्षा लिँदै आएका छन् । तर, उनीहरू विद्यालयमै नटेकी पूरै शुल्क तिर्न बाध्य छन् । अहिले अधिकांश निजी विद्यालयहरूले पूरै शुल्क लिने गरेका छन् भने नगन्य मात्रमा केहीले आधा शुल्क लिने गरेका छन् ।

 

यसले एकातिर विद्यार्थीहरू विद्यालय नै नगई शुल्क तिर्न बाध्य भएका छन् भने अर्कातिर अनलाइन कक्षा प्रभावकारी भएको देखिँदैन । जसको भारमा देशभरका विद्यार्थी तथा अभिभावक परेका छन् । कोरोनाले अधिकांश अभिभावको आम्दानी घटे पनि विद्यालयहरूले कुनै सहुलियत भने दिएका छैनन् ।

 

यता, विद्यालय संचालकहरूले भने अनलाइन पढाए पनि शिक्षक तथा कर्मचारीहरूको तलब, भाडा तिर्नु पर्ने भएकाले आफूहरूले शुल्क लिनु बाध्यता रहेको बताउँछन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याबसन)का अध्यक्ष टिकाराम पुरीले विद्यार्थी पढाई सकेपछि शुल्क नलिने भन्ने कुरा नभएको बताउँछन ।

 

‘अनलाइनमा जोडिएपछि कर्मचारीलाई तलब दिनुपर्छ , घर भाडा तिर्नुपर्छ, बैंकको ब्याज तिर्नुपर्छ । स्कुल चल्ने भनेकै विद्यार्थीबाट शुल्क लिएर हो,’ उनले चाणक्य पोष्टसँग भने, ‘त्यसैले स्कुलले आफ्नो अवस्था अनुसार कुनैले आधा लिए होलान, कुनैले पूरै लिएका छन् । सामुदायीक विद्यालयले त शुल्क लिएको अवस्था छ निजीले नलिइ पढाउन सम्भव नहुने उनको भनाइ छ ।

 

प्याकसनका पूर्व अध्यक्ष विष्णु पराजुलीले लकडाउनले स्कुल संचालन गर्न नपाएपछि धेरै स्कुलको आर्थिक अवस्था कमजोर भएको बताउँछन् । कर्मचारीलाई तलव खुवाउन धेरै स्कुलले सहकारी तथा बैंकबाट लोन लिएको चल्नु परेको उनले जानकारी दिए ।

 

प्रभावकारी भएन अनलाइन कक्षा

 

कोरोनाको कारण लामो समय सम्म शैक्षिक संस्था बन्द भए । लामो समय सम्म शैक्षिक संस्था नखुलेपछि पठनपाठनलाई नियमितता दिन सरकारले नै शैक्षिक संस्थाहरूलाई अनलाइन माध्यमबाट पठनपाठन गर्न अनुमति दिएको थियो । तर अनलाइन कक्षा सोचे अनुरुप प्रभावकारी भएको भने देखिँदैन ।

 

इन्टनेटको पहुँचभन्दा बाहिर रहेका विद्यार्थीहरूले अनलाइन कक्षा लिन पाएन्न । ‘पढाई नै नहुनु भन्दा अनलाइन कक्षा संचालन हुनु राम्रो पक्ष हो, तर सबै विद्यार्थीहरूको पहुँचमा नभएको कारण अनलाइन कक्षा सोचे जस्तो प्रभावकारी भएन,’ पराजुलीले भने ।

 

यता अध्यक्ष पुरीको भनाइ पनि उस्तै छ । ‘शिक्षण सिकाइ भौतिक उपस्थितिमा हुनु भन्दा राम्रो हो तर पढाई नै बन्द हुनुभन्दा अनलाइन कक्षाले इन्टरनेटको पहुँमा भएका विद्यार्थीको लागि राम्रो भयो, तर शिक्षाको मोडालिटि अनलाइन कक्षा होइन , ३० प्रतिशत पनि विद्यार्थीहरू अनलाइनमा जोडिएका छैन्न,’ अध्यक्ष पुरीले भने ।

 

विद्यार्थी भर्ना दर घट्यो

 

कोरोनाको कारण अघिल्ला वर्षको तुलनामा चालु वर्षमा स्कुलमा विद्यार्थी भर्नादरमा कमी आएको छ । कोरोना संक्रमण दर वृद्धि भएसँगै सरकारले गरेको लकडाउन अनिश्चित भएकाले पनि थियो । गाउँ गएका विद्यार्थीहरू आएनन् ।

 

त्यसो त वैशाखदेखि नयाँ शैक्षिक सत्र समेत शुरू हुने भएकाले भर्ना गर्नसहज हुने भएकाले धेरै विद्यार्थीहरू आफ्नै गाउँ घरमा भर्ना गरेको हुन सक्ने प्याबसनको ठहर छ । कोरोना संक्रमण दर वृद्धि र लकडाउनकै कारण यो वर्ष ६० प्रतिशत मात्र विद्यार्थी भर्ना भएको प्याबसनको ठहर छ ।

 

आर्थिक गतिविधि सबै बन्द भएपछि गाउँ फर्किनु सामान्य मान्दै पुरीले गाउँ गएका विद्यार्थीहरू उतै पढ्न थालेको बताउँछन् । उनका अनुसार प्याबसनमा साना ठूला गरेर साढे सात हजार निजी विद्यालयहरूले पठनपाठन गराइरहेका छन् । जसको लागि ४५० करोड लगानी गरिएको छ ।

 

आगामी हप्तदेखि विद्यालय संचालनमा आउने

 

कोरोना र लकडाउनको कारण लामो समयदेखि बन्द रहेका काठमाडौं उपत्यका भित्रका विद्यालयहरू आगामी हप्ताबाट संचालनमा आउँने भएका छन् ।

 

जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको आदेशमा भौतिक उपस्थितिमा पठन पाठन सञ्चालन गर्ने भए स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरूले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरू सञ्चालनको निर्णय गर्न सक्ने भनेको थियो । सोही अनुरुप विद्यालयहरू खुल्न लागेका हुन् ।

 

प्याबसन अध्यक्ष पुरीले लामो समयदेखि बन्द रहेका विद्यालयहरू खोलिनु आफैमा सकारात्मक पक्ष भएको बताउँदै विद्यार्थीको लागि छिट्टै खोपको व्यवस्था हुनु पर्ने बताएका छन् । ‘कक्षा १२ मा पढ्ने विद्यार्थीको खोजको व्यवस्था भएको छ त्यसैगरी, स्कुल पढ्ने सबै उमेरका विद्यार्थीको लागि पनि खोपको व्यवस्था गर्नुपर्छ, सुरक्षाको प्रावधान भित्र रही स्कुल खोल्न हामी तयारी छा्रैं,’ उनले भने ।

 

यस्तै, पूर्व अध्यक्ष पराजुलीले देशको आर्थिक र शैक्षिक क्षेत्रमा कोरोनाले अतुलनिय क्षेती पूर्याएको बताउँदै सुरक्षाको मामदण्ड पालना गरेर विद्यालय खोलिनु सकारात्मक पक्ष रहेको बताएका छन् । ‘लामो समय बन्द रहेका विद्यालय संचालनमा आउनु भनेको सकारात्मक पक्ष हो, तर विद्यार्थीको लागि छिट्टै अनिवार्य खोपको व्यवस्था हुनुपर्छ अब पनि विद्यालय बन्द गरेर बस्न सक्ने अवस्था छैन, विद्यार्थीको भविष्यको पनि त ख्याल गर्नुपर्छ,’ पराजुलिले चाणक्य पोष्टसँग भने ।

 

स्मार्ट–लकडाउन कार्यविधि अनुसार काठमाडौंको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले विद्यालय खोल्न सक्ने भनेपछि काठमाडौं महानगरले आगममी हप्ताबाट काठमाडौं महानगर भित्रका विद्यालयहरू खोल्ने तयारी थालेको छ ।

 

सानिमा बैंकको नारी बचत खाता योजना : विभिन्न सेवामा ७५ प्रतिशतसम्म छुट, रू. ५०० क्यासब्याक Read Previous

सानिमा बैंकको नारी बचत खाता योजना : विभिन्न सेवामा ७५ प्रतिशतसम्म छुट, रू. ५०० क्यासब्याक

अर्घाखाँची सिमेन्ट अब ४३ ग्रेडमा, अर्को वर्ष आइपीओ ल्याउने Read Next

अर्घाखाँची सिमेन्ट अब ४३ ग्रेडमा, अर्को वर्ष आइपीओ ल्याउने