सेयर कारोबारले बनायो नयाँ रेकर्ड, एकैदिन साढे २१ अर्बको किनबेच, किन आयो उछाल ?

काठमाडौं । आज सेयर बजारमा तीव्र उतरचढाव आएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको प्रभाव पर्दा बजारमा तीव्र उतरचढाव देखिएको हो ।

 

बजार खुल्नसाथै ४० अंकले घटेको बजार एकैछिनमा ७ अंकले बढेको थियो । त्यसपछि निरन्तर ओरोलो लागेको बजार ७५ अंकसम्म घटेर अन्त्यमा २४ अंकले घटेर बन्द भएको छ । बैंकिङ, माइक्रोफाइनान्स समूह सम्हालिए पनि जलविद्युत्, फाइनान्स र विकास बैंक समूहको सेयरमा पहिरो गएको छ ।

 

राष्ट बैंकले सेयर कर्जाको सीमा तोक्दै कडाइ गरेपछि ठूला खेलाडी प्रभावित हुँदा तीव्र उतरचढाव आएको हो । एक व्यक्तिले अधिकतम् एउटा बैंकबाट ४ करोड र सबैसंस्थाबाट गरी १२ करोडभन्दा बढी ऋण लिन नपाउने व्यवस्था गरेको छ । यसले साना लगानीकर्तालाई असर नगरे पनि ठूला खेलाडीलाई भने प्रत्यक्ष असर गर्ने देखिन्छ ।

 

दिनभर उतरचढाव आएको बजारमा कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको छ । आज एकैदिन साढे २१ अर्ब बढीको कारोबार हुँदै सर्वाधिक कारोबारको रेकर्ड बनेको छ । यो नेपाली सेयर बजारमा इतिहासमै एकैदिन भएको सर्वाधिक कारोबार हो । यसअघि गत जेठ ३१ गते सर्वाधिक १९ अर्ब ७० करोडको कारोबार भएको थियो ।

 

ठूलो अंकले बजार घट्दा लगानीकर्ता आँत्तिएर सेयर बेच्दा र घटेको मौकामा सेयर उठाउने हाबी हुँदा कारोबार रकमले नयाँ रेकर्ड बनाएको हो ।

 

आज सेयर बजार मापक सूचक नेप्से २४.५७ अंकले घटेर ३१५४.०८ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२२ कम्पनीको २१ अर्ब ६४ करोड ७६ लाख ६५५ रुपैयाँ बराबरको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ३ समूहको परिसूचकमा हरियाली छाएको छ १० समूहको परिसूचक राताम्मे भएका छन् । उत्पादनमूलक समूह सबैभन्दा धेरै २.३५ अंकले बढेको छ भने हाइड्रोपावर समूह ४.१३ अंकले घटेको छ । यस्तै, विकास बैंक र फाइनान्स समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

आज कारोबारमा आएका २२२ कम्पनीमध्ये जम्म ६५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ कम्पनीको मूल्यमा गिरावट आएको छ । ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको एकैदिन १ अर्ब ५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा हिमालयन डिस्टीलरी ७९ करोड र अपी पावर ७० करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

 

दोहोरो अंकले घटेको बजारमा पनि आज ४ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । युनियन लाइफ इन्स्योरेन्स, जीवन विकास लघुवित्त र खानीखोला हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । यस्तै, आइसीएफसी फाइनान्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

घट्दो बजारमा आज एनआइबील प्रगति फन्ड र रिडी हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै ८.५ प्रतिशत गुमाएका छन् ।

सेयर लगानीकर्तालाई अर्थमन्त्रीको आश्वासन, बजार घटाउने गतिविधि हुन दिँदैनौं Read Previous

सेयर लगानीकर्तालाई अर्थमन्त्रीको आश्वासन, बजार घटाउने गतिविधि हुन दिँदैनौं

नेपाली टेलिभिजन इतिहासमै पहिलो पटक डिशहोमले ला लिगा प्रशारण गर्दै Read Next

नेपाली टेलिभिजन इतिहासमै पहिलो पटक डिशहोमले ला लिगा प्रशारण गर्दै