माथिल्लो तामाकोशीको घाटा घट्दै, यस्तो छ वित्तीय अवस्था
चाणक्य पोष्ट
प्रकाशित : 9:49 am, आइतबार, साउन ३१, २०७८

Advertisement Section

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको नोक्शानी घट्दै गएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण अनुसार ४ करोड १६ लाख रुपैयाँ नोक्सानी रहेको छ ।

 

यो अघिल्लो आवको सोही अवधिको तुलनामा करिब ४ गुणाले कम हो । अघिल्लो वर्षको असार मसान्तसम्म कम्पनीको नोक्शानी १५ करोड ४० लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीले अन्य स्रोतमार्फत १ लाख १६ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ ।

 

हाल १० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ ८३ करोड २३ लाख रुपैयाँ ऋणात्मक छ । समीक्षा अवधिसम्म कम्पनीको ४० अर्ब ५ करोड रुपैयाँ दीर्घकालीन र ३ अर्ब ८० करोड अल्पकालीन ऋण रहेको छ ।

 

अघिल्लो वर्ष ३९ पैसा ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर आम्दानी गत वर्ष ३३ पैसा ऋणात्मक छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ९२.१४ रुपैयाँ, प्रतिसेयर मूल्य सम्पत्ति ८२६.६० रुपैयाँ छ ।

 

कम्पनीले दोलखामा ४५६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरी संचालनमा ल्याइसकेको छ ।

 

तामाकोशीबाट उत्पादित बिजुली असार २१ गतेबाट राष्ट्रिय विद्युत प्रणालीमा जोडिसकिएको छ । आयोजनामा जडित ७६/७६ मेगावटका ६ यूनिटहरु मध्ये साउन २८ गतेसम्म ४ वटा यूनिटबाट विद्युत उत्पादन शुरु भइ पाँचौं यूनिटबाट परीक्षण उत्पादन शुरु भइसकेको छ ।
भदौ महिनाभित्र ६ वटै यूनिटबाट विद्युतको व्यापारिक उत्पादक शुरु गर्ने लक्ष्यका साथ अन्तिम चरणमा कामहरु भइरहेको कम्पनीले जनाएको छ ।

Advertisement Section