काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । आज बिहान ११ बजे विक्री प्रबन्धक प्रभु क्यापिटलमा कम्पनीको आइपीओ बाँडफाँट भएको हो ।
क्यापिटलका अनुसार गोलाप्रथाबाट भाग्यमानी ५ लाख ४० हजार जनाले १० कित्ताका दरले सेयर पाएका छन् भने १७ लाख ६८ हजार १२२ जनाको हात रित्तो भएको छ ।
कम्पनीले साउन २० गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।
जसमा कुल २४ लाख १९ हजार ८४८ जनाले आवेदन दिएक थिए । सोमध्ये रीत नपुगेका १ लाख ६ हजार २९२ आवेदन रद्द भएका छन् भने सदर भएका २३ लाख ८ हजार १२२ जनालाई गोलाप्रथामा समावेश गरिएको थियो ।
सानिमाको आइपीओमा परेको आवेदन हालसम्म कुनै पनि आइपीओमा परेको सबैभन्दा धेरै आवेदन हो । यसअघि जीवन विकास लघुवित्तको आइपीओमा २१ लाख बढीले आवेदन दिएका थिए ।
हाल १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ जारी पछि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
कहाँबाट हेर्ने रिजल्ट ?
कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।
यसैगरी, विक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र सानिमा लाइफ इन्स्योरेन्सको वेबसाइटबाट पनि नतिजा हेर्न पाइनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।