काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा लगातार ११ औं दिन पोजेटिभ सर्किट लागेको छ । साउन १४ गतेदेखि कारोबारमा आएको लघुवित्तको त्यसयता सेयर मूल्य दैनिक १० प्रतिशतले बढ्दै आएको हो ।
९१४ रुपैयाँमा पहिलो कारोबार खुलेको कम्पनीको सेयर मूल्य ११ कारोबार दिनमा बढेर २४२५ रुपैयाँ पुगेको छ । ११ दिनमा लघुवित्तको सेयर भाउ प्रतिकित्ता १५११ रुपैयाँ बढेको छ ।
कारोबारमा आएको दुई साता बिते पनि लघुवित्तको सेयर आपूर्ति अत्यन्त न्यून रहेको छ । नेप्सेमा सर्वसाधरणतर्फको २० लाख कित्ता सेयर सूचीकृत भए पनि बलियो कम्पनी रहेकाले भाउ निकै माथि जाने आशामा सेयर विक्रीमा ल्याएका छैनन् ।
तुलनात्मक रुपमा निकै बलियो देखिएको लघुवित्तले गत वर्षके असार मसान्तसम्म ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
हाल ६० करोड ८४ करोड चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ३० करोड संचित रहेको छ ।समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ११३.३४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ३१५.२२ रुपैयाँ रहेको छ ।
लघुवित्तले हाल देशका १९ वटा जिल्लाका १३८ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ । लघुवित्तले गत वर्ष एकैसाथ सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको थियो ।