काठमाडौं । हाइड्रोपावर कम्पनीहरुको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । हिजो फाइनान्स र विकास बैंकको सेयरमा झुम्मिएका लगानीकर्ता आज हाइड्रोपावरमा सिफ्ट भएका हुन् ।
बैंक र विकास बैंकको सेयरमा गिरावट आए पनि हाइड्रोपावरको सेयरमा चमक आउँदा नेप्सेले आज पनि नयाँ कीर्तिमान बनाएको छ । आज नेप्सेले ३१६२ विन्दु चुम्दै इतिहासकै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको हो । यसअघि मंगलबार मात्रै नेप्सेले इतिहासकै सर्वाधिक ३१६१ विन्दुको रेकर्ड बनाएको थियो ।
सूचकले नयाँ रेकर्ड बनाएको दिन कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब साढे २ अर्बले घटेर साढे १५ अर्बमा सीमित भएको छ ।
आज सेयर बजार मापक सूचक नेप्से ०.९४ अंकले बढेर ३१६२.५९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २३० कम्पनीको १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५४ रुपैयाँ बराबरको २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचकमा हरियाली छाएको छ ८ समूहको परिसूचक राताम्मे भएका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै ३.९२ प्रतिशतले बढेको छ भने व्यापार समूह १.२५ प्रतिशतले घटेको छ ।
आज कारोबारमा आएका २३० कम्पनीमध्ये ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १३० कम्पनीको मूल्यमा गिरावट आएको छ । १५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज पनि माथिल्लो तामाकोशीकोे सर्वाधिक कारोबार भएको छ । यसको ६८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अरुण भ्याली ५७ करोड र अरुण काबेली ५६ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।
झिनो अंकले बढेको बजारमा आज ८ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । आइसीएफसी फाइनान्स, रिडी हाइड्रोपावर, रुरु जलविद्युत्, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
यसैगरी, अरुण काबेली, नेशनल हाइड्रो डेभलपर र एनआरएन इन्फ्रस्टक्चरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् भने रैराङ हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज जानकी फाइनान्सका लगानीकर्ताले भने सबैभन्दा धेरै ४.१७ प्रतिशत गुमाएका छन् ।