के जुत्ताको प्रविधिले म्याराथनको स्वर्ण पदक जित्न सघाउँछ ?

काठमाडौं । सम्भवतः अरू प्रतिस्पर्धाभन्दा म्याराथनले ओलिम्पिक्सको मर्मलाई दर्शाउने गर्छ जसमा स्वर्ण पदकका लागि ४२.२ किलोमिटर दूरीको दौडमा धावकधाविकाले कठिन परिश्रम गर्छन्।

 

तर दौडमा प्रयोग हुने प्रविधिहरू दिनानुदिन विकसित भइरहँदा के जापानमा यो सप्ताहान्तका विजेता सडकमा निर्णय हुनेछ ? अथवा उनीहरूको निर्णय प्रयोगशालामा गरिनेछ ?

 

एउटा विशेष फोम, कार्बन प्लेट तथा तहतह गरी बनाइएका तलुवाले कसरी धावकधाविकालाई तेज र अरूलाई क्रोधित बनाइरहेका छन् भन्नेबारे यहाँ चर्चा गरिएको छ।

 

प्रविधिले पुर्‍याएको फाइदा

 

यो विषयको केन्द्रमा रहेको प्रश्न के हो भने पछिल्ला उच्च प्रविधियुक्त जुत्ताहरूले धावकधाविकालाई धेरै फाइदा पुर्‍याइरहेका छैन कि छैनन्।बीबीसीका खेल सम्पादक डान रोवनले यो विषयलाई सबैभन्दा पहिला सन् २०१९ को शिकागो म्याराथनमा विश्लेषण गरेका थिए।

 

प्रतियोगितामा ब्रिगिड कोस्गेईले १६ वर्षअघि पाउला राडक्लिफले कायम गरेको विश्व कीर्तिमान् एक मिनेटको अन्तरले भङ्ग गरिन्। उनले नाइकीको प्रविधियुक्त भेपरफ्लाइ जुत्ता लगाएकी थिइन्।

सन् २०१९ मा प्रविधियुक्त जुत्ता लगाएकी केन्याकी ब्रिगिड कोस्गेइले विश्व कीर्तिमान् भङ्ग गरेकी थिइन् ।

 

‘ती जुत्ताका सोलहरू एकदम बाक्ला हुन्छन्, तहतह गरी बनाइएको अग्ला हुन्छन्, त्यसमा गुणस्तरीय फोम हुन्छन् र त्यसमा कार्बनका प्लेटहरू हुन्छन् जसले जुत्तालाई निश्चित कडापन दिन्छ,’ उनले भने, ‘त्यसले निम्त्याएको विवादका कारण हामीले एकजोर भेपरफ्लाइ जुत्ता म्यानचेस्टर मेट्रोपोलिटन विश्वविद्यालय लग्यौँ ।’त्यसलाई हाम्रो लागि टुक्रा पारिदिन तथा त्यसमा प्रयोग भएको प्रविधिबारे एवम्‌ ती महँगा जुत्तामा भएको कमालबारे सोध्यौँ। र तपाईँले जुत्ताभरि कार्बन प्लेट र अग्लो तलुवा पनि देख्न सक्नुहुन्छ।’

 

प्रतिजोर २५० अमेरिकी डलर (करिब ३० हजार नेपाली रुपैयाँ) पर्ने जुत्ता एकदमै प्रभावकारी हुन्छ किनभने बाक्लो सोल र तलुवामा प्रयोग गरिएको प्रविधिले लगभग स्प्रिङ्गको जस्तै काम गर्छ।ती हरेक पटक सडकमा ब्रजिँदा त्यसले बढी शक्ति सञ्चय गर्छ।

 

पछ्याउन खोज्दै

 

नाइकीको आविष्कार यति गहकिलो छ कि अमेरिकाका प्रतिस्पर्धी कम्पनीहरू पनि त्यस्तै जुत्ता बनाउन खोजिरहेका छन्।

 

‘अरू जुत्ता कम्पनीहरू कोसौँ पछाडि छन्,’ टाइम्स अफ लन्डनका प्रमुख खेल संवाददाता म्याट लाउटनले भने, ‘ओलिम्पिक्स खेल ढिलो नभएको भए तिनीहरू कोसौँ पछाडि पर्ने थिए। नाइकीबाट प्रायोजन नपाएका खेलाडीहरूका लागि त्यो ठूलो धक्का हुन्थ्यो।’

 

भेपरफ्लाइले खेलको नतिजामा ल्याएको फरक स्पष्ट भएपछि शिकागो म्याराथनपछि केही खेलाडीले विरोधमा आवाज उठाएको उनी बताउँछन्।

 

‘लामो दौडका केही इथियोपियाली र संसारकै केही उत्कृष्ट धावकहरूले विश्व एथ्लेटिक्स सङ्घलाई त्यो जुत्ताबारे उजुरी नै गरे। ‘त्यति बेला उनीहरू सबै एडिडासबाट प्रायोजन गरिएका थिए।’

 

जुत्तामा सन् २०२० को एप्रिल ३० पछि विकास भएका कुनै पनि प्रविधि खेलाडीले प्रतिस्पर्धामा भाग लिनुभन्दा चार महिनाअगाडि बजारमा उपलब्ध हुनुपर्ने विश्व एथ्लेटिक्स सङ्घले निर्णय गर्‍यो।तर त्यो कदम र नीतिमा गरिएका अन्य परिवर्तनले समस्यालाई सम्बोधन गर्न नसकेको लाउटन बताउँछन्।

 

यो सप्ताहान्तमा हुने म्याराथनका लागि खेलाडीहरू तयार भइरहँदा एल्यूड केपचोगे र ब्रिगिड कोस्गेइ जस्ता महान् धावकले आफ्नो अविश्वसनीय शारीरिक क्षमताले विश्व कीर्तिमान्‌ भङ्ग गर्नेछन् अथवा स्पोर्ट्स कम्पनीहरूले अनुसन्धान र डिजाइनमा गरेको खर्चका कारण गर्नेछन् भन्ने कुरा थाहा नहुने विषयलाई लिएर खेल प्रशंसकहरूमा चासो रहेको छ।

-बीबीसी विश्व सेवाको स्पोर्ट्स डेस्कबाट

 

टेलिकमको कर्पोरेट युजर ग्रुप सेवा, अनलिमिटेड कलदेखि डाटा छुटसम्म Read Previous

टेलिकमको कर्पोरेट युजर ग्रुप सेवा, अनलिमिटेड कलदेखि डाटा छुटसम्म

नेपाल बंगलादेश बैंकको नाफा झन्डै दोब्बरले वृद्धि, वितरण योग्य नाफा कति ? Read Next

नेपाल बंगलादेश बैंकको नाफा झन्डै दोब्बरले वृद्धि, वितरण योग्य नाफा कति ?