काठमाडौंमा भूमाफियाले हडपेको सार्वजनिक जग्गामा उद्यान बनाइँदै

काठमाडौं । काठमाडौँ महानगरपालिका–११ वसन्तनगरस्थित किङ्स कलेजसँगैको दुई रोपनी १४ आना सार्वजनिक जग्गामा उद्यान निर्माण गरिने भएको छ ।

 

व्यवसायी दीपक मल्होत्राले अतिक्रमण गरी संरचना बनाएर हडपेको यो जग्गा वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको नेतृत्वमा वडाका जनप्रतिनिधिसमेतको सक्रियतामा खाली गरिएको थियो ।

 

सार्वजनिक जग्गा खाली गरेसँगै उद्यान निर्माणका लागि जग्गा सम्याउन थालिएको छ । व्यक्तिले हडपेको सार्वजनिक जग्गालाई फेरि सार्वजनिक स्वामित्वमा ल्याएर उद्यान निर्माण गर्न लागिएको ११ नं वडाध्यक्ष हीरालाल तण्डुकारले जानकारी दिए।

 

उक्त सार्वजनिक जग्गा आजदेखि सम्याउन शुरु गरिएको पनि उनले सुनाए। स्थानीयवासी लाभान्वित हुने गरी त्यस क्षेत्रमा उद्यान निर्माणको योजना तयार गरिएको जानकारी वडा कार्यालयले जनाएको छ ।

 

भू–माफियाले काठमाडौं क्षेत्र नं १ मा हडपेको जग्गा क्रमशः राज्यको स्वामित्वमा ल्याउने अभियानमा लागेको प्रदेशसभा सदस्य श्रेष्ठले जानकारी दिए ।

 

अतिक्रमण गरिएका सार्वजनिक जग्गा खाली गरी उद्यान निर्माण गरेर भूकम्प, बाढी, डुबानजस्ता प्राकृतिक विपत्ति पर्दा उपयोग गर्न सकिने गरी सुरक्षित राख्न लागिएको उनले बताए। यसका लागि काठमाडौँ महानगरपालिका र वाग्मती प्रदेश सरकारबाटसमेत बजेट व्यवस्थापन गर्न लागिएको जनाइएको छ ।

२८ वर्षदेखिको बक्यौता असुल गर्दै महानगर, ४० ठूला करदाताको नाम सार्वजनिक गरिँदै Read Previous

२८ वर्षदेखिको बक्यौता असुल गर्दै महानगर, ४० ठूला करदाताको नाम सार्वजनिक गरिँदै

काठमाडौं उपत्यकामा ७ दिन निषेधाज्ञा थप, यी काम गर्न नपाइने (सूचीसहित) Read Next

काठमाडौं उपत्यकामा ७ दिन निषेधाज्ञा थप, यी काम गर्न नपाइने (सूचीसहित)