पुनः संचालनमा आयो विश्वकै दोस्रो अग्लो कुश्मा बन्जीजम्प, कति लाग्छ खर्च ?

बागलुङ ।  कालीगण्डकी खोँचमा रहेको विश्वकै दोस्रो अग्लो बन्जीजम्प पुनः संचालनमा आएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण बन्द भएको कुश्मा-बागलुङको बन्जीजम्प ४ महिनापछि पुनः संचालनमा आएको हो ।

 

अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ । पहिलो लहरका कारण सञ्चालनमा ढिलाइ भएको पर्वतको कुश्मा र बागलुङ जोड्ने गरी कालीगण्डकीको खोँचमा निर्माण भएको बन्जी र स्विङ कोरोना कहरले बढी प्रभावित भएको छ ।

 

विसं २०७७ कात्तिक १५ देखि सञ्चालनमा आएको बन्जी केही समयमै कोरोनाका कारण बन्द भएको थियो । कोरोनाको दोस्रो लहरअघि पर्यटकले भरिभराउ भइरहेको समयमा पुनः बन्द हुन पुगेको बन्जी र स्विङ पुल अहिले फेरि साहसिक पर्यटकको पर्खाइमा छ ।

 

झण्डै २० करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको बन्जी निषेधाज्ञा खुकुलो भएसँगै पुनः सञ्चालनमा आएको बन्जी र स्विङ सञ्चालन गर्ने द क्लिफ प्रालिले जनाएको छ ।

 

दोस्रो लहरपछि बन्द भएको उक्त साहसिक परियोजना निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य मापदण्ड अपनाएर एक हप्तादेखि सञ्चालनमा आएको द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।

 

द क्लिफ प्रालिअन्तर्गत बन्जी, स्विङ, स्काई साइक्लिङ र बागलुङ नगरपलिका–१४ नारायणस्थानमा द क्लिफ रिसोर्टसमेत सञ्चालनमा छ । निषेधाज्ञामा स्काई चियर, प्रार्थना हात लगायतमा अन्य संरचना थपिएका छन् । उक्त संरचना बागलुङको बलेवामा छन् ।

“अहिले २०/२५ जना पुल र रिसोर्ट अवलोकन गर्ने र आठ÷दस जनाले बन्जी र स्विङ गर्न थालेका छन्, स्वास्थ्य मापदण्ड अपनाएर एक हप्तादेखि शुरु गरेका छौँ”, अध्यक्ष कार्कीले भने, “दुई महिना ठप्प भयो, अहिले त कर्मचारीलाई तलब खुवाउन पुग्ला, पूर्णरूपमा कोरोना साम्य नभएसम्म लक्ष्यअनुरूपको साहसिक पर्यटक आउन समस्या छ, म्याग्दी, मुस्ताङलगायतका पदमार्ग खुल्ला भएमा बल्ल साहसिक पर्यटक आउनेछन्, अहिले साहसिक पर्यटकको पखाइमा छौँ भन्दा हुन्छ ।”

 

उक्त प्रालिअन्तर्गतका साहसिक खेल र रिसोर्टमा ७० जना कर्मचारीले रोजगारी पाएका छन् । पचास प्रतिशत बाह्य पर्यटकको अपेक्षा गरेको बन्जी र स्विङमा अहिले आन्तरिक पर्यटक मात्र छिटफुट आउन थालेको जनाइएको छ ।

कालीगण्डकीको खोँचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्विङ र स्काई साइक्लिङलगायत सहासिक खेल पर्यटकको प्रमुख आकर्षण बन्दै गए पनि कोरोनाका कारण पहिलो गाँसमै ढुङ्गा जस्तो भएको छ ।

 

विसं २०७३ देखि पुलको निर्माण शुरु गरिएको थियो भने पुलसँगै रिसोर्टको निर्माण २०७६ मा सकिएको थियो । पाँच सय २५ मिटर लामो झोलुङ्गे पुलको बीचमा कालीगण्डकी नदीको ठीक माथि बन्जी र स्विङका लागि जम्प गर्ने प्लाटफर्म छ ।

 

खोलादेखि पुलको उचाई २२८ मिटर अर्थात ७४८ फिट छ । हाल विश्वकै अग्लो बन्जी मकाउमा ७६४ फिट उचाइ र दोश्रो अग्लो स्वीट्जरल्याण्डको भरजस्का बाँध माथि ७२० फिट उचाइमा छ ।कम्पनीले विश्वकै दोस्रो अग्लो बन्जी र विश्वकै अग्लो स्विङ भएको दाबी गर्दै आएको छ । नेपालका अन्य स्थानभन्दा अग्लो र फरक भौगोलिक वातावरणका कारण यहाँको बन्जी र स्विङप्रति धेरैको आकर्षण छ ।

 

बन्जी र स्विङ दुवैको मूल्य ७ हजार तोकिएको छ भने जोडी स्विङको १२ हजार रुपैयाँ शुल्क तोकिएको छ । प्रालिको अर्को आकर्षण गुलेली पिङसमेत छ । कालीगण्डकी खोँचको स्काई साइक्लिङ २२८ मिटर अग्लो रहेको प्रालिको भनाइ छ । प्रालिमा कार्कीसहित अन्य पाँच जनाको लगानी छ ।

लक्ष्मी लघुवित्तको नाफा तीन गुणाले वृद्धि, प्रतिसेयर आम्दानी कति ? Read Previous

लक्ष्मी लघुवित्तको नाफा तीन गुणाले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

हाइड्रोले बदलेको एउटा गाउँ, जहाँ छन् एउटै वडामा १० आयोजना, हरेक घरका सेयरधनी Read Next

हाइड्रोले बदलेको एउटा गाउँ, जहाँ छन् एउटै वडामा १० आयोजना, हरेक घरका सेयरधनी