काठमाडौं । नागढुंगा-नौबिसे सुरुङमार्ग एक किलोमिटर निर्माण सम्पन्न भएको छ । कोभिड १९ दोस्रो लहरका कारणले केही सुस्त भएको निर्माणकार्यले पछिल्ला दिनमा गति लिएसँगै १ हजार २८ मिटर सुरुङ खन्ने काम पुरा भएको हो ।
नागढुंगा सुरुङ मार्गका आयोजना निर्देशक नरेश मान शाक्यले १ हजार २८ मिटर सुरुङ खनिएको जानकारी दिए । शाक्यका अनुसार मुख्य सुरुङ २ सय १ मिटर खनिएको छ भने इमजेन्सी सुरुङ ५ सय ८९ मिटर खनिएको छ । अन्य वर्किङ क्षेत्रमा १ सय ३७ मिटर सुरुङ खन्ने काम भएको छ ।
कुल ५ हजार ४ सय ९९ मिटर सुरुङ खन्नु पर्नेमा हालसम्म १ हजार २८ मिटर सुरुङ खन्ने काम सम्पन्न भएको हो ।
थप जनशक्ति सहित फुल फेजमा काम हुँदै
पछिल्लो समय सुरुङ खन्नका लागि जनशक्ति समेत पुरै प्रयोग गरिएको छ । निर्देशक शाक्यका अनुसार हाल सुरुङमार्ग निर्माणमा ६ सय ८ जनशक्ति लागि परेका छन् । जसमा कन्सलटेन्टतर्फ २० जनाले काम गरिरहेका छन् भने कामदारतर्फ फिलिपिन्सका ५ जना र नेपाली कामदार ५ सय ८३ जना गरी कुल ६ सय ८ जनाले दुई सिफ्टमा काम गरिरहेका छन् ।
नागढुंगा-सिस्नेखोला सुरुङ आयोजनाअन्तर्गत धादिङ (पश्चिम) तर्फ २ सिफ्टमा १२/१२ घण्टाको फरकमा काम भइरहेको छ । काठमाडौं (पूर्व) तर्फ पनि सुरुङ खन्ने काम दुई सिफ्टमै चलिरहेको छ ।
‘दुबै तर्फ सुरुङको कामले गति लिइरहेको छ, समय खेर नफाली दुई सिफ्टमा फुल फेजमा काम भइरहेको छ,’ शाक्यले चाणक्यपोष्टसँग भने ।
सुरुङसँगै पर्ने पृथ्वी राजमार्गको अहिले संचालनमा रहेको बाटो ओभर पास बनाएर संचालन हुन दिने र सुरुङमार्गबाट निस्कने बाटोलाई त्यसमुनि संचालन हुने गरि यस सुरुङमार्गको डिजाइन गरिएको छ ।
यो सुरुङमार्ग करिब २.७ किलोमिटर हुनेछ । काठमाडौं पट्टिको पोर्टल चन्द्रागिरी नगरपालिका-१ को टुटीपाखामा रहने छ भने, धादिङ तिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।
४४ महिनामा निर्माण सक्नेगरि काम सुरु भएपनि २१ महिना पुरा भइसकेको छ । सम्झौँता भए पनि विभिन्न समस्याहरुका कारण सुरुङ खन्ने काम ढिला सुरु भएको आयोजनाले जनाएको छ ।
अब सुरुङमार्ग निर्माण सम्पन्न गर्न २३ महिना बाँकी रहेको छ । ४४ महिनाको अवधि भए पनि सुरुङ मात्र खन्न १४ महिना भित्र सम्पन्न गर्ने निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेशनले जनाएको थियो । निर्माण सुरु हुनुअघि आएका विभिन्न समस्याका कारण सुरुङ खन्ने काममा केही ढिलाई भए पनि अबको दिनमा गति लिने देखिएको छ ।
सुरुङ खनेपछि हुने कामहरु
सुरुङमार्ग बनाउने क्रममा सुरुङ खन्नु मुख्य भए पनि सुरुङ खनिसके पछि अझै धेरै कामहरु बाँकी रहने छन् । लाइटिङ, अक्सिजन, पानी, फायर हाइड्रेन्टदेखि अन्य विभिन्न काम गर्नुपर्ने भएकाले त्यसका लागि सुरुङ बनाएभन्दा बढि समय लाग्ने अनुमान गरिएको छ ।
यो सुरुङमार्गको परामर्शदाता कम्पनी जापानको निप्पोन कोइ इजे र नेपाली कम्पनी एनसीसीको संयुक्त उपक्रम (जोइन्ट भेन्चर) हो । यो जेभीले नै यस आयोजनाको डिजाइन गरेको छ भने आयोजना पूरा गर्दासम्म यसको सुपेरिवेक्षणको काम पनि गर्नेछ ।
५ सय मिटर तल रोड साइट सर्भिस स्टेशन
यो आयोजना अन्तर्गत सुरुङमार्ग मात्रै बन्दै छैन, त्यसको ५ सय मिटर तल धुनीबेसी नगरपालिकामा रोड साइट सर्भिस स्टेशन पनि बन्दै छ ।जहाँ पार्किङ, सर्भिसिङ सेन्टर, फ्युल स्टेशन, होटल, प्रदर्शनीस्थल र शौचालय लगायतका संरचनाहरु बन्नेछन् । निर्माण सकेपछि यसको संचालनको जिम्मा धुनिबेंसी नगरपालिकालाई दिइएको छ ।