जीवन विकास लघुवित्तको सेयर किन्नेको ओइरो, साढे १० लाख कित्ता माग हुँदा बेच्ने शून्य

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर किन्नेको ओइरो लागेको छ । बुधबार नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएको लघुवित्तको सेयरको माग अधिक रहेको हो ।

 

९१४ रुपैयाँमा पहिलो कारोबार खुलेको कम्पनीको १२ बजेसम्म सेयर मूल्य ६.११ प्रतिशतले बढेर ९६९.८० रुपैयाँ पुगेको छ । सो अवधिसम्म  साढे १० लाख कित्ता बढी  सेयर माग भए पनि विक्री कर्ता भने छैनन् । १ घण्टाको अवधिमा जम्मा ७० कित्ता मात्र कारोबार भएको छ ।

 

कारोबार खुलेका शुरुवाती दिनमै सेयर हात पार्न सके केही हप्तामा मनग्ये नाफा कमाउन सकिने भएकाले लगानीकर्ता यसरी झुम्मिएका हुन् । यद्यपि, विक्री कर्ता नभएकाले अर्डर राखे पनि सेयर पाउने सम्भावना भने अत्यन्तै कम छ ।

 

कम्पनीले बुधबार ४१ लाख ६ हजार ७०० कित्ता संस्थापक र १९ लाख ७७ हजार ३०० साधरण गरी कुल ६० लाख ८४ हजार कित्ता सेयर सूचीकृत गरेको थियो ।

 

लघुवित्तले असार ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३० कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

 

लघुवित्तले हाल देशका १९ वटा जिल्लाका १३८ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ । लघुवित्तले गत वर्ष एकैसाथ सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको थियो ।

 

हाल ४१ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ निष्काशन पछि चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले ५६ करोड ३९ लाख खुद मुनाफा कमाएको छ । ४१ करोड ६ लाख चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा १ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ ।

 

चैत मसान्तसम्म लघुवित्तको प्रतिसेयर आम्दानी १३७.३२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ३८८.२९ रुपैयाँ छ ।

बङ्गलादेशबाट आइपुग्यो ५२ हजार मेट्रिकटन युरिया मल Read Previous

बङ्गलादेशबाट आइपुग्यो ५२ हजार मेट्रिकटन युरिया मल

छोरीको नाममा सेयर किन्ने बोर्डका अध्यक्ष ढुंगानासँग मन्त्रालयले माग्यो स्पष्टीकरण Read Next

छोरीको नाममा सेयर किन्ने बोर्डका अध्यक्ष ढुंगानासँग मन्त्रालयले माग्यो स्पष्टीकरण