काठमाडौं । नेपाल टेलिकमलाई उछिन्दै नबिल बैंक बजार पूँजीकरणका आधारमा नेपाली सेयर बजारको सबैभन्दा ठूलो कम्पनी बनेको छ ।
गतसाता नबिलको सेयर मूल्य प्रतिकित्ता ११९ रुपैयाँले बढेसँगै पूँजीकरणका आधारमा टेलिकमलाई पछि पारेको हो । अघिल्लो साता अघिसम्म प्रतिकित्ता १३४० रुपैयाँ रहेको नबिलको सेयर मूल्य बढेर बिहीबार १४५९ रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार नबिलको बजार पूँजीकरण १ खर्ब ९६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । यो दोस्रो स्थानमा झरेको टेलिकमको भन्दा करिब २ अर्ब रुपैयाँले बढी हो ।
टेलिकमको बजार पूँजीकरण १ खर्ब ९४ अर्ब ४० करोड रुपैयाँ छ । पछिल्ला दिनमा नबिलको सेयर मूल्य उच्च अंकले बढेपछि टेलिकम दोस्रो स्थानमा झरेको हो ।
नेपाल पुनर्बीमा कम्पनी १ खर्ब ६१ अर्बसहित बजार पूँजीकरणका आधारमा तेस्रो स्थानमा रहेको छ ।यस्तै, १ खर्ब ४१ अर्ब पूँजीकरण रहेको नेपाल लाइफ र १ खर्ब २१ अर्बसहित नागरिक लगानी कोष शीर्ष पाँच स्थानमा रहेका छन् ।
नेप्सेका अनुसार सूचीकृत कम्पनीहरुको कुल बजार पूँजीकरण ४१ खर्ब ७९ अर्ब १७ करोड रुपैयाँ रहेको छ ।