काठमाडौं ।सेयर बजार बढ्दा लगानीकर्ता मात्रै होइन सरकार पनि मालामाल भएको छ । बजार बढ्दा लगानीकर्ताले कमाउने नाफा बढेसँगै सरकारले पाउने राजश्व पनि दशौं गुणाले बढेको हो ।
गत आर्थिक वर्ष २०७७/७८ मा सरकारले सेयर बजारबाट इतिहासकै धेरै कर संकलन गरेको छ । १ वर्षको अवधिमा नेप्से परिसूचक १११ प्रतिशतले बढ्दा सरकारको आम्दानी १५ गुणाले बढेको छ ।
दैनिक कारोबार रकम उल्लेख्य बढ्नु, लगानीकर्ताले मनग्ये नाफा कमाउनु, सेयर बजारमा थप नयाँ कम्पनीको आइपीओ सूचीकृत हुनु, सेयर कारोबारीको संख्या बढ्नु, दैनिक कारोबारको संख्या बढ्नु लगायत कारणले राजश्व संकलन उच्चदरले बढेको हो ।
सरकारले गत आवमा सेयर कारोबार बापत पूँजीगत लाभकर र ब्रोकरको आयकर गरी कुल १५ अर्ब ७३ करोड रुपैयाँ कर उठाएको छ । यो अघिल्लो आवको तुलनामा १४ अर्ब ६८ करोड रुपैयाँ बढी हो । अघिल्लो आव २०७६/७७ मा सेयर कारोबारबाट सरकारले जम्मा १ अर्ब ५ करोड राजश्व पाएको थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्सेका) अनुसार सरकारले गत पूँजीगत लाभकर बापत १४ अर्ब ३४ करोड राजश्व प्राप्त गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा साढे १६ गुणा अर्थात् १३ अर्ब ४७ करोड रुपैयाँ बढी हो ।
सरकारले आव २०७६/७७ मा जम्मा ८७ करोड पूँजीगत लाभकर पाएको थियो । गत आवमा सरकारले पाएको पूँजीगत लाभकर ३ दशक लामो सेयर बजारको यात्रामा हालसम्मकै धेरै हो । सरकारले यसअघि आर्थिक वर्ष २०७२/७३ मा सेयर बजारबाट सबैभन्दा धेरै १ अर्ब ८१ करोड रुपैयाँ कर संकलन गरेको थियो । सो बेला नेप्से त्यसबेलासम्मको सर्वाधिक १८०० विन्दु माथि पुगेको थियो ।

यस्तै, सरकारले गत आवमा ब्रोकरको आम्दानीमा लाग्ने आयकरबापत १ अर्ब ३९ करोड रुपैयाँ कर पाएको छ । यो अघिल्लो आवकोभन्दा १ अर्ब २१ करोड रुपैयाँ बढी हो । आव २०७६/७७ ब्रोकरले आयकर बापत जम्मा १८ करोड रुपैयाँ कर तिरेका थिए ।
अघिल्ला वर्षहरूमा सेयर बजारमा सामान्य वृद्धि मात्र भएकाले लगानीकर्ताले धेरै नाफा कमाउन पाएका थिएनन् । गत आवमा सेयर बजारले नयाँ कीर्तिमान बनाउँदा लगानीकर्ताले साढे २ खर्ब बढी खुद नाफा कमाएको नेप्सेले जनाएको छ ।
गत वर्ष लगानीकर्ताको सम्पत्ति २२ खर्ब १८ अर्बले बढेको छ । २०७७ असार मसान्तमा १७ खर्ब ९२ अर्ब रहेको बजार पूँजीकरण २०७८ असार मसान्तमा बढेर ४२ खर्ब १० अर्ब रुपैयाँ पुगेको छ । यो बजार पूँजीकरण गतवर्ष नेप्सेमा सूचीकृत करिब १ दर्जन कम्पनीको पूँजीकरण सहित हो ।
लगानीकर्ता तथा धितोपत्र व्यवसायीहरूले सेयर कारोबारमा पूँजीगत लाभकर, लाभांश, आयकर र अग्रिम कर कट्टी बापत सरकारलाई कर तिर्नु पर्दछ । हाल संस्थागत लगानीकर्ताले १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताले १ वर्षभन्दा कममा बेचे ७.५ प्रतिशत र सोभन्दा बढी अवधिमा बेचेमा ५ प्रतिशत पूँजीगत लाभ कर तिर्नुपर्ने व्यवस्था छ ।
यसकारण उठ्यो इतिहासकै धेरै कर
गत वर्ष दैनिक कारोबार रकम उल्लेख्य बढ्नु, लगानीकर्ताले मनग्ये नाफा कमाउनु, सेयर बजारमा थप नयाँ कम्पनीको आइपीओ सूचीकृत हुनु, सेयर कारोबारीको संख्या बढ्नु, दैनिक कारोबारको संख्या बढ्नु लगायत कारणले राजश्व संकलन उच्चदरले बढेको हो ।
सेयर राजश्व बढ्नुको मुख्य कारण चाहिँ लगानीकर्ताले मनग्ये नाफा कमाउनु हो । गत वर्ष लगानीकर्ताले करिब साढे २ खर्ब बढी खुद नाफा कमाउँदा पूँजीगत लाभबापत कर तिर्दा सरकराको आम्दानी बढेको हो ।
यस्तै, दैनिक कारोबारमा उल्लेख्य वृद्धि हुँदा राजश्वमा वृद्धि भएको हो । कारोबारमा वृद्धि भएसँगै ब्रोकर कमिशन बढ्दा ब्रोकरले आयकर पनि दशौं गुणा बढी तिरेका हुन् । अघिल्ला वर्षहरुमा दैनिक औसतमा करिब ५० करोड हाराहारीमा कारोबार हुँदै आएकोमा गत आवमा औसतमा दैनिक ८ अर्ब हाराहारीमा पुगेको थियो । एकैदिनमा २० अर्बसम्मको कीर्तिमानी कारोबार भएको थियो ।
यस्तै, गत आवमा एकदर्जन बढी कम्पनीले आइपीओ जारी गरी नेप्सेमा सूचीकृत भइ कारोबारमा आए । जसले सेयर कारोबारका साथै राजश्व समेत बढाउन सहयोग गरेका छन् ।
यस्तै, सेयर कारोबारी बढ्दा सरकारको आम्दानी समेत बढेको हो । अघिल्लो वर्षसम्म दोस्रो बजारमा करिब २ लाख हाराहारीमा कारोबारी रहेकोमा गत वर्ष बढेर ७ लाख पुगेका छन् । यस्तै, गत वर्ष प्राथमिक बजारका लगानीकर्ता दोब्बरले बढेर ३५ लाख पुगेका छन् ।
नेप्सले सेयर कारोबारलाई बनाएसँगै लगानीकर्ताको संख्या ह्वात्तै बढेको हो । अनलाइबाटै सहजै कारोबार गर्न सकिने भए पछि बजारमा नयाँ लगानीकर्ता उल्लेख्य रुपमा प्रवेश गरेका छन् भने यो क्रम बढ्दो छ । जसले कारोबार रकम र राजश्व दुवै बढ्न पुगेको हो । नेप्सेका अनुसार हाल ८५ प्रतिशतभन्दा बढीले अनलाइनमार्फत नै सेयर कारोबार गर्न थालेका छन् ।