एकैपटक दुई कम्पनीको आइपीओ खुल्यो, कति कित्ता भर्ने ?
चाणक्य पोष्ट
प्रकाशित : 8:09 am, मंगलबार, साउन ५, २०७८

काठमाडौं । दुई हाइड्रोपावर कम्पनीले आज (कार्यालय समय) देखि प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला गर्ने भएको छन् ।

 

मध्यभोटेकोशी जलविद्युत् कम्पनी र तेह्रथुम पावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आइपीओ विक्रीमा ल्याएका हुन् ।

 

सिन्धुपाल्चोकका वासिन्दाका लागि ६० करोडको आइपीओ 

 

मध्यभोटेकोशीले वैशाख २१ गतेदेखि आयोजना प्रभावित सिन्धुपाल्चोकका वासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो । कोरोनाका कारण स्थगित भएको आइपीओ अहिले पुनः खुलेको हो ।

 

निष्काशित कुल आइपीओमध्ये भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविकको लिस्ती र मार्मिङ गाविस), बाह्रविसे नगरपालिका वडा नं. ५ र ६ (साविकको गाती गाविस) र बाह्रविसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ र मानेश्वर गाविस) का स्थानीयका लागि ३० प्रतिशत अर्थात् १८ लाख कित्ता र बाँकी ४२ लाख कित्ता (७० प्रतिशत) जिल्लाका अन्य क्षेत्रका वासिन्दाका लागि छुट्याइएको छ ।

 

कम्पनीको आइपीओमा स्थानीयले साउन १७ गतेसम्म आवेदन दिन पाउनेछन् । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

 

कम्पनीले धितोपत्र बोर्डबाट डेढ अर्ब बराबरको १ करोड ५० लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ । पहिलोचरणमा स्थानीयका लागि सेयर जारी गरिसकेपछि दोस्रो चरणमा सर्वसाधरणका लागि सेयर जारी गर्नेछ ।

 

आयोजनाले हाल सिन्धुपाल्चोकको भोटेकोशीमा १०२ मेगावाट क्षमताको आयोजना बनाइ रहेको छ । आयोजनाको कुल लागत १४ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

 

तेह्रथुमका स्थानीयलाई ४ करोडको सेयर

 

तेह्रथुम पावरले पहिलो चरणमा तेह्रथुम जिल्लाका आयोजना प्रभावितलाई प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।

 

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै आइपीओ नबिकेमा ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन पाउनेछन् ।

 

कम्पनीले धितोपत्र बोर्डबाट १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आइपीओ विक्री गर्न अनुमति पाएकोमा पहिलो चरणमा ४ लाख कित्ता विक्री गर्न लागेको हो । स्थानीयलाई आइपीओ जारीपछि सर्वसाधरणका लागि सेयर जारी गरिने कम्पनीले जनाएको छ ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआएबीएल एस क्यापिटल रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले औसत भन्दा कम अवस्था जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ ।

 

कम्पनीले हाल तेह्रथुममा ७.५ मेगावटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल लागत १ अर्ब ३७ करोड ६० लाख रुपैयाँ रहेको छ । यसको प्रतिमेगावट लागत १८ करोड ३० लाख रुपैयाँ छ ।

 

हाल २८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ पछि चुक्ता पूँजी ४० करोड पुग्नेछ ।