काठमाडौं । बारामा निर्माण हुने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गा अधिग्रहणको काम धमाधम भइरहेको छ । कोरोनाका कारण मालपोत कार्यालय बन्द हुँदा केही समय अधिग्रहणको काम प्रभावित भए पनि अहिले फेरि गति लिएको हो ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विजयकुमार यादवका अनुसार हालसम्म ७० बिघा जग्गा अधिग्रहण गरिसकिएको छ । विमानस्थल क्षेत्रमा परेका १५० बढी जग्गाधनीलाई हालसम्म ४७ करोड रुपैयाँ मुआब्जा वितरण गरिएको उनले जानकारी दिए ।
‘विमानस्थल क्षेत्रको ११० बिघा ३ कठ्ठा जग्गा अधिग्रहण गर्नुपर्ने छ । हालसम्म ७० बिघा जमिन अधिग्रहण गरी मुआब्जा बाँडिसकिएको छ, ’ यादवले चाणक्य पोष्टसँग भने, ‘कोरोनाका कारण बीचमा केही प्रभावित भयो । अब फेरि अधिग्रहण गर्ने कामले निरन्तरता पाउँछ ।’
निजगढ विमानस्थल अन्तर्गत अब ४० बिघा जग्गा अधिग्रहणको काम बाँकी रहेको छ । आगामी वर्षमा बाँकी रहेको जमिन पनि अधिग्रहण गर्दै जाने उनको भनाइ छ ।
मुआब्जा वितरण कार्यअन्तर्गत मुख्य सडकसँग जोडिएको जग्गाको प्रतिकट्ठा ४ लाख ६० हजार, भित्री सडकसँग जोडिएको जग्गाको प्रतिकट्ठा २ लाख ४९ हजार २५० र बाटो नभएको जग्गाको प्रतिकट्ठा २ लाख ४ हजार १५० रुपैयाँका दरले जग्गा धनीलाई मुआब्जा दिने गरेको बताइएको छ ।
चालू आवमा ६१.७२ प्रतिशत बजेट खर्च
आयोजनाका लागि चालू आवमा छुट्याइएको बजेटमध्ये हालसम्म करिब २८ प्रतिशत मात्र बजेट खर्च भएको छ । चालू आर्थिक वर्षमा १७ करोड ६९ लाख ९१ हजार रुपैयाँ बजेट निजगढ विमानस्थल निर्माणका लागि विनियोजन गरिएको थियो । हालसम्म सो बजेट मध्ये कुल १० करोड ९२ लाख ५६ हजार रुपैयाँ खर्च भएको छ ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार चालू आवमा नदी नियन्त्रणका लागि हालसम्म ८ करोड ५१ लाख ४३ हजार रुपैयाँ र मुआब्जा वितरणका लागि २ करोड ९३ लाख रुपैयाँ खर्च भएको छ । हालसम्म १५ हजार ६४४ स्क्वायर मिटर नदी नियन्त्रणको काम भएको उनले बताए ।
टाँगिया वस्ती हटाउने विषय अन्योलमा
विमानस्थल क्षेत्रमा पर्ने टाँगिया बस्ती सार्नका लागि हालसम्म कुनै निर्णय आएको छैन । आयोजना प्रमुख यादवले सो वस्ती नहटाएसम्म निर्माणको काम शुरु गर्न नसकिने बताए ।
उनले उक्त वस्ती निर्माण क्षेत्रको बीचमा पर्ने भएकाले त्यो नहटाई अन्य निर्माणको काम गर्न नसकिने बताएका हुन् । सो वस्तीमा १५०० बढी घरधुरी रहेका छन् । उक्त वस्तु हटाउनु निकै चुनौतीपूर्ण रहेको छ । हालसम्म सो वस्ती हटाउन कुनै ठोस निर्देशन नआएको यादवले बताए ।
रुख कटानका लागि अझै आएन आदेश
निजगढ विमानस्थल अन्तर्गत रुख कटानको काम अझै शुरु हुन सकेको छैन । रुख कटानका लागि कुनै निर्देशन नआएसम्म काम शुरु नहुने यादवले बताए । रुख कटानको कामपछि मात्र भौतिक प्रगति देखिने भएकाले हालसम्म त्यो काम शुरु नहुँदा धेरै काम देखिन नसकेको उनको भनाइ छ ।
‘रुख कटानको काम कुनै अघि बढेको छैन, निर्देशन नआएसम्म हामीले शुरु गर्न मिल्दैन,’ यादवले भने । अर्को तर्फ निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रुख कटान नगर्न सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।
पहिलो चरणमा १९ सय हेक्टरभित्र पर्ने रुखहरुको संख्या किटान गरेर वन मन्त्रालयले भने पनि वन मन्त्रालयबाट कुनै निर्देशन नआउँदा कटानको काम रोकिएको हो ।
निजगढ विमानस्थल निर्माणमा इआईएका अनुसार २५ लाख रुख कटान गर्नुपर्ने देखिन्छ । त्यो हेर्दा यदि २५ लाख रुख काटिएमा एउटा रुख बराबर २५ रुख रोप्नु पर्ने छ । पहिलो चरणमा करिब डेढ खर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजनामा एकातर्फ लगानी जुट्न सकेको छैन । निजगढ विमानस्थल रुख कटानपछि मात्र काम शुरु हुने आयोजना हो ।
२०५१ सालबाट चर्चामा आएको यस आयोजनाले सरकारको कागजी प्राथमिकता पाएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौं विमानस्थलमा एअर ट्राफिक चाप बढ्दै जाने तथ्यलाई ध्यानमा राखेर छैठौं योजना (आव २०३६/३७) ले नै वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण योजना समेटेको थियो ।
२०५२/५३ मा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि निजगढ छनोट भयो । त्यसबेला विभिन्न आठ स्थानको सम्भाव्यता अध्ययन गरेर निजगढ छानिएको थियो । यसको विस्तृत सम्भाव्यता अध्ययन २०६६/६७ मा कोरियाली कम्पनी ल्याण्डमार्क वर्ल्डवाइडले सम्पन्न गर्यो । त्यसपछि २०७१ सालमा प्रस्तावित विमानस्थलको चार किल्ला तोक्ने र २०७५ मा वातावरणीय प्रभाव मूल्याङ्कनको काम भयो । अहिलेसम्म विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम पनि सकिएको छैन ।