काठमाडौं । बाढी पहिरोका कारण डेढ दर्जन बढी पुलमा क्षति पुगेको छ । वैशाख यता आएको बाढीले राष्ट्रिय राजमार्गसहितका सडकखण्डमा रहेका २१ वटा पुल भत्केको/बगाएको हो ।
सडक विभाग अन्तर्गत पुल महाशाखाका तथ्यांक अधिकारी विमल बस्नेतले हालसम्म बाढीले २१ वटा पक्की पुलमा क्षति पुगेको बताए । अहिले पनि बाढीपहिरो जाने क्रम जारी रहेको र अन्तिम तथ्यांक आइनसकेकाले सो संख्या अझै बढी हुनसक्ने उनको भनाइ छ ।
उनले ११ वटा निर्माणाधीन र १० वटा निर्माण सम्पन्न भएका सडक पुल भत्किएको जानकारी दिए । सो पुलहरुमा क्षती पुग्दा २ अर्ब बढीको नोक्सानी भएको विभागले जनाएको छ ।
बस्नेतका अनुसार बाढीले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकास्थित चीन जोड्ने तातोपानी नाकाको लिपिङ पुल (घट्टेखोला पुल), सुनकोशीमा आएको बाढीले ओखलढुंगाको पलालु र सिन्धुलीको नवलपुरघाट जोड्ने पुल, सिन्धुपाल्चोककै मेलम्चीमा आएको बाढीले मेलम्ची पुल, हेलम्बु पुल लगायत आधादर्जन बढी पुल बगाएको छ ।
यस्तै, मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको चामे पुल, चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने त्रिशुली नदी पुल, धनुषा र सिरहा जोड्ने कमला नदी पुल, उदयपुरको चौदण्डीगढी नगरपालिका( ५ सिवाइस्थित त्रियुगा नदी पुल लगायत १ दर्जन बढी पुल भत्किएर क्षति पुगेको उनले बताए ।
सडक विभागको मातहतमा रहेको २१ पुल भत्किएका हुन् । स्थानीय र प्रदेशको मातहतमा रहेको पुलहरु पनि भत्किएको उनले बताए । ‘हाम्रो मातहतमा रहेको २१ पुल भत्किएका हुन्, भत्किएका पुलहरुमा निरीक्षण गरिने छ,’ बस्नेतले भने ।
बाढी पहिरोले सडक विभाग अन्तर्गतकै धेरै पुल भत्किएपछि निर्माणको गुणस्तरमा समेत प्रश्न उठेको छ । विशेष गरी तराई क्षेत्रमा बन्ने पुलहरु भत्किएका छन् । विभागले भत्किएका मध्ये १० वटा पुल मर्मत सम्भार गर्नु पर्ने अवस्थामा रहेको जनाएको छ । सो पुल मर्मत सम्भारका लागि ४० करोड रुपैयाँ हाराहारीमा लागत लाग्ने अनुमान गरिएको छ । सडक विभागको मातहतमा २२०० पुलहरु रहेका छन् । स्थानीय तहको मातहतमा ८०० पुल रहेका छन् ।
विज्ञहरु सडक पुल भत्किनुका मुख्य कारण डिजाइन त्रृटि र निर्माणमा लापरवाही हुने गरेको बताउँछन् । निर्माणको जमिन मुनिको स्ट्रक्चर कमजोर हुँदा पनि बाढिपहिरोले पुल सहजै भत्काउन सक्छ । पुल निर्माणपछि हस्तान्तरणका क्रममा विभाग तथा मन्त्रालयको तहबाट राम्रोसँग अनुगमन तथा निरीक्षणको कमी हुनाले समेत देशमा बारम्बार यस्तो समस्या दोहोरिने गरेको छ ।
चालू आवमा १५८ पुल निर्माण
चालू आर्थिक वर्षमा १५८ वटा पुल निर्माण सम्पन्न भएको छ । विभागका अनुसार जेठसम्ममा ती पुल निर्माण भएका हुन् । चालू आवमा ३०० पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म आधा अर्थात् ५१ प्रतिश मात्र पुल निर्माण सम्पन्न भएका हुन् ।
गत आर्थिक वर्षमा ३ सय पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । सो मध्ये ४० प्रतिशत मात्र पुल निर्माण सम्पन्न भएको थियो ।