अब एक जिल्लाको जग्गा अर्को जिल्लाको मालपोतबाट पास गर्न मिल्ने

काठमाडौं । अब एक जिल्लाको जग्गा अर्को जिल्लाको मालपोत कार्यालयबाट किनबेच (लिखत पारित) गर्न मिल्ने भएको छ ।

 

सरकारले आगामी साउन १ गतेदेखि देशभरका १२६ वटै मालपोत कार्यालयमा भू-सूचना व्यवस्थापन प्रणाली (एलआर आइएमएस) लागू गर्ने भएसँगै यस्तो व्यवस्था हुन लागेको हो ।

 

हाल मालपोत कार्यालयको क्षेत्राधिकार भित्र मात्रै घरजग्गा किनबेच हुँदै आएकोमा साउन १ गतेदेखि जुनसुकै ठाउँको जग्गा जुनसुकै मालपोत कार्यालयबाट पनि किनबेच गर्न सकिने भएको हो ।

 

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार अहिले देशभरका १२६ वटा मालपोत कार्यालयमध्ये ११८ कार्यालयमा भू–सूचना व्यवस्थापन प्रणाली लागू भइसकेको छ । आगामी आर्थिक वर्षदेखि देशका सबै मालपोत कार्यालयमा यो प्रणाली कार्यान्वयनमा ल्याइने विभागले जनाएको छ ।

 

देशभरका सबै मालपोत कार्यालयमा भू–सूचना व्यवस्थापन प्रणाली लागू भइसकेपछि देशको जुनसुकै ठाउँको जग्गा जुनसुकै मालपोत कार्यालयबाट किनबेच गर्न सकिने विभागको भनाइ छ । यसरी अर्को जिल्लाको मालपोतबाट जग्गा किनबेच गर्दा किन्ने र बेच्ने दुवै एउटै कार्यालयमा उपस्थिति हुनुपर्नेछ ।

 

एउटा जिल्लामा रहेको जग्गा अर्को जिल्लाबाट किनबेच गर्दा सेवाशुल्क भने बढी लाग्ने जनाइएको छ । एउटै प्रदेश भित्रका जिल्लाको लिखत पारित गर्दा ३ प्रतिशत र फरक प्रदेशको लिखत पारित गर्दा ५ प्रतिशतसम्म अतिरिक्त शुल्क लाग्ने जनाइएको छ ।

‘गेमचेञ्जर’ आयोजना माथिल्लो तामाकोशीले देशको अर्थतन्त्रमा कस्तो पार्छ प्रभाव ? Read Previous

‘गेमचेञ्जर’ आयोजना माथिल्लो तामाकोशीले देशको अर्थतन्त्रमा कस्तो पार्छ प्रभाव ?

आजदेखि भेरोसेलको दोस्रो डोज खोप लगाउन शुरु, काठमाडौंका यी ३२ स्थानमा लगाइन्छ खोप Read Next

आजदेखि भेरोसेलको दोस्रो डोज खोप लगाउन शुरु, काठमाडौंका यी ३२ स्थानमा लगाइन्छ खोप