काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदनको ओइरो लागेको छ ।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्ध एनएमबी क्यापिटलका अनुसार लघुवित्तको आइपीओमा २० लाख ३६ हजार २४५ जनाले २२ करोड ६५ लाख ७४ हजार ५० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ७३.१० गुणा बढी हो ।
यद्यपि, अन्तिम तथ्यांक आइनसकेकाले आवेदकको संख्या अझै बढ्न सक्ने क्यापिटलले जनाएको छ । मनकामनाको आइपीओमा परेको आवेदन हालसम्म कुनै पनि आइपीओमा परेको दोस्रो धेरै आवेदन हो । यसअघि जीवन विकास लघुवित्तको आइपीओमा साढे २० लाख बढीले आवेदन दिएका थिए ।
लघुवित्तले गत बिहीबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।
निष्काशित कुल सेयरमध्ये ६ हजार ५८ लघुवित्तका कर्मचारी, १९ हजार ४५० कित्ता सामूहिक लगानी कोष र ३ लाख ६३ हजार ४९२ कित्ताका लागि सर्वसाधरणका लागि छुट्याइएको थियो ।
हाल ८ करोड २२ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ निष्काशन पछि चुक्ता पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।लघुवित्तले हाल देशका १२ वटा जिल्लाका ३७ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले ३ करोड ३२ लाख खुद मुनाफा कमाएको छ । ८ करोड २२ लाख चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा ४ करोड २३ लाख रुपैयाँ सञ्चित छ ।
लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी २६.५१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३२.८८ रुपैयाँ रहेको छ ।
२० लाखले सेयर नपाउने
धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।
कम्पनीले सर्वसाधरणलाई ३ लाख ६३ हजार ४९२ कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा जम्मा ३६ हजार ३४९ जनालाई मात्र सेयर दिन पुग्छ । लघुवित्तको आइपीओमा आवेदन दिएका २० लाख बढीको हात खाली हुने देखिन्छ ।